युरोपियन मुलुकमा रोजगारी दिने बहानामा लाखौँ रुपैयाँ ठगी, प्रभावमा नपर्न मन्त्रालयको सुझाव
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले युरोपियन श्रम गन्तव्य मुलुकमा जान असम्बन्धित व्यक्ति वा संस्थाको अनुचित प्रभावमा नपर्न सुझाव दिएको छ ।
मन्त्रालयले आज प्रेस विज्ञप्तीमार्फत आकर्षक सेवा, सुविधाको प्रलोभन देखाई माल्टा, रोमानिया, पोल्याण्ड, पोर्चुगललगायतका युरोपियन श्रम गन्तव्य मुलुकमा रोजगारी दिने बहानामा लाखौँ रुपैयाँ ठगी गरेको सम्बन्धमा सुक्ष्म अनुसन्धान गरिरहेको जानकारी दिँदै असम्बन्धित व्यक्ति वा संस्थाको अनुचित प्रभावमा नपर्न सुझाव दिएको हो ।
“असम्बन्धित व्यक्ति वा संस्थाको अनुचित प्रभावमा नपर्न मन्त्रालयको अनुरोध छ”, विज्ञप्तीमा उल्लेख छ, “दर्ता भएका इजाजत प्राप्त संस्थामार्फत वा उच्च दक्ष कामदारले व्यक्तिगतरुपमा वैदेशिक रोजगारीमा जाँदा अन्य कोही अनाधिकृत व्यक्ति वा संस्था एवं सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशन तथा प्रसारण गरेको सूचनाको आधारमा नभई कामदार स्वयंले वैदेशिक रोजगार विभाग वा सम्बन्धित सङ्घ तथा रोजगारदातासँग सिधा सम्पर्क र समन्वय गरेर मात्र वैदेशिक रोजगारीमा जानुहुन अनुरोध छ ।”
जारी विज्ञप्तीमा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा ‘वैदेशिक रोजगारीमा ठगी’ विषयमा प्रकाशित तथा प्रशारित समाचारप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । मन्त्रालयका सहायक प्रवक्ता डम्बरबहादुर सुनुवारले अनधिकृतरुपमा वैदेशिक रोजगारीको आवरणमा हुने सबै प्रकारका ठगीलाई निरुत्साहित गर्न सहयोग तथा सहकार्यका लागि अनुरोध गरेका छन् ।
वैदेशिक रोजगारीमा जानका लागि नेपाल सरकारले खुला गरेको मुलुकमा तीन प्रकारको कानूनी प्रकृयाबाट श्रम स्वीकृति प्रदान गरिन्छ । नेपाल सरकार र सम्बन्धित देशको सरकारबीच श्रम सम्झौता गरी, वैदेशिक रोजगार विभागमा दर्ता भई अद्यावधिक भएका वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न अनुमती प्राप्त इजाजतप्राप्त संस्था र तेस्रो व्यक्तिगतरुपमा श्रम स्वीकृति प्रदान गरिने प्रावधान रहेको छ ।
इजाजत प्राप्त संस्थामार्फत वैदेशिक रोजगारीमा जाँदा आफू जान चाहेको मुलुक, कामको विवरण, तलब सेवा सुविधा, आवश्यक सीप तालिम, रोजगारदाताले तोकेको सेवा शुल्क वा फ्रि भिषा फ्रि टिकटको बारेमा सम्बन्धित इजाजतप्राप्त संस्थामा स्वयं आफैँ उपस्थित भई वा वैदेशिक रोजगार विभागमा सम्पर्क गरी यकिन गर्न मन्त्रालयले अनुरोध गरेको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment