त्रिवेणीका नागरिकको प्रश्न- ‘राज्य कहाँ छ ?’

डिसी नेपाल
२८ असार २०८० ११:४८

डोल्पा। तीन जिल्लाको संगम स्थल त्रिवेणी ! जहाँ राज्यले मुस्किलले कच्ची सडक पुर्‍याएको छ। चारैतिर ठूला पहाडको बीचमा ठूलो भेरी नदीको छालसँगै जोडिएको रुकुम पश्चिम आठबीसकोट नगरपालिका–६ त्रिवेणी गाउँ पुग्दा जो कोहीलाई पनि एक छिन अनौठो लाग्छ।

भेरी नदीले छाल हान्दा सिधैँ घरको जगमा पर्दा यहाँका सर्वसाधारणहरु रातभेरी सुत्न नपाउने गरेको जगदुल्ला जलविद्युत् आयोजनाका सुपरभाइजर सुमन बिसीले बताए। आफूहरु पनि ठुलो पानी परेको समयमा रातभरि निन्द्रा नलाग्ने गरेको उनको भनाइ छ । करिब ५० घर रहेको त्रिवेणी तल्लो डोल्पाको व्यापारिक केन्द्र पनि हो।

भेरी करिडोर सडक आयोजनाको डोल्पाको सुरुवात बिन्दुसमेत यही त्रिवेणी रहेको छ। यहाँ शिक्षा लिनका लागि विद्यालय, औषधि उपचारका लागि स्वास्थ्य संस्था लगायतका कुराहरु लिनका लागि एक दिन नै पर्खनुपर्ने अवस्था छ।

शान्ति सुरक्षाका लागि प्रहरी चौकी समेत नहुँदा दैनिक घटना भए पनि सबै गुपचुप मिल्ने गरेका छन्। जंगली जनावारहरु समेत दैनिक मारेर ठूलो व्यापार समेत हुने गरेको छ। तीन जिल्लाको संगम स्थलका साथै मुख्य नाका भएका कारण सबैले अवैध कारोबारदेखि सबै खालका गतिविधिहरु गर्ने स्थान यही रहेको छ।

बिरामी हुँदा उपचार नपाउने वषौँ देखिको यहाँको समस्य हो। रेडियो ,सञ्चार सेवा त यहाँको लागि धेरै परको कुरा रहेको स्थानीयबासी सपना डिसीले बताइन्। त्रिवेणी हुँदै त्रिपुरासुन्दरी नगरपालिकाको खदाङ सम्मको सडकमा रहेको बस्तीमा कुनै पनि सेवा सुविधा नभएको उनको भनाइ छ। त्रिवेणीको चारैतिर ठूला चरी लड्ने भीर रहेका छन्।

रुकुमको अन्तिम बिन्दु र डोल्पाको सुरुवातसँगै जाजरकोटको अन्तिम बिन्दु भएका कारण डोल्पाका सबै आर्थिक क्रियाकलाप यहीँबाट सुरु हुन्छ। यही बाटो भएर डोल्पा जाने एक मात्र रुट भएका कारण जनघनत्व समेत भारी मात्रामा रहेको छ। भूभाग रुकुमको भए पनि डोल्पा जाने मुख्य द्वार यही रहेको छ।

जतिसुकै आर्थिक गतिविधिहरु भए पनि सामान्य औषधि पसल नहुँदा यहाँका सर्वसाधारणहरु हैरान हुँदै आएका छन्। भेरी नदी र जगदुल्ला नदीको बीचमा रहेको यो गाउँ हुँदै विद्युत् सेवा डोल्पा पुर्‍याएकाे भए पनि यहाँ बत्तीले छुन सकेको छैन।

प्रहरी चौकी, स्वास्थ्य संस्थाका विषयमा धेरै पटक सरोकारवाला निकायसँग छलफल भई माग सम्बाेधन गर्ने बताइए पनि अहिलेसम्म पूरा हुन नसकेको हो। द्वन्द्वकालमा भएका प्रहरी चौकीहरु अहिले अर्को ठाउँमा सारिँदा आफूहरु अन्ययमा परेको त्रिवेणीका कल्धर बुढाले बताए। जगदुल्ला जलविद्युत् आयोजनाले भेरी नदीमा पुल निर्माण यही ठाउँमा गरिरहेको छ।

त्यस्तै अन्य विकासका कामहरु समेत यहाँ भएपनि शिक्षा ,स्वास्थ्य र सुरक्षा जस्ता आधारभुत कुरा नहुँदा समस्य हुँदै आएको सर्वसाधाणले बताएका छन्। भूभाग रुकुम पश्चिको बसोबास डोल्पालीको भएको उनले बताए। उत्ता आठबीसकोट नगरपालिकाका मेयर रवि केसीले त्यहाँको समस्यका बारेमा जानकार भएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *