छोराछोरीलाई विदेश पठाएर कसको लागि समृद्धि ल्याउन चाहन्छन् नेता र कर्मचारी ?

काठमाडौं। नेपालका अधिकांश नेताका छोराछोरी स्वदेशमा भविष्य नदेखेरै बाहिरिएका छन्।
यसको पछिल्लो दृष्टान्त मंगलबार निधन भएका भएका एमाले उपाध्यक्ष तथा संसदीय दलका नेता एवं संविधानसभाका अध्यक्षका दुई छोरा नै विदेशमा रहेकाले उनको अन्तेष्टि एक दिन पछि गर्न लागिएको छ।
मंगलबार उनको आकस्मिक निधन पछि अन्तिम संस्कारका लागि विदेशमा रहेका उनका छोराहरु आउन भएको ढिलाइले एक दिन रोकेर किरात संस्कृति अनुरुप अन्त्येष्टि गर्ने तयारीमा परिवारजन लागेको छ।
उनलाई राजकीय सम्मानसहित अन्त्येष्टि गर्दै एक दिन सार्वजनिक बिदा दिने सरकारले निर्णय गरिसकेको छ। अष्ट्रेलिया र बेलायतमा रहेका उनका दुई छोरा बुधबार आएपछि नेम्वाङको अन्त्येष्टि गरिने बताइएको छ।
नेपालका अधिकांश नेता र उच्चतहका कर्मचारीका सन्तान उच्च शिक्षा र रोजगारीका लागि विदेशमा छन्। उनीहरु कतिपय अध्ययन पछि ज्ञान सीपसहित स्वदेश फर्किए पनि अधिकांश उतै सेटल भएको देखिएको छ।
छोराछोरीलाई विदेश पठाउन लालायित नेपालका कर्मचारी र नेताहरुले कसको लागि राष्ट्र निर्माण गरिदिने हुन्? भन्ने प्रश्न समेत नेपाली राजनीतिक वृत्तमा उब्जिएको छ।
एमाले उपाध्यक्ष नेम्वाङको निधन पछि किरात धर्मको मुन्धुम संस्कृति अनुरुप गरिने उनको अन्त्येष्टि दुई छोराहरुको अनुपस्थितिमा रोकिएसँगै यो विषय पेचिलो रुपमा सामाजिक सञ्जालमा उठेको छ।
नेपालका उच्चतहका नेताहरुका सन्तान अधिकांश स्वदेशमा छैनन्। स्वदेशमै रहेकाहरुको पनि गतिलो छवि छैन। उनीहरु अनेक काण्डमा मुछिएका छन्।
हालसालै चर्चित सुन काण्डमा माओवादी नेताका सन्तानहरु यसमा जोडिएका छन्। पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महराका कान्छा छोरा राहुल यस प्रकरणमा प्रहरी हिरासतमै रहेका छन्।
अर्का माओवादी जनयुद्धको समयमा लडाकु कमाण्डर रहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पनि यही प्रकरणमा मुछिएका छन्। उनलाई केही दिन अघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)ले बयान लिइसकेको छ।
पूर्व माओवादी नेता रामबहादुर थापा बादलकै छोरा प्रतीक थापा हालसम्मै फरार छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न देखिएका उनलाई प्रहरीले फरारको सूचीमा राखेर खोजी गरिरहेको जनाएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवा पनि स्वदेशमै सेनेटरी प्याडको आयात गरी व्यापार गर्ने गर्दछन् । उनको अनुकुलताका लागि यसअघि देउवा सरकारले प्याड आयात गर्दा कर छुट दिने निर्णय गराएकाे थियाे।
देउवाले आफू प्रधानमन्त्री हुँदा स्वदेशी प्याड उत्पादनलाई निरुत्साहीत गर्दै विदेशी प्याड आयातमा कर छुट दिने निर्णय गराएपछि निकै आलोचना भएको थियो ।
यस्तै एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलका छोरा स्वराज पोखरेल पनि सुन काण्डमा पक्राउ परेका दावा छिरिङको व्यापारिक साझेदार रहेको उल्लेख गर्दै सञ्चारमाध्यमले समाचार प्रकाशित गरेका थिए।
सुन काण्डमा पक्राउ परेका तिब्बती मूलका बेल्जीयन नागरिक दावा छिरिङले आफ्नो व्यापारिक साझेदार इश्वर पोखरेलका छोरा स्वराजसहित बादलपुत्र प्रतीक थापा रहेको प्रहरी समक्ष बयान दिएको समाचार प्रकाशित भएको थियो।
यद्यपि एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले आफ्नो छोराको व्यापारिक साझेदारी नरहेको भन्दै प्रेस विज्ञप्ति मार्फत उक्त समाचारको खण्डन गरेका थिए ।
नेपालमा रहेका नेताका सन्तानहरु अनेक काण्डमा मुछिएर विवादित बनेका छन् भने अधिकांश नेतासहित उच्च पदस्थ कर्मचारीले आफ्ना सन्तानको भविष्य स्वदेशमा नदेखेरै अधिकांशले विदेशमा सेटल गर्ने गरेको पाइएको छ।
केही दिन अघि हङकङ जान लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग गृह सचिव दिनेश भट्टराईले छोरीलाई विदेश पठाउन लागेको बताएका थिए।
उनले विमानस्थलको प्रस्थान कक्षमा बिदाइ गर्दा आफूले सोही समयमै भेट गरेको जानकारी दिँदै सचिवले आफ्नो छोरी उच्च शिक्षाका लागि विदेश पठाउन लागेको बताएका हुन्।
माओवादीका नेता देवेन्द्र पौडेल शिक्षा मन्त्री भएकै बखत उनले आफ्नी छोरीलाई विदेश पठाउन विमानस्थलमा पुगेको तस्विर निकै आलोचना भएको थियो।
उनी आफैं शिक्षामन्त्री हुँदा छोरीलाई उच्च शिक्षाका लागि अमेरिका पठाउँदै गरेको तस्विरलाई लिएर अधिकांशले आलोचना गरेका थिए।
शिक्षा मन्त्री नै सन्तान विदेश पठाउन उद्दत भएको देशमा कसरी शिक्षामा आमूल परिवर्तन हुन्छ? भन्दै उनीमाथि प्रश्न उठेको थियो।
उनले यसबारेमा सार्वजनिक रुपमा समेत प्रतिक्रिया दिन बाध्य भएका थिए। आफ्नो बचाउ गर्दै पौडेलले छोरीकै क्षमता अनुरुप आफैले प्रतिस्पर्धात्मक परीक्षा उत्तिर्ण गरेरै विदेश पढ्न गएको बताएका थिए।
पौडेलसहित माओवादीका नेताहरु जनार्दन शर्मा, शक्ति बस्नेतलगायत अधिकांशका सन्तानहरु विदेशमै छन्। स्वदेशमा भएका माओवादी नेताहरुको सन्तानको हर्कतले हद नै नाघिसकेको छ।
विदेशमा छोराछोरी समुचित भविष्य व्यवस्थापन गर्दै नेपाल समृद्ध बनाउने दाबी गर्दै हिँडेका नेपाली नेताहरुको चर्तिकला बिचित्रको छ। आफ्ना सन्तानको भविष्य मुलुकमा नदेखेरै विदेश धपाउँदै स्वदेश बनाउने उनीहरुकोे दाबी अपत्यारिलो मात्रै होइन, हास्यास्पद छ।
माओवादी नेता देवेन्द्र पौडेलकी छोरी उच्च शिक्षा अध्ययनका लागि अमेरिका प्रस्थान गर्दै : फाइल फाेटाे
Facebook Comment