संस्मरण

हवाई विध्वंसको साक्षी बसेर फर्किँदा

आमा बारम्बार भन्नुहुन्थ्यो, बाँच्नुपर्छ देख्न पाइन्छ। हुन पनि जीवनको उत्तरार्द्धतिर आइपुग्दासम्म अनेकौं सुखद तथा दुःखद अनुभूति संगाल्न पाइएको छ।

कति कुरा सुनियो, देखियो र भोगियो। लाग्छ मान्छे भोग्नैका लागि बाँच्छ। अनेकौं प्राकृतिक प्रकोप र त्यसबाट भएको विध्वङ्सक तथा हृदयविदारक घटनाका प्रत्यक्ष एवं परोक्ष साक्षी हामी सबै हुन पुगेका छौं।

अब आफ्नै कुरा गराैं, मेरो जीवनमा धनकुटाको लेउती, झापाको कन्काई र बिरिङ जस्ता खोलामा आएको बाढीका कारण खोला तर्न नसकी रोकिएको, पहिरोका कारण सडक अवरुद्ध हुँदा निर्जन स्थानमा भोकैतिर्खै २४ घण्टा बस्नुपरेको जस्ता घटना धेरै छन्।

त्यसमा पनि २०४५ र २०७२ सालको भूकम्प सम्झदा अहिले पनि आङ जिरिङ्ग हुन्छ। यी र यस्तै शृंखलामा यसपालि हवाईको मावुई आगलागीको चपेटामा पर्दाको अनुभूति पनि गाँसिएको छ।

यो नै मैले जीवनमा हालसम्म भोगेको र देखेको सबैभन्दा ठूलो प्राकृतिक प्रकोपको घटना बन्न पुग्यो। अतः सोही अग्निकाण्डको समयमा भोगेका अनुभूति पाठकसमक्ष प्रस्तुत गर्ने उद्देश्यले यो सम्झौटो तयार पारिएको हो।

प्रशान्त महासागरको मध्यभागमा अवस्थित संयुक्त राज्य अमेरिकाको मुख्य भू-भागभन्दा ३ हजार ८ सय ५७ किलोमिटर पश्चिम हवाई राज्यमा ज्वालामुखीका कारण सिर्जित भएका १३७ वटा टापुहरू छन्।

तीमध्ये ८ वटा टापु प्रमुख मानिन्छन्। तीमध्येको दोस्रो प्रमुख टापु मावुई हो। मावुई र हवाई जोडेर हवाई राज्यको नामकरण गरिएको रहेछ। मावुई त्यहाँको पुरानो राजधानी र कला तथा संस्कृतिले समृद्ध टापु मानिदो रहेछ।

हवाई संसारकै सर्वाधिक लोकप्रिय र आकर्षक पर्यटकीय गन्तव्यस्थल पनि हो। विदेशीको कुरा छाडौं, कम्तीमा एकपटक हवाई पुग्ने सबै अमेरिकीहरूको धोको रहेको हुँदो रहेछ, जसरी मक्का-मदिना, चारधाम, मानसरोवर, पशुपतिनाथ जस्ता क्षेत्रमा पुग्न सम्बन्धित धर्मावलम्बीहरूको उत्कट इच्छा हुन्छ।

नेपालबाट हवाईको होनोलुलुस्थित East–West centre प्रतिष्ठित शैक्षिक प्रतिष्ठानमा अध्ययन अनुसन्धान गर्न धेरै नेपालीले छात्रवृत्ति पाएका छन्। केही वर्ष अगाडिसम्म उक्त संस्थाबाट नियमित रूपमा छात्रवृत्ति प्राप्त हुने र प्रतिस्पर्धा गरी छनौट गरिने प्रचलन थियो।

भिल्लाबाट हिँडेको एक मिनेट दूरीपश्चात् नै विध्वंसका अवशेष देख्न थालियो। बिजुलीका खम्बा ढलेका, रूखहरू लडेका, भवन खरानी भएको, गाडी जलेर नामोनिसाना हराएको, धुवाँको मुस्लो उडिरहेको, सबै डाँडाहरू अँगारमा परिणत भएका, आगोको लप्का दन्किरहेको यस्तो प्रलयको अनौठो दृश्य हेर्दै प्रहरीको निगरानीमा अगाडि बढ्दै गयौं।

उक्त छात्रवृत्तिमा अध्ययन गरी फर्केका प्राध्यापक तथा अमेरिकन पिसकोरहरूबाट हवाईको वर्णन सुन्दा जोकोहीलाई पनि त्यस स्थानमा पुग्ने रहर हुने नै भयो। त्यस्तै रहर मनमा साँचेर बसेको मान्छे थिएँ, म पनि।

विसं २०६५ सालदेखि पटक-पटक संयुक्त राज्य अमेरिकाका विभिन्न स्थानमा घुम्ने अवसर पाएँ। तापनि हवाईको यात्रा जुरेको थिएन। हाम्रै इच्छा र चाहना बुझेर नै होला कान्छी छोरी र ज्वाइँबाट विसं २०८० श्रावण अर्थात् सन् २०२३ अगस्टमा हवाईको एक हप्ते भ्रमण कार्यक्रम तय भएको थाहा पाउँदा हामी निकै दङ्ग पर्‍यौं। धेरै पहिलेदेखिको इच्छा पूरा हुने भयो भन्ने उत्साह पनि मनमा थियो।

हामी अगस्ट ५ मा सनफ्रान्सिस्कोबाट हवाई प्रान्तको मावुईका लागि उड्यौं। करिब ६ घण्टाको उडान, पट्यारलाग्दो नै हुँदोरहेछ। विशेषतः हामी नेपालीलाई अमेरिकाको आन्तरिक उडानमा कताकता नजानिँदो किसिमले कठिनाइ पर्ने रहेछ।

सोही दिनमा मावुईको कहुलाई विमानस्थल पुगियो। त्यहाँबाट पूर्वनिर्धारित गाडी लिएर योजना अनुसार कोहोनाभिल्लामा पुग्यौं। सोही दिन बेलुका सामुद्रिक किनारको अवलोकन गरियो। सो दृश्य हेर्दा यस्तो सुन्दर ठाउँमा पहिले नै आउन पाएको भए हुनेरहेछ जस्तो लाग्यो।

दोस्रो दिन हामीले होनोलुवा बेलगायत अन्य केही स्थानमा भ्रमण गरौँ। तेस्रो दिन हामीले Maui Ocean Contra काे Aquarium हेर्‍याैं, जुन विश्वप्रसिद्ध छ। उक्त दिन बिहानदेखि नै हावा निकै चलिरहेको थियो।

जहाजबाट सूर्यास्तको दृश्य हेर्दै खानपिन गर्ने हाम्रो कार्यक्रम थियो तर मावुईमा हावाको वेग तीव्र हुँदै गएकाले रद्द भएको सूचना पाइयो। त्यसपछि हामीले मावुईको प्रमुख केन्द्रस्थल लहैना घुमफिर गरेका थियौं। सोही राति यस क्षेत्रमा यति ठूलो विध्वङ्स भएको थियो।

र, हाम्रो निवास पनि उक्त केन्द्रको केही मात्र उत्तरतर्फ थियो। हामी निवास पुगेपछि पनि हावाको वेग बढ्ने क्रम जारी नै भयो। राति सुतेको केही समयपछि बिजुली गयो। रातभरि बिजुली आएन, बिजुलीबिनाको अन्धकार रात निकै कष्टकर रह्यो।

हावाहुरीका कारणले होला भनी दुःख सहँदै जसोतसो रात बितायौं। बिहान उठ्दा पनि बिजुली थिएन। सञ्चार सम्बन्ध पनि विच्छेद रहेछ। फोनको नेटवर्क पनि थिएन, इन्टरनेटको त कुरै भएन। कच्चा खानेकुराको जोहो त राम्रै गरिएको थियो तर बिजुली नभएपछि पकाउने कुरा नै भएन।

छोरीज्वाइँ बाहिरबाट तातो पेय र खाना लिएर आउने भनेर निस्कनुभएको धेरै बेरसम्म पनि आइनपुग्दा हाम्रो चिन्ता बढ्नु स्वाभाविक थियो। करिब ३ घण्टा जतिमा उहाँहरू फर्किएपछि पो थाहा भयो बजार पुरै बन्द रहेछन्। कुनै पनि पसल नखुलेको र बिजुलीको अभावमा खाना उपलब्ध नहुने अवस्था रहेछ।

एक स्थानमा ग्यासद्वारा पकाउने स्थान फेला पारी लामो लाइन बसी केही खानेकुरा लिएर आउन खोज्दा बेर लागेको रहेछ। तीव्र वेगमा उधुमसित आँधीबेहरी चलेकोचल्यै थियो। आधीबेहरी सय किलोमिटर प्रतिघण्टाको वेगले दक्षिणतिर बढ्ने क्रम जारी नै रह्यो।

यातायात बन्द, ग्यास स्टेसन बन्द, बाटोमा चारैतिर छेकबार गरिएको मानौँ जीवनको गति नै बन्द भएको होस्। के भएको रहेछ भन्ने कौतुहलताले एस्सो सडकमा निस्किएको त स्थिति भयावह देखियो। सबै पर्यटक आयवलमा, थप जानकारी कसैलाई केही छैन।

एम्बुलेन्स र वारुणयन्त्र गुडेका कति हुन् कति? उसैगरी हेलिकप्टरहरू आकाशमा फन्को मारिरहेका। डरैडर र त्रासैत्रासमा पलपल बिताउनुपरेको थियो। भिल्लाका सम्बन्धित कोही भेटिने होइनन्।

बिस्तारै लहैना मुख्य केन्द्र ध्वस्त भएको हजारौं गाडी तथा भवन नामोनिसाना नहुनेगरी उडेको, मानिस अंगभंग र हताहत हुने कुरा त कति हो कति भन्नेजस्ता खबर आउन थाले। संसारभरि त्यो भयंकर प्रलयकारी अग्निकाण्डको समाचार फैलियो। हामी भने त्यहीँ बेखबर।

कतिपय कुरा नसुन्दा नजान्दा पनि तनाव कम हुने रहेछ। हामी त अन्यौल अन्यौलमै समय गुजार्दै थियौँ तर हाम्रो मावुई यात्रा र त्यहाँको विध्वङ्सका बारेमा जानकारी पाउने घरपरिवार, आफन्त तथा शुभचिन्तकको अवस्था के भयो होला?

हाम्रो खबरका लागि पलपल मुटु ढुकढुक पारेर व्याकुल भई विवशतापूर्वक पर्खनेको अनुभूति शब्दमा वर्णन कसरी गरूँ? मावुईका समाचार सुन्दा र दृश्यहरू हाम्रो अवस्थालाई लिएर आत्तिएका र डराएका आफन्तको कुरा सुन्दा पछि पनि हाम्रो आङ सिरिङ्ग भयो, अहिले पनि शरीरका रौँ ठाडा हुन्छन्।

हामीलाई त चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी भनेझैँ भयो। घुमफिर गर्ने रमाइलो गर्ने त कुरा नै भएन। कतिबेला त्यहाँबाट सुरक्षित स्थानतर्फ पुग्ने होला भन्ने चिन्ताले आकुलव्याकुल बनायो। उक्त तीव्र गतिको आँधीबेहरी ७२ घण्टासम्म निरन्तर चलिरह्यो।

अगस्ट ७, ८ र ९ तीन दिन तीन रात आयवलमा नै बित्यो। बिजुलीसमेत नहुँदा अन्धकार त भयो नै रात काट्न पनि मुस्किल भयो। मानमाथि भुक्तमान भनेझैँ एकातिर दुर्घटनाको त्रास अर्कातिर प्रचण्ड गर्मी, सबैको सातो गएको थियो। अगस्ट १० का दिन बिहान बाटो खुलेको खबर आयो। भाग्यवश हाम्रो त्यही दिनको हवाई टिकट थियो।

हाम्रो जहाजको उडान समय दिउसो १ः०० बजेको थियो। तर, पनि हामी बिहानै निस्कियौं। गएदेखि नै गाडीमा इन्धन भरिएको थिएन, विमानस्थलसम्म पुग्न सकिने हो कि होइन भन्ने अर्को चिन्ता थपियो।

भिल्लाबाट हिँडेको एक मिनेट दूरीपश्चात् नै विध्वंसका अवशेष देख्न थालियो। बिजुलीका खम्बा ढलेका, रूखहरू लडेका, भवन खरानी भएको, गाडी जलेर नामोनिसाना हराएको, धुवाँको मुस्लो उडिरहेको, सबै डाँडाहरू अँगारमा परिणत भएका, आगोको लप्का दन्किरहेको यस्तो प्रलयको अनौठो दृश्य हेर्दै प्रहरीको निगरानीमा अगाडि बढ्दै गयौं।

लामो समयको खडेरीले सबै सुख्खा भएको र त्यसमा पनि त्यति ठूलो आँधी आएकाले ज्वालामुखीको आगो यत्रतत्र सर्वत्र फैलिएको रहेछ। हामीलाई विमानस्थलसम्म पुग्न धेरै नै समय लाग्यो।

गाडीलाई भित्रबाट बाहिर निस्कन दिइएको तर बाहिरबाट भित्र जान नदिइएको रहेछ। विमानस्थलबाट जसोतसो विमान उड्न सक्ने मात्र व्यवस्था गरिएको रहेछ।

त्यस स्थानका अन्य उडान सबै रद्द भएका रहेछन्। सङ्कटग्रस्त क्षेत्र जति सक्यो छिटो छाड्न आदेश दिइएको तर रातको समयमा कफ्र्यू लाग्ने हुँदा सर्वसाधारणले भोग्नुपरेको कष्ट भनिसाध्य भएन।

सडक मुस्किलले खुलाइएको रहेछ। आगो नियन्त्रण गर्ने प्रयासले पूर्ण सफलता प्राप्त नगरेको जस्तो देखिन्थ्यो। करिब ४० मिनेटको बाटो तीन घण्टाभन्दा बढी समय लगाएर पार गरियो।

विमानस्थल भएको स्थानमा बिजुलीको व्यवस्थाले गर्दा खाना खान त पाइयो तर भिडभाड भने प्रशस्तै थियो। जुनसुकै रेस्टुरामा पनि करिब १ घण्टा लाइन नबसी पालो नपाइने रहेछ। विमानस्थलमा खुट्टा राख्ने समेत ठाउँ थिएन।

विमानस्थलका सम्बन्धित कर्मचारीहरूलाई व्यवस्थापन गर्न हम्मेहम्मे परेको दृश्य देखिन्थ्यो। भाग्यवश हाम्रो विमान निर्धारित समयमा नै उड्यो। सनफ्रान्सिस्को पुगेपछि सबैले लामो सास फेरे। सबैका अनुहारमा चमक छायो।

तीन दिन तीन रात घरकै सीमित घेराभित्र बस्नुपर्दा तथा केही देख्न र सुन्नपर्यन्त नपाउँदा बाहिरको स्थितिको बुझ्न सकिएको थिएन। पछि बाहिरको दृश्य देख्दा मन आत्तियो। धन्न बाँचिएछ भन्दै श्रीभगवान्को पुकारा गर्‍यौं।

सात अगस्टबाट प्रारम्भ भएको यो आगलागी विगतमा अमेरिकामा भएका अन्य आगलागीभन्दा भयानक र विध्वंसक सावित भयो। हुन त क्यालिफोर्निया पनि पटक पटक अग्निप्रकोपमा परेको थियो। तर, धनजनको नोक्सानी मावुईमा जति भएको थिएन।

नोक्सानीको लेखाजोखा आज २० अगस्टसम्म पुग्दा पनि पूर्ण हुनसकेको छैन। मर्ने र हराउनेको सङ्ख्या बढ्दै छ। व्यक्तिगत, संस्थागत र सरकारी भौतिक संरचनाको कति नोक्सानी भयो? त्यसको अहिले पनि यकिन तथ्याङ्क छैन।

आगो कसरी सुरु भयो भन्ने विषयमा पनि एकमत छैन। आगलागीको प्रकोप राति बढेको हुँदा धनजनको नोक्सानी अत्यधिक भइरह्यो। सुतेका मानिस सुरक्षित स्थलमा भाग्न प्रयास गर्दागर्दै खरानी भए। कति त समुद्रमा हाम फाले होलान्। घटना हुनेबित्तिकै सङ्कटकालको घोषणा भयो।

राष्ट्रपति जोन बाइडेनले आगलागी स्थल निरीक्षण गरी उक्त घटनाप्रति दुःख प्रकट गर्दै सरकार र अमेरिकी जनताले यस विपतको सामना गर्दै मावुईको पुनर्निर्माणमा पूर्ण ध्यान दिने आश्वासन दिएका समाचार प्रकाशमा आएको छ।

हवाईको प्रदेश सरकारले उद्धार कार्यमा सर्वाधिक प्राथमिकता दिने घोषणा गर्‍यो। यस भीषण जङ्गली आगलागीले विश्वकै ध्यान खिच्यो। संसारका सबै मानव मर्माहत भए।

आगलागीबाट अपूरणीय क्षति सांस्कृतिक पर्यटकीय एवं ऐतिहासिक सहर लहैनाले नै भोग्नुपर्‍यो। त्यस क्षेत्रका सबै ऐतिहासिक स्मारक तथा पुरातात्त्विक संरचनाहरू खरानी भए।

सन् १८७३ मा भारतबाट लगेर त्यस सहरमा रोपी हुर्काइएको ६० फिट अग्लो वरको रूखसमेत आगलागीको चपेटामा प¥यो, जसलाई सहरको गहना नै मानिन्थ्यो। अगस्ट महिनाको अन्त्यसम्म पनि आगो पूर्णरूपमा नियन्त्रण हुन सकेको छैन।

पुनः आगजनी हुन सक्ने खतरा पनि टरेको छैन भन्ने मौसमविदहरूको भनाइ छ। अगस्ट १९ सम्म मृतकको सङ्ख्या ११४ जना पुगेको छ भने एक हजारभन्दा बढी हराइरहेका छन्। यी दुवै सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

मृतकको पहिचान गर्न समेत ठूलो चुनौती रहेको छ। यसका लागि डिएनए परीक्षण विधि अपनाइएको जनाइएको छ। उक्त क्षेत्र पर्यटकीय स्थल भएकाले मृतकको सङ्ख्या यकिन गर्न तथा शव पहिचान गर्न थप कठिनाइ परेको हो।

संयुक्त राज्य अमेरिकाको आधुनिक इतिहासमा आगलागीबाट ज्यान गुमाउनेहरूको सङ्ख्या यति ठूलो पहिले कहिल्यै नभएको तथ्यसमेत बाहिर आएको छ। भौतिक संरचनाहरू करिब १२ हजारभन्दा बढी ध्वस्त भएको अनुमान गरिएको छ। करिब ७ बिलियन डलरभन्दा अधिक रकम पुनर्निर्माणमा लाग्नेसम्मका पूर्वानुमान गरिएका छन्।

आगलागीको कारण तथा आगलागीसम्बन्धी पर्याप्त पूर्वसूचना नदिइएको र संकटकालमा सम्बन्धित अधिकारीबाट अपेक्षा गरिएअनुसार कार्य नभएको विषयमा छानबिन समिति नै गठन गरिएको छ।

आगलागीको पूर्ण विवरण आउन अझै केही समय लाग्ने पक्का छ। कोभिडका कारण थला परेको मावुईको पर्यटन उद्योग भर्खर बामे सर्दै गरेको अवस्थामा यस आगलागीबाट उठ्नै नसक्ने गरी थला परेको छ।

आधुनिक अमेरिकी इतिहासकै पहिलो भीषण आगलागीको साक्षी हुन पाउनु जीवनकै एक अविस्मरणीय घटना बन्न पुगेको छ। संयोगले मात्र बाँचिएको बोध भएको छ।

दक्षिततिर प्रवाहित भएको उक्त हावा यदि उत्तरतिर प्रवाहित भएको भए के हुने थियो? दैव जाने। जे होस् आमाले ठिकै भन्नुभएको रहेछ, बाँचे धेरै देखिन्छ र भोगिन्छ। अस्तु!




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *