नेपालको शक्ति र बदल्ने जुक्ति

खगेन्द्रराज सिटौला
६ साउन २०८० ७:२८

नेपाल बदल्ने जुक्ति र शक्ति जानेमा नेपाल सजिलैसँग क्रमश बदलिँदै जान्छ। तर नेपालको शक्ति पनि चिनेनन् र जुक्ति पनि जानेनन् भने चाहिँ नेपाल बदल्न कठिन छ।

त्यसैले नेपाल बदल्ने शक्ति र जुक्ति पहिल्याउनु चाहिँ महत्वपूर्ण मात्रै होइन प्रमुख कडी नै हो। पहिला हामी नेपालको शक्ति चिन्न पट्टी लागौं।

नेपालको भूगोल, इतिहास र वर्तमान आफैंमा नेपालको शक्ति हो। नेपालको भूगोल भनेको वर्तमान नेपालको राजनीति सिमाना भित्रका सबै प्राकृतिक सम्पदालाई बुझाउँछ। अर्थात् समग्र नेपालको प्राकृतिक सम्पदा नेपालको शक्ति हो।

संसारको सबभन्दा अग्लो हिम शिखर सगरमाथालगायत सबै हिम श्रृंखलाहरु, हिमनदीहरु, हरिया पहाड वन जंगलहरु, बेंसी, उपत्यका र उब्जाउ मैदानी फाँट सबै नेपालका शक्तिहरु हुन्।

वाह्य देखिएका वा देखिने सबै प्राकृतिक सुन्दरता र जमिन मुनी देखिने, भेटिने सबै अनेक बहुमूल्य खानीहरु पनि नेपालको शक्ति हो। सतह बाहिरका हिमाल, जल, जमिन, जंगल, जडीबुटी, ढुंगा, माटो आदि इत्यादि सबै नेपालका शक्ति हुन्।

हामीले नेपालको इतिहासलाई पनि नेपालको शक्ति मान्यौं। नेपालको भूगोलसँग पाँचहजार भन्दा लामो इतिहासको सजिव शाश्वत सम्बन्ध छ। अन्त विश्वमा विरलै पाइने यस्तो निरन्तर सजिव सम्बन्ध बोकेको इतिहास आफैंमा नेपालको शक्ति हो।

विश्वको नै मानव श्रृजित र प्रमाणित आदि वौद्धिक ग्रन्थ वेदहरु, मुुुुन्धुम जस्ता नेपाली माटोमा नै रचित तथा श्रृजित हुुनु आफैंमा नेपाली इतिहासको बौद्धिक शक्ति हो।

वैदिक सभ्यताको वौद्धिक तथा आध्यात्मिक धारको निरन्तर प्रवाह आफैंमा नेपाल शक्ति हो। यो धारसँग जोडिदै क्रमभंग नभएका इतिहासले अंकित गरेका अनेक कालखण्डका अनेक सभ्यताहरुका सार र धार आफैंमा नेपालको शक्ति हो।

नामै लिएर भन्दा किरात सभ्यता, लिच्छवी सभ्यता, खस सभ्यता, मैथिली सभ्यता, मल्ल सभ्यता आदि सबै नेपालका इतिहास हुन् र आफैंमा इतिहास श्रृजित शक्ति हुन्।

नेपालको शक्ति भनेको सून्दर भूगोल,प्राकृतिक सम्पदा परिश्रमी नेपाली जनताको पसिना र सिर्जनाको समष्टि हो। प्रकृति र संस्कृतिको विविधतको सुन्दरतालाई कुशलतापूर्वक राष्ट्र र जनताको हितमा प्रयोग गर्ने कुनै मौलिक नेपाली समेतको जुक्तिको समष्टि वा सार नेपाली जुक्ति हो।

यी सबै इतिहास र सभ्यताको, इतिहासको संगठक, उत्तराधिकारी वा विरासत भएर आधुनिक नेपाल र नेपाली इतिहासका निर्माता पृथ्वीनारायण शाह र उनको नेतृत्वमा एकिकृत नेपाल आफैंमा एकमुष्ठ नेपालको आधुनिक शक्ति हो।

पूर्वीय आध्यात्मिक चिन्तनधारले अघि सारेको, व्याख्या गरेको र मूल तथा प्रमुख शक्ति शिवशक्ति याने शैव शक्ति नेपालको अर्को आध्यात्मिक शक्ति हो।

शिव भूमि भनेर पनि परिचित नेपाल आफैंमा नेपाल पूर्वीय आध्यात्मिक चिन्तनधार र शक्तिधारको शक्ति केन्द्र हो। एककिसिमले यो पूर्वीय आध्यात्मिक चिन्तनधारको गुरु राष्ट्र हो।

पशुपतिनाथ, गोरखनाथ, या मुक्तिनाथ आदि इत्यादि शिवसँग जोडिएका आध्यात्मिक केन्द्रलगायत देवस्थल मठ मन्दिरहरु आफैं नै यो या त्यो रुपमा नेपालका आध्यात्मिक शक्तिका अनेक एकाई भएर बसेका छन्।

गौतम बुद्ध याने सिद्धार्थ गौतमको जन्मभूमी लुम्बिनी र सीताको जन्मभूमी जनकपूर पनि नेपालको आध्यात्मिक शक्ति हुन् र यी सबैले अनेक कोणबाट दिने योगदान र शक्ति नेपाल शक्तिमा रुपान्तरण भएका छन्।

हाम्रा मुन्धुम हुन या अन्य रैथाने आध्यत्मिक सार र धार सबै हाम्रा शक्ति हुन्। यसरी आध्यात्म र प्रकृतिसँग जोडिएर विकसित भएका विविध संस्कृति धार र यी धारले बाँधिएका जोडिएका नेपाली विवधताको एकता अर्को आफैंमा नेपाल शक्ति हो।

अर्थात् नेपालको प्राकृतिक विविधता, सांस्कृतिक विविधता र यी विविधताको विशिष्टता जगबाट उठेको नेपाली एकता आफैंमा नेपाल शक्ति हो।

आध्यात्मिक जगबाट उठेका वा विकसित भएका नेपालीका रीतिरिवाज, चाडपर्व, नाचगान पूजाआजा, खानपिन, रहनसहन आदि इत्यादि नेपाली संस्कृति भएर फिँजिएको छ झांगिएको छ।

यसरी झाँगिएको नेपाली संस्कृतिले नेपालीहरु एक अर्कामा छुट्याउनै नसकिने गरेर बाँधिएका छन्। यसरी संस्कृतिद्वारा बाँधिएका नेपालीको विविधता वीचको साँस्कृतिक एकता पनि नेपालको अर्को बलियो शक्ति हो।

अर्थात् विविध नेपाली सस्कृति आफैंमा नेपाल शक्ति। किनभने नेपाली संस्कृतिको गहिरो जरा र लामो बलियो लहरा छ।

नेपाली जनताको श्रम संस्कृति अर्थात श्रमशक्ति र नेपाल एकीकरणसँगै विकसित भएर आएको र गहिरिएको देशभक्ति आफैमा अर्को नेपाल शक्ति हो।

गोर्खाली याने नेपाली जनताको देशभक्ति र सौर्यको उच्चतम अभिव्यक्ति सिन्धुलीमा भएको थियो। जसले उदाउँदो विश्वशक्ति अंग्रेजशक्तिलाई पराजित गरेर नेपालशक्तिको परिचय दिएको थियो।

पृथ्वीनारायण शाहको नेतृत्वमा विकसित र संगठित भएको नेपाली सौर्य गोर्खाली वीरको नाममा अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डेड भएको छ।

देशभक्त नेपाली जनताको सौर्य इतिहासको विरासत मात्रै होइन हरेक वर्तमानको शक्ति पनि हो। हो यो हरेक वर्तमानको नेपाल शक्ति हो। यो नेपाल शक्तिलाई छरपस्ट, दिशाहिन, पलायन तथा आन्तरिक तथा वाह्यरुपमा विदेशीको मात्र खेताला बन्न दिनु हुन्न कुनै हालतमा पनि।

नेपालको शक्ति भनेको सून्दर भूगोल,प्राकृतिक सम्पदा परिश्रमी नेपाली जनताको पसिना र सिर्जनाको समष्टि हो। प्रकृति र संस्कृतिको विविधतको सुन्दरतालाई कुशलतापूर्वक राष्ट्र र जनताको हितमा प्रयोग गर्ने कुनै मौलिक नेपाली समेतको जुक्तिको समष्टि वा सार नेपाली जुक्ति हो।

पछौटे र गरिव नेपाललाई तीब्र गतिमा अग्रगति दिएर सम्पन्न नेपालको निर्माण गर्ने जुक्ति पृथ्वीविचार हो। अर्थात पृथ्वीविचार नेपाल बदल्ने जुक्ति हो र शक्तिशाली नेपाल निर्माण गर्ने नेपालको वैचारिक शक्ति पनि हो।

नेपालको जनशक्ति र प्रकृति शक्तिको सदुपयोग गरेर साँचो अर्थका सम्पन्न आर्थिक शक्तिको नेपाल बन्दछ। पृथ्वीविचारमाथि आधारित भएर प्राथामिकताको साथ विकासका योजना नीति कार्यक्रम अघि सारेको खण्डमा परिणामले नेपाल बदल्ने सहि जुक्ति फेला पारेको र त्यो जुक्तिले नेपाललाई नयाँ शक्ति प्रदान गरेको पुष्टि हुनेछ।

स्वदेशी,मन,जन,धन,साधन,उत्पादन उपयोग माथि सीप र सुशासनको योग को एकमुष्ठ नाम पृथ्वीविचार हो। माथि उल्लेख गरिएका नेपाल शक्तिका आधार माथि उभिएर पृथ्वीविचारको जुक्ति लगाएर अगि बढेमा नेपाल सबै क्षेत्रमा सफलता हासिल गर्दै नयाँ शक्तिको साथ उदाउने छ विश्वसामु। नेपालको विचारको र समृध्दिको माउशक्ति पृथ्वीविचार हो। त्यसेले पृथ्वीविचार नेपाल शक्तिको अभिन्न अंग हो।

पहिला विश्वास जित। विश्वास आफैंमा शक्ति हो। राजा पृथ्वीनारायणले विश्वास जिते। राजाले पैसा खाँदैनन् जे भनेका छन् त्यही गर्छन् भन्ने विश्वासमा गोर्खाका हरेक घर धुरीले उनलाई त्यो बेलाको सारै ठूलो रकम रु एक दिए।

यो हरेकको रु एकले पृथ्वीनारायणलाई शक्ति दियो। यस्तो जुक्ति उनले विषे नगर्चीबाट पाएका थिए। विश्वास जितेका पृथ्वीनारायणलाई गोर्खालीले धन पनि दिए, मन पनि दए, जन पनि दिए र ज्यान पनि दिए।

यसरी दिने गोरखालीहरु शक्ति भएर फैलँदै गए र उनीहरुले शक्तिकोसाथ हामीलाई शक्तिशाली नेपाल दिए। तसर्थ नेपाल बदल्ने पहिलो जुक्ति विश्वास जित्नु हो। विश्वासले समर्थन दिन्छ, समर्थनले शक्ति दिन्छ।

दोस्रो जुक्ति पनि पृथ्वीविचारमा नै छ। पृथ्वीनारायणले भने जस्तै भ्रष्टचारीलाई राज्य र नेतृत्वले शत्रु घोषणा गर र शत्रुमाथि निर्मम किसिमले जाइलाग। यसो भएपछि तिमिले विश्वास जित्छौ।

विश्वासको जगमा उभिएर गोरखाबाट सिकेर जनताबाट अर्बाैं संकलन गर्न सक्छौं। पृथ्वीविचारको स्वदेशवादी धार पक्रँदै स्वदेशी पूँजीबाट धमाधम विद्युत उत्पादन गर्न थाल। क्रमश चुलो र चक्काबाट ग्यास पेट्रोल विस्थापित गर्दै जाउ।

यसले नसोचेको आर्थिक शक्तिको नेपाल दिनेछ। आत्मनिर्भर कृषि अभियान नगद षैचने अरु समेत मूल पर्यटन। जताततै सीपको आवश्यकता जगैदेखि सीप शिक्षा सीपको महत्व बुझ्ने पृथ्वीनारायणबाट सीपशक्ति राष्ट्रको शक्ति बुझ। सीप आफैंमा जुक्ति पनि हो शक्ति पनि हो।

एकजना चिनियाँको भनाइले नेपालको शक्ति केहो र नेपाली के गर्दै छौं भन्ने चेत आउन सकोस्। उनले भनेका छन् नेपाल सुनको कचौरो बोकेर भीख माग्न हिडिँरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *