भैरहवा भन्सारबाट व्यापक तस्करी, संलग्नताको आशंकामा वारेन्ट जारी

डिसी नेपाल
१३ भदौ २०८० १२:४५

भैरहवा। एउटा घटना सेलाउन नपाउँदै अर्को घटना भैरहवा भन्सार कार्यालयमा निरन्तर हुँदै गइरहेको पाइएको छ । भैरहवा भन्सार कार्यालयले २०७८ पुसदेखि लक्ष्यअनुसारको राजश्व असुल गर्न नसकिरहेको बेला कर छलीको लागि विभिन्न गतिविधि भएका घटनाहरु बाहिरिरहेको छ ।

गत जेठको दोस्रो सातामा कीर्ते प्रज्ञापनमार्फत् भन्सार पास गराउन खोज्दा कार्यालयको ४ नम्बर गेटबाट एक ट्रक माछा बरामद भएको थियो । १० जना अरोपितलाई पक्राउ गरि भन्सार कानुनअनुसार कारबाही थाल्यो । त्यसलगतै सोही प्रकृतिको घटना भैरहवा भन्सार कार्यालयमा असारमा दोहोरियो । भारतबाट नेपालका लागि भित्रिएको प्याजसहितको मालबाहक ट्रक भन्सार जाँच पासबिनै बाहिरिन खोज्दा अन्नपूर्ण ट्रमिनलको सुरक्षा गार्डले रोकेका थिए ।  युपी ३१ टी ९९४१ नम्बरको प्याजसहितको ट्रक भन्सारको दोस्रो गेटबाट बाहिरि नै लाग्दा कीर्ते कागज भएको आशंकामा टर्मिनलले रोकेको हो ।

भन्सार छलीकै मनासायले भन्सारमा गत बिहीबार प्लाष्टिकको दाना भनेर भित्र्याइएको ट्रकमा  फरक सामान पाइयो । भन्सार परिसर प्रवेश गर्दा गेटमा स्वघोषणा गरिएकोभन्दा फरक सामान पाइएपछि भैरहवा भन्सार कार्यालयले सामानसहित नेपाली र भारतीय ट्रक अनुसन्धानका लागि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको समयमा सोमबार पनि सोही प्रकृतिको घटना बाहिरिएको छ ।

औषधिको कच्चा पदार्थ भनि भन्सार परिसरमा भित्रिएको ट्रकमा आइतबार राति ३७ पोका कपडा भेटिएको छ । डिएल १ जिसी ४४४६ नम्बरको ट्रक परिसरमा प्रवेश गरि भन्सारका लागि प्रक्रियामा आएको थियो । ३ दिनदेखि सामान देखाउनका लागि भने पनि आनाकानी गरेको पाएपछि शंका लागेर जाँच गर्दा कपडा र जुत्ता चप्पल भेटिएको भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले जानकारी दिए । त्यो घटनामा युपी ८४ टी ५३४७ नं.को ट्रकको पनि संलग्नता पाइएको छ ।

उनका अनुसार घटनामा संलग्न भएको आशंकामा एकजना भन्सार एजेन्टसहित दुईजनालाई पक्राउ गरिएको छ । उक्त ट्रकभित्र रहेका कपडाका पोकामा रक्सौल नाका कोड गरिएकोले उक्त सामान काडमाडौं आसपासको हुनसक्ने भन्सार कार्यालयले आंकलन गरेको छ । तर, पनि रक्सौलबाट जानुपर्ने ट्रक भैरहवा भन्सार हुँदै प्रवेश गर्नुले भित्रैका केही व्यक्तिको सेटिङमा यहाँबाट ट्रकका ट्रक सामान तस्करी भईरहेको छ भन्ने पुष्टि भएको छ ।

आइतबार बेलुका भन्सार गेटबाट प्रवेश गरेको उक्त ट्रकभित्र तोकिएभन्दा फरक सामान रहेको भन्ने गोप्य सूचनाको आधारमा निगरानीमा राखिएको प्रमुख भन्सार अधिकृत पौडेलको भनाइ छ । राति साढे १० बजे सामानको प्रकृति चेकजाँच गर्ने क्रममा पोका खोल्न आलटाल गरेपछि सोमबार बिहानै चेकजाँच गर्ने भनि कर्मचारी घर लागे ।

यही मौका छोपी ट्रकभित्र रहेका १९ वटा पोका रातारात अर्को ट्रकमा स्तानान्तरण गरेको पाइएपछि केहीबेर सोमबार विहानै भन्सारभित्र हल्लिखल्ली चल्यो । खोज्दै जाँदा उक्त ट्रकभित्र रहेका कपडाका १९ वटा पोका युपि ८४ टी ५३४७ नम्बरको ट्रकमा फेला परेकाले दुवै ट्रकलाई नियन्त्रणमा लिईएको पौडेलले जानकारी दिए ।

एउटा ट्रकका सामान औषधिको कच्चा पदार्थ भनेर अन्नपूर्ण टमिर्नललाई घोषणा गरेको थियो भने अर्को ट्रक ७२ घण्टे म्यादभन्दा बाहिर भएकोले आइतबार राति भन्सार परिसरमा आएको थियो । औषधिको कच्चा पदार्थ भनिएको ट्रक शंकास्पद देखिएपछि जाँचका लागि भन्सारले भनिरहदा संलग्नहरुले आइतबार गएको खाली ट्रकमा ती कपडा र जुता चप्पलका सामान व्यवस्थापन गर्दै गरेको अवस्थामा घटना बाहिरिएको हो ।

सामानको मूल्यांकन भइरहेको छ । अनुसन्धानको क्रममा केही व्यक्तिको नाम आएको छ भने केही संलग्नहरु विगतको घटनामा पनि सामेल भएको पाएपछि वारेन्ट नै जारी गरी खोजीको काम भइरहेको भन्सार प्रमुख पौडेलले बताए ।ती तस्करको विवरणसहित सीआईबीलाई अनुसन्धानका लागि पठाइएको उनले बताए । यसमा ठुलो गिरोहको संलग्नता रहेकोले यसलाई संगठित अपराधमा मुद्दा दर्ता गरेर सीआईबीलाई अनुसन्धानका लागि जिम्मा दिने तयारी रहेको पौडेलले जानकारी दिए ।

उनले भने, ‘यो सामान तस्करीको मात्र कुरा होइन यति ठुलो परिमाणमा अवैध ल्याइने सामानको भुक्तानी कुन प्रक्रियाबाट बाहिर गइरहेको छ, यसको पनि अनुसन्धान जरुरी छ ।’ भन्सारका कर्मचारी वा अन्य सम्बन्धित् व्यतिmहरुका विषयमा पनि  मोबाइल कल डिटलदेखि सीसीटीभी क्यामेराका फुटेज गहिरो अनुसन्धान सुरु गरिएको उनको भनाइ छ । उनले भने, ‘सन् २००२ देखि यहाँ  विभिन्न सेक्टरमा काम गरिरहेका पुराना कर्मचारी छन्, यसमा सेटिङ नहोला भन्न सकिँदैन । हामी सुक्ष्म अनुसन्धानमा छौँ ।’

विगतको घटनाको कारबाही सम्बन्धमा १३ जनालाई अनुसन्धानपश्चात कारबाही गरिएको भन्सारले जानकारी दिएको छ । जसमध्ये चारजना धरौटीमा रिहा भएका छन् भने नौजना धरौटी रकम जम्मा गर्न नसक्दा थुनामै छन् । थप तीन जनाको नाममा पक्राउ पुर्जी जारी गरिएको छ ।

नेपाल राष्ट्र बैंकको पछिल्लो निर्णय दोस्रो मुलुकबाट व्यापार गर्ने जुनसुकै कम्पनीले अनिवार्य एलसी खोल्नुपर्ने भएपछि झन्झटिलो प्रक्रिया भन्दै साना व्यापारीहरुले तस्करको सहारा लिएको भन्सार प्रमुखको तर्क छ । अहिले सिजन पनि देशमा  कपडाको माग बढ्दो र वैधानिक आयात झन्झटिलो भएकोले तस्करले ठाउँ पाएका उनले बताए । खुला सीमानाकाका कारण  भन्सारमा चोरी तस्करी बढेको र नेपाली बजार सुकेको भन्दै सर्वसाधारणलाई १ सय रुपैयाँमाथिको सामानको भन्सार शुल्क लिइने गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *