भ्रममा नपरौं, सञ्जालका सबै विषय समाचार होइनन्: अध्यक्ष बस्नेत

डिसी नेपाल
१९ भदौ २०८० ७:५१

काठमाडौं। प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै सञ्चार माध्यमको प्रस्तुति र भूमिकालाई परिस्कृत गर्न जरुरी भएकाले यसतर्फ ध्यान दिन सञ्चार माध्यमलाई सुझाव दिएका छन्।

व्यक्तिले प्रयोग गर्ने सञ्जालमा राखिएका सामग्रीले भ्रम छर्दै गएको तर्फ सञ्चार माध्यम सजग बन्दै विश्वसनीय पत्रकारिता गर्नुपर्ने उनको भनाइ छ।
‘कोही पनि भ्रममा नपरौं। सामाजिक सञ्जालमा पस्किएका सबै विषय समाचार होइनन्। तर, त्यस्ता विषयवस्तुले जनमानसलाई झुक्याइरहेका छन्।

सञ्चार माध्यमले आफ्ना तथ्यपूर्ण र विश्वसनीय प्रस्तुतिबाट यस्ता भ्रम हटाउन सक्नुपर्छ’ अध्यक्ष बस्नेतले सोमबार नयाँ खुलेका अनलाइन सञ्चार माध्यमका सम्पादक, प्रकाशकलाई काउन्सिलमा दिइएको अभिमुखीकरणका क्रममा भने।

उनले आधारहीन विषयवस्तु र हुबहु चोरी गरी समाचार बनाउने कतिपय अनलाइनले पत्रकारिता जगतमै हिलो छ्यापेकाले तिनलाई काउन्सिलले कारबाही गर्दै आएको जानकारीसमेत दिए।

अभिमुखीकरणका सहभागीलाई पत्रकार आचारसंहिता र सञ्चार निर्देशिकाहरुमा केन्द्रित रही प्रस्तुति राखिएको थियो। डिजिटल मिडियाले ल्याएको चुनौती र सञ्चार माध्यमले ध्यान पुर्‍याउनुपर्ने विषयबारे काउन्सिलका पूर्व कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकी र नेपाल टेलिभिजनका समाचार प्रमुख पुष्पहरि क्याम्पा राईले प्रकाश पारेका थिए।

कार्यक्रममा विभिन्न ३२ सञ्चार माध्यमका सञ्चालक/सम्पादकको सहभागिता थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *