बिरामीको विवरण सार्वजनिक देखिने गरी टाँस्न मन्त्रालयको निर्देशन

डिसी नेपाल
१७ साउन २०८० ७:०२

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताललाई कूल शय्याको १० प्रतिशत निःशुल्क उपचार गरिएका बिरामीको विवरण देखिने ठाउँमा टाँस्न निर्देशन दिएको छ।

मन्त्रालयका सहसचिव डा मदनकुमार उपाध्यायले मंगलबार सरकारी, निजी तथा सामुदायिक अस्पताल र प्रतिष्ठान तथा मेडिकल कलेजलाई परिपत्र जारी गर्दै कूल शय्याको १० प्रतिशत निःशुल्क गरिएका बिरामीको अभिलेख विवरण सार्वजनिकरूपमा देखिने गरी जानकारी दिन, टाँस्न तथा विद्युतीय बोर्डमा डिस्प्ले गर्न निर्देशन दिएका हुन्।

मन्त्रालयले जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ६४ र स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ को दफा ७० (घ) बमोजिम अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कूल शय्याको १० प्रतिशत छुट्ट्याई निःशुल्क उपचार अनिवार्य गराउन पटकपटक परिपत्र दिइसकेको जनाएको छ।

यस्तै मन्त्रालयले निजी तथा सामुदायिक र निजी मेडिकल कलेजलाई आफ्नो वर्गीकरणअनुसार सेवा प्रवाह गरे नगरेको जानकारी गराउन आग्रह गरेको छ।

यसैगरी मन्त्रालयले संघीय अस्पताल, मेडिकल कलेज र स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आफूले उपलब्ध गराउने सम्पूर्ण सेवा सुविधाको विद्यमान सेवा शुल्क विवरण उपलब्ध गराउन अनुरोध गरेको छ।

आवश्यकताअनुसार ज्वरो क्लिनिकल गर्न निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इमिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सबै अस्पताललाई डेंगी सङ्क्रमणको उपचार प्रभावकारी गर्न निर्देशन गरेको छ।

महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले दैनिक डेंगीका सङ्क्रमण बढिरहेकाले संघीय अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई परिपत्र जारी गर्दै डेंगी रोगको निदान र उपचार व्यवस्थापन गर्न निर्देशन दिएका हुन्।

“दैनिक डेंगी सङ्क्रमण बढिरहेको छ। संघअन्तर्गतका अस्पताल र प्रतिष्ठानलाई डेंगी रोग रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापन निर्देशिकाअनुसार गर्न निर्देशन दिएका छौं”, उनले भने।

उनले डेंगी रोगको निदान, उपचार र व्यवस्थापन गर्नका लागि ती अस्पताल र प्रतिष्ठानलाई परिपत्र जारी गर्दै छ बुँदे निर्देशन दिएका हुन्।

परिपत्रमा डेंगी रोगको निदान तथा उपचार व्यवस्थापनका लागि राष्ट्रिय डेंगी रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापन निर्देशिकाअनुसार गर्न, स्वास्थ्य सेवा विभागबाट जारी गरिएको डेंगी रोकथाम तथा नियन्त्रण कार्ययोजनाअनुसार कार्य गर्न तथा डेंगी रोगको निदानका लागि आवश्यक कीटको सुनिश्चित गर्न पनि निर्देशन दिइएको छ।

यस्तै डेंगी रोगका बिरामी बढिरहेको अवस्थामा आवश्यकताअनुसार ‘ज्वरो क्लिनिक’ सञ्चालन गर्न उनले ती अस्पताललाई निर्देशन दिएका हुन्। अस्पतालमा डेंगी रोगको चापका आधारमा ज्वरोको स्क्रिनिङका लागि ज्वरो क्लिनिकल सञ्चालन गरिने उनको भनाइ छ।

बिरामीको मृत्यु भएको अवस्थामा प्रमाणीकरण गरेर मात्र प्रतिवेदन तयार गर्न, बिरामीको विवरण नियमितरूपमा सफ्टवेयरमा राखी प्रतिवेदन तयार पार्नेलगायतका काम गर्न निर्देशन दिएका छन्।

अहिले पाँच हजार छ सय ८८ जनामा डेंगीको सङ्क्रमण र चार जनाको निधन भएको छ। महाशाखाले अहिलेको अवस्थामा डेंगी सङ्क्रमण बढ्दै गए भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरेको छ। उनले वर्षायाम सुरु भएसँगै असारको अन्तिम सातादेखि सङक्रमण ह्वात्तै बढिरहेको बताए।

डेंगी पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भाले वयस्क भएर टोकेपछि डेंगी रोग लाग्दछ।

कार्ययोजनामा यस्तै लामखुट्टैको लार्भा खोज तथा नष्ट गर्ने अभियान र जनस्तरसम्म डेंगी रोग रोकथाम तथा नियन्त्रणका लागि सचेतना अभियान सञ्चालन गर्ने उल्लेख गरिएको छ। यसैगरी डेंगी नियन्त्रणका लागि महाशाखाले घरदैलो कार्यक्रम सञ्चालन गर्ने बताएको छ।

यसैगरी जोखिम नक्सांकन तथा हट-स्पट पहिचान गर्ने, डेंगी सेरोटाइपको पहिचान, लामखुट्टेमा डेंगी भाइरसको आइसोलेसन गर्नेसमेत कार्ययोजनमा उल्लेख गरिएको छ। नेपालमा पहिलो पटक सन २००४ मा एक जनामा डेंगी देखिएको थियो।

मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ।

यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढंगले पाल्न र घरवरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिने आग्रह गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *