संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीले पृथ्वीविचार बोल्नु पर्छ

खगेन्द्रराज सिटौला
२९ भदौ २०८० १४:५६

नेपालका प्रधानमन्त्री संयुक्त राष्ट्र संघको महासभालाई सम्वोधन गर्न राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा जाने समाचार सार्वजनिक भएको छ।

संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीले सम्वोधन गर्दा यसपाली भने सधैं जस्तै औपचारिकता मात्र पूरा गरेर प्रधानमन्त्री फर्कनु हुँदैन। यसपाली प्रधानमन्त्रीले उक्त महासभामा नेपाली विचारको सगरमाथा खडा गरेर मात्र फर्कनु पर्दछ।

यो महासभामा नेपालका प्रधानमन्त्रीले नेपालका जेष्ठ नेताका श्रेष्ठ विचार संयुक्त राष्ट्र संघको महासभामा पस्केर नेपाली विचारको श्रेष्ठतालाई अन्तर्राष्ट्रियकरण गर्नु पर्दछ। यसले नेपालको उचाई र गरिमालाई बढाउने छ।

त्यो भनेको नेपालका प्रधानमन्त्रीले महासभामा पृथ्वीविचार बोल्नुु पर्दछ। अर्थात प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको महासभालाई दिन नेपालबाट पृथ्वीविचारको कोशेली लिएर जानु पर्दछ।

पृथ्वीविचार भनेको के हो भनेर नेपालका प्रधानमन्त्रीलाई अवश्य अलमल नहोला। प्रधानमन्त्रीले नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाहले नेपाल जोगाउने र जगाउने उद्देश्यले अघि सारेका विचारलाई पृथ्वीविचार भनिन्छ भनेर अवश्य सम्झेको हुनु पर्दछ।

नेपालका प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दा विश्व शान्ति, जातीय समानता, एकता, सामाजिक न्याय, सुशासन, अनिकालरहित विश्व आदि जस्ता महत्वपूर्ण विषयमा प्रवेश गर्दा पृथ्वीविचारलाई लिएर प्रवेश गर्नु पर्दछ।

संयुक्त राष्ट्रसंघमा आउनु पर्ने र उठ्नु पर्ने धेरै समस्या या मुद्दालाई नेपालको पृथ्वीविचारले सम्बोधन गर्न सक्ने हैसियत राख्दछ।

पृथ्वीविचार नेपालको नेता विचार हो भन्ने यथार्थता नेपालको धेरै नेता तथा सरकारका प्रधानमन्त्री लगायत पदाधिकारीहरुमा जानकारी नभएकोले उनीहरुले यसको गहिराई तथा व्यापकता ठम्याउन सकेका छैनन्।

विचारको साँघुरो घेराभन्दा माथि उठ्न नसकेका नेपालका सतही नेताहरुले पृथ्वीविचारको गहिराई तथा व्यापकता मापन गर्न नसक्नु स्वभाविकै हो। तर यसपाली बुझ्नु पर्छ र विचारको श्रीखण्डलाई संयुक्त राष्ट्रसंघको महासभामार्फत विश्वका सबै राष्ट्रहरुमा प्रवेश गराएर नेपालको वौद्धिक उचाइलाई विश्वव्यापी स्थापित गर्नुपर्दछ।

आफ्नो सम्बोधनमार्फत महासभामा यसरी प्रवेश गराउन सक्छन् प्रधानमन्त्रीले पृथ्वीविचारलाई। प्रधानमन्त्रीले नेपालको प्राचीन सभ्यता इतिहास प्रकृति र संस्कृतिको विविधता र सुन्दरताको बखानसँगै आफ्नो सम्वोधन अघि बढाउने छन्। त्यही संन्दर्भमा नेपालमा यति जाति र भाषा भाषी सदिऔंदेखि मिलेर एककिसिमले घुलमिल भएर बसेको सुन्दर पक्षलाई प्रस्तुत गर्नेछन्।

यसलाई अझ सुन्दर बनाउन संविधानमा अल्पसंख्यक जाति तथा भाषा भाषीको लागि आरक्षणलगायत गरिएका अन्य व्यवस्थाको बखान गर्ने छन्।

अनि प्रधानमन्त्रीले गर्वको साथ घोषणा गर्ने छन् यति धेरै जातीय तथा भाषिक विविधता भएको मुुलुक भए पनि नेपाल मात्रै यस्तो देश हो जहाँ आन्तरिक रुपमा कहिल्यै जातीय, धार्मिक, क्षेत्रीय द्वन्द्व भएको छैन। एउटा जातिको वा राज्यको दमनले, अत्यचारले वा भेदभावले भनेर शरणार्थी भएर एकजना नेपाली पनि आन्तरिक वा वाह्य शरणार्थी भएर गएको छैनन्।

यसको मुल कारण पृथ्वीविचार र व्यवहार हो भनेर अथ्र्याउने छन् विश्व समुदायलाई। नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाहले नेपाल सबै जातको साझा फूलबारी भनेर उद्घोष गरे। यो जातीय एकता, समानता र सद्भावनाको लागि अहिले सम्मकौ सुन्दर अभिव्यक्ति हो।

त्यसैले संयुक्त राष्ट्रसंघको सदस्य रहेको मुलुक नेपालका संस्थापक नेताले आज भन्दा २५० वर्ष अगाडि दिएको विचार जातीय एकता र सद्भावनाको लागि अहिले पनि सबै मुलुकको लागि सबभन्दा सुन्दर नारा हुन्छ।

अत म नेपालको प्रधानमन्त्रीको हैसियतले यो ‘राज्य सबै जातको साझा फूलबारी हो’ लाई संयुक्त राष्ट्रसंघको नारा बनाऔं र संयुक्त राष्ट्रसंघमार्फत सबै सदस्य राष्ट्रले आआफ्नो राज्यलाई सबै जातको साझा फूलबारी उद्घोष गरौं।

र संयुक्त राष्ट्रसंघले उपयुक्त मितिमा हरेक वर्ष जातीय एकता तथा सद्भावना दिवश विश्व सबै जातको साझा फूलबारी हो भन्ने नाराको साथ मनाउनको लागि नेपालका प्रधानमन्त्रीको हैसियतले प्रस्ताव राख्नु पर्दछ। नेपालका प्रधानमन्त्रीले हाम्रो विश्व राम्रो विश्व सबैको साझा पूmलबारी नारा संयुक्त राष्ट्रसंघलाई दिएर आउनु पर्दछ।

दोस्रो नेपाल अनाक्रमण रक्षात्मक र रचनात्मक परराष्ट्र नीतिमा विश्वास राख्दछ। नेपाल अनाक्रण परराष्ट्र नीतिलाई आफ्नो मौलिक सम्पति मान्दछ। यो नीति नेपालको स्थापना कालसँगै जन्मेको नीति हो।

नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाहले नेपालको लागि मात्र होइन सबै र सधैंको लागि उपयोगी भइरहने अनाक्रमण परराष्ट्र सिद्धान्त दिएका छन्। आज यो सिद्धान्त संयुक्त राष्ट्रसंघको सम्पति भएको छ। विश्व शान्तिको लागि नेपाल अनाक्रमण परराष्ट्र सिद्धान्तलाई व्यावहारमा जोडिरहन कृत संकल्प छ। साथै विश्व शान्तिको लागि अनाक्रमण परराष्ट्र नीतिलाई कडाईकोसाथ पालन गर्न अपिल गर्दछ।

तेस्रो- एकतिर विकासका संरचना, शहर बजार मानव वस्ती बढिरहने अर्को तिर खाद्य पदार्थको अभाव बढिरहने अनिकालबाट लाखौं मानिसलाई बचाउने चुनौती छ। अर्कोतिर माथि उल्लेख गरिएका कारणले खेतियोग्य जमिनमाथि अनियन्त्रित चाप बढिरहेको छ।

खेतीयोग्य जमिन बचाउने विश्वसंस्था विश्वसमुदाय, हामी हरेक राष्ट्र र साँचो अर्थमा मानव समुदायको लागि नेै गम्भीर चुनौती भएर उभिएको छ।
यसरी आउने चुनौतीलाई २५० वर्ष अघि नै हाम्रा राष्ट्रनिर्माताले देखिसकेका थिए। र उनले खेतीयोग्य जमिन जोगाउन हामीलाई निर्देशन दिएका थिए।

हामीले हाम्रा दूरदर्शी नेताको निर्देशनलाई मनन गर्दै खेतियोग्य जमिन जोगाउन विशेष योजना अधि सारेका छौं। आज यो साझा संस्थामा आवद्ध रहेका हरेक सदस्य राष्ट्रहरुले आ-आफ्ना मुलुकमा खेतियोग्य जमिन जोगाउने योजना, नीति चेतना र कार्यक्रम सधनरुपमा अघि बढाउनु अनिवार्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आवश्यकता भै सकेको छ।

अत हाम्रो संयुक्त राष्ट्रसंघ तथा यो अन्तर्गत रहेको विश्व खाद्य संगठनले विश्वव्यापी खेतियोग्य जमिन जोगाउने विशेष कार्यक्रम अभियानको रुपमा सन्चालनमा नल्याएमा मानव जातिको अस्तित्वमा नै गम्भीर संकटमा पर्ने हुनाले सबैको ध्यान यतातिर आकृष्ट गर्न चाहन्छु। खेतीयोग्य जमिन जोगाउने पृथ्वीविचारलाई यसरी प्रवेश गराउने छन् प्रधानमन्त्रीले।

चौथो, द्वन्द्वको कारण र निराकरण पनि पृथ्वीविचरले दिएको छ। अशान्ति र द्वन्द्वको कारण कुशासन र अन्याय सहितको राज्य तथा समाज व्यवस्था भएकोले कुशासन रहित र अन्याय रहित राज्य तथा समाज व्यवस्थाको लागि २५० वर्ष अघि नै हाम्रा राष्ट्रनिर्माताले दिएको निर्देशन म सम्झन चाहन्छु भनेर प्रधानमन्त्रीले यो विषयमा प्रवेश गर्नु पर्दछ।

भ्रष्टाचार कुशासनको पहिलो पहिचान भएकोले यसमाथि राज्य तथा नेतृत्व निर्मम हुनुपर्दछ भन्ने राष्ट्रनिर्माताको निर्देशन विचारलाई मनन गर्दै हामी कानुन तथा राज्यका सबै अंगमार्फत भ्रष्टाचारलाई चौतर्फी प्रहार गर्ने नीति बनाएका छौं।

म यो महासभामार्फत विश्वका कुनै पनि बैक तथा वित्तीय संस्था वा लगानी संस्थाहरुले कुनै पनि मुलुकका कुनै पनि व्यक्ति वा संस्थाले सम्बन्धित मुलुकको आधिकारिक संस्थाले वैधानिक सम्पति प्रमाणित गनरे सम्म अबिष्कार गर्ने भ्रष्टाचार विरोधी महासन्धी गरियोस् भन्ने प्रस्ताव राख्दछ भन्नु पर्दछ नेपालका प्रधानमन्त्रीले।

अन्याय र भेदभावरहित राज्य तथा समाज व्यवस्थाको लागि हामीले संवैधानिक कानूनी तथा व्यवहारिक सबै किसिमले कदम चालेका छौं भनेर संविधानका केही वुँदा उल्लेख गरे पनि हुन्छ।

पाँचौ जडीबुटीको क्षेत्रबाट महासभामा पृथ्वीविचारलाई प्रवेश गराउनु पर्दछ प्रधानमन्त्रीले। जडीबुटी आयुर्वेदिक, यलोपेथिक, होमियोपेथिकलगायत सबै औषधि विज्ञानसँग जोडिएर आउने अनिवार्य तत्व हो। नेपालका राष्ट्रनिर्माताले जडीबुटी उत्पादन, निर्यातगर्ने आम्दानी गर्ने नगदेबालीको रुपमा पहिचान गरेका थिए।

मानव जीवन, स्वास्थ्य तथा औषधि विज्ञानको लागि अनिवार्य आवश्यकता पर्ने जडीबुटीको अध्यायन, अनुसन्धान, उत्पादन, संरक्षण र व्यापारसमेत सबै एउटै डालो याने प्याकेजमा काम गर्नलाई यो संस्थामार्फत जडीबुटी दिवश मनाउन प्रस्ताव गर्दछु भनेर नेपालका प्रधानमन्त्रीले ताली खाने वातवरण बनाउनु पर्दछ।

भविश्यमा जडीबुटीको उत्पादको प्रचुर संभावना बोकेको नेपालमा जडीबुटी सम्बन्धी अध्यायन अनुसन्धान उत्पादनलगाययत सबै किसिमले सकारात्मक परिणाम निकाल्नको लागि नेपालमा निकट भविश्यमा जडीबुटी विश्वविद्यालय स्थापना गर्ने योजना बनाउँदै छौं। यस्ता विश्वविद्यालयलाई हामी यो संस्था लगायत सबै मित्रराष्ट्रको सहयोगको वा सहकार्यको आह्वान गर्दछौं।

बग्ने शुद्ध खानेपानी नेपालका राष्ट्रनिर्माताको प्राथमिकता थियो। यसको प्रसंग ल्याएर बग्ने पानीको स्रोत हिमाल जोगाउने कार्यक्रम बारे बोल्न सक्छन्। सीप शिक्षा र स्वदेशी उत्पादन बारे बोल्न सक्छन्। धेरै छन पृथ्वीविचारका विषयहरु जसले संयुक्त राष्ट्रसंघका हरेक समस्यालाई नीतिगत तथा व्यवहारगत सम्वोधन गर्न सक्छन्।

नेपाल राष्ट्रका जग पृथ्वीनारायणलाई उचालेमा नेपाल उचालिन्छ। नेताहरुले पृथ्वीनारायणलाई खसालेर आफूलाई उचाल्न चाहे भने देशसँगै उनीहरु पनि खस्नेछन्। हाम्रो नेपाल शक्ति र गोर्खाली ख्यातिको स्रोत व्याक्ति पृथ्वीनारायण नै हुन्।

पृथ्वीविचार संयुक्त राष्ट्रसंघ मार्फत पृथ्वी भरि फन्का मार्न सक्यो भने उ त्यहाँ एकलै फन्का मारिरहेको हुँदैन सँगसँगै नेपाली बुद्धि सौर्य र प्रतिष्ठा बोकेर चन्द्रसूर्य अंकित रातो झण्डा पनि फन्का मारिरहेको हुनेछ। सबैलाई चेतना भया।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *