सिंहदरबार रेक्ट्रोफिटको काम छिटो सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

डिसी नेपाल
७ भदौ २०८० २०:०३

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेक्ट्रोफिट भइरहेको सिंहदरबारको पश्चिम खण्डको काम छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् ।

आज रेक्ट्रोफिट भइरहेको भवनको स्थलगत अनुगमन गर्दै उहाँले छिटो काम सम्पन्न गर्न निर्देशन दिएका हुन् । अनुगमनका क्रममा प्रधानमन्त्री प्रचण्डले भूकम्पले क्षति पुर्याएको सिंहदरबारलाई रेक्ट्रोफिट गरेर पुनः पुरानै अवस्थामा निर्माण गर्नु सुखद् भएको बताए । “काम सन्तोषजक ढङ्गले अघि बढेको छ, अब बाँकी काम पनि तत्काल सम्पन्न गर्नुहोस्”, उनले भने ।

केन्द्रीय आयोजना कार्यान्वयन एकाइ भवन र निर्माणमा संलग्न शर्मा न्यू टेक्निकल जेभीका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री प्रचण्डले पुनःनिर्माण सम्पन्न भएपश्चात देखिने बाहिरी र भित्री कक्षहरूको ‘थ्रिडी एनिमेसन’को समेत अवलोकन गरेका थिए । प्रधानमन्त्री प्रचण्डले इन्जिनियर, प्राविधिक र पुनःनिर्माण कार्यमा संलग्न सबैलाई धन्यवाद दिएका थिए ।

अनुगमनका क्रममा सहरी विकासमन्त्री सीता गुरुङले रेक्ट्रोफिटको काम सम्पन्न हुने चरणमा पुगेको बताउँदै इन्टेरियरको काम पनि अघि बढाउने गरी काम भइरहेको जानकारी दिइन् । उनले पुनःनिमाण भइरहेको पश्चिम खण्डमा प्रधानमन्त्री र मुख्यसचिवको कार्यकक्ष रहने गरी गृहकार्य गरिएको जानकारी दिइन् ।

सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन एकाइ भवनले सिंहदरबार पश्चिम खण्डको रेक्ट्रोफिटको काम गरिरहेको छ । विसं २०७६ बाट सुरु भएको रेक्ट्रोफिटको काम हाल ९५ प्रतिशत सम्पन्न भएको जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *