कविता : श्रमिकको व्यथा

शान्ता सुवेदी सिटौला
२८ साउन २०८० ११:२०

नाबालक छोराछोरी छोडी बाबुआम।

जानुपर्छ काम खोज्न खाडी मुलुकमा

याद आउँछ विदेशबाट घरको कथा व्यथा

रातदिनको थकाईसँगै मनमा कति व्यथा ।

 

बस्नुपर्छ एक कोठामा धेरैजना मिली

गर्नुपर्छ कठिन काम सारा दुःख भुली

ज्याला हुन्न काम अनुसार त्यसमा पनि ठगी

विज्ञापन भन्दा फरक खराब काममा लगी ।

 

घरबाट फोन आउँछ फोन उठाउन नपाई

जम्मा गरी पठाउनु छ भोकै खाइ नखाई

छोराछोरी स्कुल खर्च बाआमाको दबाई

तिर्नुपर्ने चर्को व्याजको ऋण साहुलाई ।

 

थकित शरीर साहुको ऋण सावाँ व्याज तिर्दा

आफ्नो हात रित्तो हुन्छ विदेशबाट फिर्दा

विदेशमा जाने सबै कमाउने आसमा

कल्पना नि गर्‍या हुन्न फिर्ने बाकसमा ।

 

गाँस बासको जोहो गर्न जाँदा घर छोडी

उजाड भयो जन्मघर बाँझो भयो भूमि

झाडी जंगल जस्तो भयो मेरो मातृभूमि

तीन तहका सरकार भन्छौ कस्तो विकास कुन्नि ।

 

लोग्ने कता स्वास्नी कता छिन्नभिन्न घर

लालाबाला बिचल्लीमा उजाड परिवार

श्रमिकका कथाव्याथा सुन्ने कसले होला

स्वदेशमा नै काम दिने सरकार कहिले होला ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *