पर्वले धार्मिक सहिष्णुता एवं भातृत्व विकासमा टेवा पुग्छ : प्रदेश प्रमुख शर्मा
मकवानपुर। बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रकृतिपूजक चेपाङ समुदायको महत्त्वपूर्ण पर्व छोनाम अर्थात् न्वागीका अवसरमा बागमती प्रदेश तथा देशका विभिन्न जिल्लामा बसोबास गर्ने चेपाङ दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्।
उनले आज शुभकामना सन्देश जारी गर्दै नयाँ अन्न खाने दिनका रूपमा मनाइने न्वागी पर्व चेपाङ जातिको जीवनशैली र संस्कृतिसँग जोडिएको उल्लेख गरेका छन्।
“भिरपाखामा बस्न रुचाउने चेपाङ समुदायले पाखापखेरामा लगाएको मकै, धान र फलफूल भदौमा पाक्ने भएकाले यही महिनामा न्वागी धुमधामसँग मनाउने गरिएको हो”, सन्देशमा भनिएको छ, “छरछिमेकी, नाताकुटुम्ब निम्ता गरी सामूहिक भोज, नाचगानसहित रातभर जागा बस्ने र सुखदुःख साट्ने पर्वका रूपमा न्वागीलाई लिइन्छ ।”
चेपाङ समुदाय नेपालको बागमती प्रदेशको चितवन, मकवानपुर र धादिङ तथा देशका अन्य विभिन्न ३१ जिल्लामा बसोबास गर्दछन् । यस्ता पर्वले धार्मिक सहिष्णुता एवं भातृत्व विकासमा टेवा पुग्ने प्रमुख शर्माको भनाइ छ । उनले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विविधताले भरिपूर्ण नेपालमा न्वागीजस्ता पर्वले विविधताभित्र एकता, धार्मिक सहिष्णुता एवं भातृत्व विकासमा महत्त्वपूर्ण टेवा पुर्याउने बताए।
सन्देशमा भनिएको छ, “चेपाङहरूको भाषा, धर्म, संस्कृति र परम्पराको संरक्षण गर्न यो पर्वले महत्त्वपूर्ण भूमिका खेल्दछ ।”
No ads found for this position


डिसी नेपाल
Facebook Comment