नेपाली संगीत क्षेत्रमा आर्जन डाइनामिक्सको उदय

548
Shares

नेपाली साहित्य, संगीत र कलाको सृजनामा स्वदेश तथा विदेश दुवैतिर बसोबास गर्ने नेपालीहरूले उल्लेख्य योगदान गरेका छन्। नेपाली कला र संगीतलाई संसारभर लोकप्रिय बनाउन प्रवासी नेपालीको भूमिका पनि उल्लेख्य छ।

यी सबैको अनवरत प्रयासबाट नेपाली कला र संगीत आजको स्थितिमा पुग्न सकेको हो। भारतको दार्जिलिङ, सिक्किम, आसाम, देहरादुन लगायतका विभिन्न स्थानमा बसोबास गर्ने नेपालीहरूले साहित्य, संगीत जस्ता कला सृजनामा प्रसंशनीय र अनुकरणीय देन दिएका छन्।

गोपाल योञ्जन, शान्ति ठटाल, अरुणा लामा, दीपा गहतराज, अम्बर गुरुङ जस्ता कालजयी गायक तथा हरिभक्त कटुवाल जस्ता सर्जक प्रवासबाटै उदाएका हुन्।

धर्मराज थापा, नारायणगोपाल, तारादेवी (डोलकुमारी कार्की) जस्ता नेपाली संगीतका नक्षत्रहरूले पनि प्रवासी नेपालीहरूबाटै उल्लेख्य प्रोत्साहन र ऊर्जा प्राप्त गरेका थिए। आजभोलि युरोप, अमेरिका, अस्ट्रेलिया र अन्य देशमा बसोबास गर्ने नेपालीहरूले पनि नेपाली संगीत र साहित्यमा उत्साहजनक चासो देखाउन थालेका छन्।

यसै पृष्ठभूमिमा अमेरिकाको बिस्कन्सिन राज्यको राजधानी मेडिसनमा केही उत्साही नेपालीहरूले स्थापना गरेको आर्जन डाइनामिक्स प्रोडक्सनको प्रसंग यहाँ चर्चा गर्न खोजिएको हो।

बिस्कन्सिनको मेडिसन सहर नेपालीहरूका लागि विगतदेखि नै आकर्षक गन्तव्य स्थल हो। उक्त स्थानमा बसोबास गर्नेमा चिकित्सक, इन्जिनियर, वकिल, आमसञ्चार तथा प्रविधिका विशेषज्ञ, प्रशासक र व्यवसायीको संख्या उल्लेख्य छ।

त्यहाँ नेपालीहरूले आफ्नै अनौपचारिक समिति बनाई नेपाली साहित्य, संगीत र संस्कृतिका क्षेत्रमा सत्संग गर्ने गरेका छन्। उनीहरू नेपाली बालबालिकाहरूका लागि अनलाइनमार्फत नेपाली पढाउने कार्यमा पनि सक्रिय छन्। जुन धेरै नेपाली बालबच्चाका लागि उपयोगी सिद्ध भइरहेको छ।

नेपाली चाडपर्वहरू संयुक्त रूपमा भेला भई मनाउने विशिष्ट परम्पराको थालनी भएको छ। त्यस स्थानको बिस्कन्सिन विश्वविद्यालय अमेरिकाकै एक विशिष्ट शैक्षिक प्रतिष्ठान हो। नेपालबाट उक्त विश्वविद्यालयमा अध्ययन तथा तालिमका लागि जानेहरूको संख्या पनि उल्लेख्य छ।

प्रसिद्ध गीतकार कालीप्रसाद रिजाल जस्ता सर्जकहरूले सोही विश्वविद्यालयमा अध्ययन गरेका हुन्। सोही विश्वविद्यालयमा अध्ययन गरेर उतै घरजम गरी बसोबास गर्नेहरू पनि निकै छन्। मेडिसिनको नेपाली समाजको यही विशेषताका कारण आर्जन डाइनामिक्स स्थापना हुन पुगेको हो, भन्न सकिन्छ।

आर्जन डाइनामिक्स प्रोडक्सनको स्थापना १६ डिसेम्बर २०२१ मा मेडिसिनमा भएको थियो। यसका संस्थापक सदस्यमा निकिता पाण्डेय, अर्चना धाख्वा र सिर्जन श्रेष्ठ रहेका छन् भने शुभेच्छुक सदस्य ५० जना रहेका छन्।

संस्थापक सदस्यहरू तीनैजना प्राविधिक क्षेत्रमा संलगन छन्। सृजन श्रेष्ठ नेपालबाटै उक्त संस्थासँग जोडिएका हुन्। संस्थाको उद्देश्य नेपाली साहित्य र संगीतलाई प्रवासबाट यथोचित प्रयास गरी समृद्ध बनाउने रहेको छ।

नेपालमा रहेका र अमेरिकामा बसोबास गर्दै रहेका साहित्य र संगीतका रचनाकार तथा गायकहरूलाई प्रोत्सान गर्नसमेत संस्था अग्रसर भएको देखिन्छ।

नेपाली भाषामा मात्र नभएर नेपालका अन्य मातृभाषामा समेत संगीत साधना गर्ने गराउने लक्ष्य संस्थाले राखेको छ। भविष्यमा यस संस्थाले आर्जन गरेको आय गीतसंगीतकै प्रवर्धनमा खर्च गरिने सोच रहेको बताइएको छ।

हाल संस्थापक सदस्यहरू आफैले लगानी गरिरहेको उक्त संस्था नाफामुखी नभएको र नेपालका विभिन्न भाषाका साहित्य र संगीतको जगेर्नालाई प्रोत्सान गर्ने एकमात्र दीर्घकालीन योजना रहेको संस्थापक सदस्य अर्चना धाख्वाले बताइन्।

संगीतलाई नै सर्वाधिक प्राथमिकता दिने संस्थाको लक्ष्य रहेको र आधुनिक, लोक, भजन तथा पप सबै विधाका संगीतमा क्रियाशील रहिरहने सोच रहेको जानकारी संस्थापक निकिता पाण्डेले गराइन्। संस्थापक सदस्य अर्चना धाख्वा २० वर्षदेखि सोही स्थानमा रहेर नेपाली र नेवारी भाषा साहित्यको क्षेत्रमा क्रियाशील रहेकी छन्।

उनले कुशल गीतकार र गायिकाको समेत पहिचान बनाइसकेकी छन्। संस्थापकमध्येका अर्का सृजन श्रेष्ठ पनि गायन तथा संगीतका क्षेत्रमा स्थापित भइसकेका व्यक्तित्व हुन्। त्यसैगरी संस्थापक निकिता नेपाली बालबालिकालाई नेपाली शिक्षा र नृत्य सिकाउने कर्ममा संलग्न भएकी साहित्य साधक हुन्।

आर्जन डाइनामिक्सले आफ्नो पहिलो सांगीतिक प्रस्तुति मार्च १५, २०२२ मा तिम्रो गीतबाट प्रारम्भ गरेको थियो। भ्वाइस अफ नेपाल सिजन वानका विजेता विजय अधिकारीको स्वरको गीत अक्टोबर २०२३ मा रिलिज हुन लागेको जानकारी संस्थापक निकिताले गराएकी छन्।

उक्त संस्थाले हालसम्म पप गीत, नेपाली आधुनिक गीत, नेवारी गीत तथा भजन गरी ५वटा गीत प्रसारण गरिसकेको छ भने ५वटा गीत प्रसारणको तयारीमा छन्।

जीवन विज्ञान फाउन्डेसनकी प्रशिक्षक श्रीमती सुमिता पोखरेलको भक्ति भजन निकै चर्चित हुन पुगेको छ। अमेरिकामा रहेका सम्पूर्ण नेपाली र संगीतप्रेमीका लागि यो संस्था अनुकरणीय हुन पुग्ने अपेक्षा गर्न सकिन्छ।

सन् २०२३ को अमेरिका भ्रमणको सिलसिलामा मेडिसन पुग्दा र त्यहाँका नेपालीहरूसँग परिचित भई आर्जन डाइनामिक्स प्रोडक्सनका विषयमा विशेष जानकारी पाउँदा यस पटकको बिस्कन्सिन यात्रा सार्थक भएको अनुभूति गरेको छु।

उक्त संस्थाले आफ्नो उद्देश्यअनुरूप कार्यसम्पादन गर्न सकोस्, यही मेरो शुभकामना। नेपाली संगीत र साहित्य नेपालका लागि मात्र होइन, सबै नेपालीका लागि हो भन्ने विचार प्रवाह गर्न समर्थ रहेकोमा संस्थालाई विशेष साधुवाद।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *