कर्णाली प्रदेश अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण
सुर्खेत। कर्णाली प्रदेश अस्पताल सुर्खेतमा दोस्रो पटक मिर्गौलाको सफल प्रत्यारोपण गरिएको छ ।
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र प्रदेश अस्पतालको संयुक्त प्रयासमा बिहीबार साँझ रोल्पाको रोल्पा नगरपालिका–२ निवासी ३५ वर्षीय पवनकुमार आचार्यको दोस्रो पटक मिर्गौलाको सफल प्रत्यारोपण गरिएको हो । उनलाई ५६ वर्षीय आमा देवाकुमारी आचार्यले छोरालाई मिर्गौला दान गरेकी थिइन्।
प्रत्यारोपण सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक प्राडा पुकारचन्द्र श्रेष्ठ र प्रदेश अस्पतालका निर्देशक प्राडा डम्बर खड्काको टोलीले यही असार २८ गते प्रत्यारोपण कार्य सम्पन्न गरेको थियो । केन्द्र र अस्पतालबीच मिर्गौला प्रत्यारोपणका लागि २०७८ साल चैत १० गते सम्झौता भई प्रत्यारोपण सेवा सुरु गर्ने समझदारी भएको निर्देशक खड्काले बताए।
प्रदेश अस्पतालमा नियमित प्रत्यारोपण सेवा सञ्चालन गर्ने योजना अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकलाई क्षमता वृद्धि गरी आत्मनिर्भर बनाउन केहीलाई केन्द्रमा थप तालिमका लागि पठाएको र केहीलाई पठाउने योजना बनाइएको अस्पतालका निर्देशक खड्काले जानकारी दिए।
कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री खड्कबहादुर पोखरेलले अब कर्णालीका जनताले मिर्गौला फेल भएर ज्यान गुमाउनुपर्ने समस्या कम हुने बताए। उनले प्रदेश अस्पतालले नमूना काम गरेको जनाउँदै प्रदेश सरकारले पनि अस्पतालको विकासका निम्ति काम गर्दै आएको बताए।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव देवकुमारी गुरागाईंले पश्चिम नेपालको सरकारी अस्पताल सुर्खेतका लागि प्राथमिकतामा राखेर काम गरिएको र आगामी दिनमा पनि आवश्यक हुने बताइन्।
यसभन्दा पहिले २१ माघ २०७९ मा मृगौला प्रत्यारोपण गरिएको थियो । त्यति बेला पनि नवलपरासी बर्दघाट नगरपालिका–४ निवासी ४१ वर्षीय आमाले २२ वर्षीय छोरालाई मिर्गौला दिएकी थिइन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment