काेशीमा आन्दाेलन गर्न विदेशीको सहयोगमा काठमाडौंदेखिका मानिस ल्याउन थालियाे : मुख्यमन्त्री कार्की

डिसी नेपाल
६ असोज २०८० २२:१७

सुन्दरहरैँचा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एमालेका अगाडि धेरै समस्या नरहेको बताएका छन् । प्रगतिशील तथा पेशागत कानुन व्यवसायी सङ्घ (पिपीएलए)को कोशी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै उनले कोशीमा एमालेले हार्ने सिट सङ्ख्या थोरै मात्रमा रहेको दाबी गरे ।

मुख्यमन्त्री कार्कीले भने, “कोशी नामकरणको विषयमा सिङ्गो एमाले जसरी जुरूक्क उठ्नुपर्थ्यो, त्यसरी उठेन, बरू एमालेका कतिपय कार्यकर्ता नामकरणको विरोधमा लेख्ने र बोल्ने काममा सहभागी भएको पाइयो ।” तत्कालीन प्रदेश नं १ को कोशी नामकरण ठीक भएको तथा यसबाट डराउनुपर्ने अवस्था नरहेको पनि उनले प्रस्ट पारे ।

कोशी नामकरणविरूद्ध जबर्जस्ती आन्दोलन उठाइएको बताउँदै उनले स्थानीयस्तरबाट आन्दोलन उठ्न नसकेपछि अहिले विदेशीको सहयोगमा काठमाडौंदेखिका मानिस ल्याउन थालिएको दाबी गरे । उनले यहाँ पनि भारतको मणिपुरमा जस्तै जातीय र सामुदायिक दङ्गा भड्काउन केही शक्तिले खोजिरहेको आरोपसमेत लगाए ।

मुख्यमन्त्री कार्कीले कोशी नामकरणको विषयमा पुराना सबै राजनीतिक दलहरूले आ–आफ्नो धारणा सार्वजनिक गरे पनि राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा प्रस्ट नआएकामा आश्चर्य व्यक्त गरे । सो अवसरमा कोशी प्रदेशका विभिन्न जिल्लाबाट सहभागी हुन आएका कानुन व्यवसायी सहभागी थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *