कविता

आमा म आतंककारी बन्छु!

सुष्मा दाहाल
१३ साउन २०८० ६:२१

आमा! मेराे अस्तित्व नै औपचारिक
बलात्कारबाट शुरु भएकाे रैछ,
जब तिम्रो काेखबाट बडाे कस्टकासाथ
बाहिरी दुनियाँमा आएँ…
.त्यहीँ बाट बिभेदकाे दुश्चक्रमा झेलिन थालेंछु
मेरा लागि पहिलो रुवाईबाट नै लाक्षणिक
बिभेदहरु शुरु हुनथालेछन्।

ए…..छाेरी पाे!
नाक खुम्चिएथ्याे रे आफन्तकाे!
जसकाे प्रत्यक्ष असर तिमीमा पनि
परेको छ आमा!
छाेरी जन्माइछे भनेर
तर तिमी त चुपचाप छ्यौ!

जब म आँखा खाेल्नथाल्छु,
दुनियाँ मेरो लागि उपमा बनाउन ब्यस्त हुन्छ
जब म हत्केला उघार्न थाल्छु,
मेरा हस्तरेखाहरु पढ्ने ज्याेतिषी बन्छ दुनियाँ !
जब म बामे सर्नथाल्छु,
मेराे जीवन यात्राकाे बिन्दु तय गर्न थाल्छ दुनियाँ !
जब म ताेते बाेल्दै ताते सर्न थाल्छु
सर्तका लक्ष्मणरेखाहरु बनाईसक्छ दुनियाँ ।

यतिबेला सम्ममा मेरा कानमा मुन्द्रा,
हातमा बाला र पाउमा छिन्छिन् बज्ने पाउजु
पहिराई सक्छिन् बज्यै!
भन्छिन् ,छाेरीकाे साेमत र लक्षण हुन् यी सब!
तर यहाँ मायारुपि भ्रम लादेर
देखावटी मायाका नेलहरु
पहिर्‍याइएकाे कहाँ बुझ्छिन् र बज्यै,
कहाँ बुझ्छ्यौ र तिमी।

मेराे नाक अरुले चाहेजस्तो हुनुपर्छ ,
मेरा हात पाउ अरुले साेचेजस्ता हुनुपर्छ!
मेरो खेल्ने समूह अलग ,
मेरो बाेल्ने शब्द अलग,स्वर अलग,
मेरो हिड्ने तरिका अलग,
हाँस्ने तरिका अलग,
मलाई म भएर बाँच्न कहिल्यै दिदैन दुनियाँ।

हुन त दुनियाँ भन्नु साेच हाे
मानसिकता हाे,
भनिन्छ नि
“तनकाे दरिद्रताले स्वयं ब्यक्ति मात्र
ग्रसित हुन्छ,
जब मन र साेचकाे दरिद्रता हावी हुन्छ,
तब समाज नै दीर्घ राेगी र अपांग हुन्छ”
यही साेचकाे तातो कसौंडीमा बाफिन म जन्मिएँ त आमा!???

कपाल मेराे आकार अरुले भने झैं ,
पैताला मेरा हिँडाइ अरुले भने झै!
अनुहार मेराे शृङ्गार अरुले भने झै!
म अवाक छु आमा!
तर धिक्कार्दिन तिम्रो काेखलाई!
किन कि तिमी मेरी जननी हौ,सृष्टिकर्ता हौ!
हुँदाहुँदा मेरा अंगहरु नै मेरो अवशानकाे कारण बन्दारहेछन्,बुझ्दैछु आमा!

म घरमा शुरक्षित छैन,
बाटाेमा शुरक्षित छैन,
सवारीसाधनमा
सुरक्षित छैन,बिद्यालयमा सुरक्षित छैन!
हाट बजार मेलापात
कतै शुरक्षित छैन!

म यी बिभेदी बन्देज र नीति नियमका फेराहरु
एकैचोटि ताेड्न चाहन्छु!
पार गर्न चाहन्छु!चुडाउन चाहन्छु!
कतिदिन सुन्नु, बलात्कारका समाचारहरु!
कति दिन पढ्नु हत्याका खबरहरु!
अँह अब त म देख्न सक्तिन याे उपेक्षा ,
याे विभेद,याे शाेषण!
याे अन्याय ,याे अत्याचार!
मेरो बाल मस्तिष्क कायल भैसक्याे!

कानुनी राज्यमा कानुन
कठपुतली भएकाे देख्दा !
न म शुरक्षित छु यहाँ
न तिमी जस्ता हजारौं आमा र
छाेरीहरु नै!
त्यसैले अनुमति देऊ आमा
यी सारा बेथिति र बिसंगतिहरु
धुजाधुजा बनाएर ताेड्न
म रिभल्बर बाेक्छु,
आमा म आतंककारी बन्छु!

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *