उसैलाई थाहा नभएको कस्तुरी सुगन्ध

मानबहादुर पाैडेल
३ साउन २०८० १३:२३

प्यारा विद्यार्थी भाइबहिनीहरु,
साथै समस्त अभिभावकज्यूहरु नमस्कार ।

यो वर्षको एइइ परीक्षाको नतिजा आयो। तपाईंहरुको जीपीए के कस्तो आयो त? ४.०, ३.६५ ल्याउनेहरु सायद प्रफुलित मुद्रामा आफन्त नातागोता, छरछिमेक,साथीभाइसँग खुशी साटासाट गर्दैहुनुहुन्छ हाेला। सामाजिक सञ्जालमा फाेटाे र जीपीएले रंग्याइ पनि सक्नु भयाे हाेला।

उतातिर कम जीपीए ल्याउनेहरु निराश भएर कुनामा पसेर, पुर्पुरोमा हात राखी अँध्यारो अनुहार बनाइ झोक्राएर बस्नु भएकाे हाेला। केही अभिभावकहरूले पनि धेरै जीपीए ल्याउनेको नाम र उदाहरण दिँदै गाली गरेर घाउमा नुनचुक छर्केर मनोबैज्ञानिक असर पारी दिँदै हुनुहुन्छ होला। तर यो गलत हो।

तनाव रति पनि नलिनुस्। जीपीएले होइन काम गर्ने, तपाईंले हो। त्यो त कागजी अंक मात्र हो। तपाईंको क्षमतालाई त्यो तीन घण्टे परीक्षाको अंकले पूरा लेखाजोखा कदापि गर्न सक्दैन। हिम्मत नहार्नुस्।

कार्य गर्ने इच्छाशक्ति भएमा असम्भव केही छैन तपाईंहरु कस्तुरी हो, जसको शरीरमा लुकेर रहेको सुगन्धित विणा छफ तर थाहा छैन। काँक्रोको फेद तितो भएतापनि अरु भाग मीठो हुन्छ। तितो भनेर पुरै काक्रो फाल्न मिल्दैन। एकपटक यी प्रेरक कुराहरु मनन गर्नुस त।

खलासीको काम गर्दा गर्दै रजनीकान्त सुपरस्टार बने। ड्राइभरको काम गर्दा गर्दै एल्विस प्रिस्ले विख्यात गायक बने। कवाडीको काम गर्दा गर्दै स्टिभ जब्स् एप्पलका मालिक बने। वेटरको काम गर्दा गर्दै लियोनेल मेस्सी धनी फुटवल प्लेयर बने।

सानैमा चोरी गर्दै हिँड्ने विकाशानन्द धार्मिक गुरू बने। पत्रिका बेच्दै हिँड्ने थोमस एडिसन वैज्ञानिक बने। भिख माग्ने चार्ली च्याप्लिन नामी हास्य कलाकार बने। चिया बेच्ने मोदी भारतका प्रधानमन्त्री बने। अन्धी,बहिरी कुजी, लाटी कृश्ट्री ब्राउन र हेलेन केलर विश्व बिख्यात लेखक बने।

विविध समस्याका कारण डिप्रेसन भएर आत्महत्या गर्नै लागेकी जे के रोलिङले विश्व बिख्यात पुस्तक ह्यारी पोटर लेखेर विश्व इतिहास रचेकी थिइन्। कलेज छोडेका विल गेट्स विश्वकै धनी व्यक्ति बने। कलेजकै औसत विद्यार्थी मार्क जुकरबर्ग फेसवुकका मालिक बने।

सात पटक एसएलसी फेल रविन्द्रनाथ टैगोर विश्व कवि बने। लम्बु भनेर होच्याइएका अमिताभ बच्चन महानायक बने। मुम्बइ हेर्छु भनी ट्याक्सी चढेर आएका शाहरूख खान किङ खान बने। घरेलु नोकर म्याक्सिम गोर्की महान् लेखक बने।

पेट्रोल पम्पमा काम गर्ने धिरूभाई अम्बानी भारतकै धनाढ्य बने। खुट्टाले लेखेरै झमक घिमिरेले मदन पुरस्कार जितिन्। अन्धो हुदाँहुदै होमरले इलियड र ओडेसी जस्ता महाकाव्य लेखे। कुँजो स्टिफन हकिङले व्ल्याक होलको रहस्य खोले।

गरिबीले थिचिएका मोजर्ट संसारकै नामी संगीतकार बने। पुस्तक पसलमा कामगर्ने माइकल फराडे वैज्ञानिक बने। जुरफको फुटबल खेल्ने पेले विश्व बिख्यात खेलाडी बने।

कलेज छोडेर हिँडेका लियो टोल्सटोय टप टेन साहित्यकार बने। स्कूलको मुख नदेखेका जोन डी रकेफेलर विश्वकै धनी बने। झण्डै दुइ सय डलर गोजीमा हालेर अमेरिका छिरेका ब्रुस ली मार्सल आर्टका गुरू बने।

थर्ड डिभिजनमा एसएससी पास गरेका महात्मा गान्धी विश्व नेता बने। तीन डलर बोकेर विजनेसमा छिरेका एड्रयु कारनेगी धनाढ्य बन्न सके। हल्लिँदै हिँड्ने एडोल्फ हिट्लर जर्मनीको शासक बने। दाउरेको छोरा अब्राहम लिंकन अमेरिकाको राष्ट्रपति बने।

कुनैबेलाका सामान्य सैनिक विन्स्टन चर्चिल बेलायतका प्रधानमन्त्री बने। मन्दबुद्धिको भनिएका अल्बर्ट आइन्स्टाइन संसारकै जिनियस वैज्ञानिक बने। बुझ्नु भयो नि सफलताको गुदी? सबै सफल र ख्याति प्राप्त ब्यक्तिको अतीत सामान्य र दु:खदायी नै रहेछ।

नदीको ढुंगा पानीको बलले खियाएको होइन, नियमित प्रयासले हो। आफूलाई के कारणले कमजाेर ठान्नु हुन्छ? मडारिरहेको कालो बादलमा पनि त चाँदीको घेरा हुन्छ, बेस्कन जटा फुटाएपछि नरिवल भित्र हितकारी चिज भेटिन्छ। सुन खोज्दा विशाल माटोको थुप्रोलाई हेर्ने होइन, सुनलाई सम्झिने पो हो त।

कडा मिहिनेत र निरन्तर प्रयाश गर्ने हो भने सम्भावना नै सम्भावना छ। आफ्ना कमजोरी मानसिकता र सोचलाई अहिल्यै पाखा लगाइहाल्नुस्,आत्मविश्वास बढाउनुहोस्, दृढ आत्मबिस्वास लिनुस्।

आफूसँग भएको क्षमतालाई चिनेर मलजल गर्नुस्, श्रमको महत्व, भोकको कारण, असफलताको शत्रु र बिजय र सफलताको राज चिन्नुस्। सफलता र अवसर तपाईंको ढोका ढक्ढक्याउन आउने छ। त्यो थोरै जीपीएले तपाईंको भाग्य किमार्थ निर्क्योल गर्दैन है। आगामी शैक्षिक तथा उधमशिलताको र सफल अनि सुखी जीवनको हार्दिक शुभकामना छ।

-उही तपाईंहरुको साथी




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *