व्यवस्थाप्रतिको विकर्षण : पूर्वराजाको पक्षमा जनउभार, नेताहरुलाई खुकुरी प्रहार

डिसी नेपाल
९ असोज २०८० १२:०४

काठमाडौं। नेपालबाट संवैधानिक राजतन्त्रको अन्त्य भएको १५ वर्षपछि राजसंस्थाको पक्षमा जनलहर देखिन थालेको छ।

पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा भक्तपुरमा देखिएको जनउभारले गाणतान्त्रिक व्यवस्थाबाट असन्तुष्टहरुको बढोत्तरी भएको आकलन गरिएको छ।

आइतबार भक्तपुरमा पूर्वराजाको पक्षमा स्वतस्फुर्त रुपमा देखिएको जनउभारले गणतन्त्रवादीहरुको ‘निद हराम’ भएको छ।

देशमा गणतन्त्र प्राप्तिपछि चुलिएको बेथितिले जनताहरुले यो व्यवस्थाप्रति अपनत्वबोध गर्न नसकेपछि फ्याकिएको राजसंस्थाप्रति जनआकर्षण बढ्न लागेको दृष्टान्त सतहमा आएको छ।

२०६५ जेठ १५ गते पहिलो संविधानसभाको बैठकबाट नेपालमा औपचारिक रुपमा राजतन्त्रको अवशान भएको थियो। त्यसको तारतम्य भने २०५६ को पुर्नस्थापित सांसदको जगमा बनेको माओवादी सहितको अन्तरिम व्यवस्थापिकाले गरेको थियो।

दलहरुको पूर्वसहमति बमोजिम पहिलो संविधान सभाको पहिलोे बैठकले औपचारिक रुपमा गणतन्त्र घोषणा गरेको हो। विश्वभर गणतन्त्र प्राप्ति ठूला आन्दोलन र रक्तपातपूर्ण क्रान्तिबाट मात्रै सम्भव भएको छ।

तथापि नेपालमा राजतन्त्रको बहिर्गमन सहजै भएको थियो। गणतन्त्र घोषणा भएको दुई साता पछि पूर्व राजा ज्ञानेन्द्रको सपरिवारले नारायणहिटी राजदरबार सहजै छोडेका थिए।

गणतान्त्रिक शासनको १५ वर्षमा देशले विकास र आत्मनिर्भरतामा यथोचित गति हासिल गर्न नसकेपछि पुरानै व्यवस्थाप्रति जनमोह बढेको देखिन्छ।

देशमा गणतन्त्र बहाली पछि पनि कायापलट हुन नसकेकाले पछिल्लो समय जनताहरु वर्तमान व्यवस्थाप्रतिको विकर्षण बढेको बताइन्छ।

भ्रष्टाचार, बेथिति र नेताहरुको गैरकानूनी गतिविधिको उजागरले जनताहरु गणतन्त्रबाट आजित भएर राजसंस्थाको पक्षमा उभार आएको आकलन गरिएको छ।

पछिल्लो नेता प्रतिको वितृष्णा र पूर्वराजाप्रतिको आकर्षण सतहमा प्रकट भइरहेको छ। नेताहरुलाई भौतिक आक्रमणमा उत्रन पछि नपर्ने जनता पूर्वराजाको कार्यक्रममा स्वेच्छिक रुपमा सरिक हुने क्रम बढिरहेको छ।

केही दिन पहिले काठमाडौंमै कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमण जनआक्रोश चरम अभिव्यक्ति हो।
नेता यादवले नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पूर्पपक्षका लाथि थुनामा रहेका कांग्रेस नेता बालकृष्ण खाणको बचाउ गर्दै आएका थिए।

अदालतले संलग्नताको पर्यापत कानूनी आधार देखिएर थुनामा पठाइएका खाणको पक्षमा सार्वजनिक बचाउमा उत्रिएको परिणती उनी माथि खुकुरी प्रहार भएको जनमानसमा चर्चा छ।

आइतबार भक्तपुरको तलेजु मन्दिर दर्शन गर्न गएका पूर्वराजा ज्ञानेन्द्रको पक्षमा देखिएको स्वतस्फुर्त जनलहर त्यसैको उपज हो। पूर्वराजाको पक्षमा देखिएको जनलहरले आतंकित गणतन्त्रवादीहरुलाई सोमबार राष्ट्रपतिको नागरिक अभिनन्दनमा देखिएको नगन्य उपस्थितिले झनै प्रताडित तुल्याएको छ।

सोमबार जनकपुरमा राष्ट्रपति रामचन्द्र पौडेलको नागरिक अभिनन्दन कार्यक्रम निरस देखिएको थियो। केही सुरक्षाकर्मी र मन्दिरका पुजारीले गरेको स्वागत बाहेक राष्ट्रपतिको पक्षमा आम जनताको आकर्षण देखिएन।

यी पछिल्ला दुई दृष्टान्तले नेपालमा राजतन्त्र भन्दा तुलनात्मक रुपले उन्नत भनिएको गातान्त्रिक व्यवस्थाले जनताले गौरवबोध गर्न नसकेको प्रष्ट्याएको छ।

नेपालमा गणतन्त्र प्राप्तिको लामो चरण गुज्रिँदा पनि देशको आर्थिक र सामरिक अवस्था झनै दयनीय बन्दै गएको छ। वैदेशिक ऋण चरमचुलीमा पुगेको छ। स्वदेशी उत्पादन शून्यप्रायःछ।

आयातमुखी अर्थतन्त्रले पराधीन बनेको मुलुकको अर्थतन्त्रको प्रमुख आधार रेमिटान्स बनेको छ। वैदेशिक रोजगारको क्रममा रहेका नेपालीहरुले पठाएको रेमिटान्सको भरमा मुलुकको अर्थतन्त्र धानिएको विकराल स्थिति आजको कटु यथार्थता हो।

उत्पादनमुखी अर्थतन्त्रमा जोड दिने सरकारको प्रतिवद्धता नारामा मात्रै सीमित भएको छ। भएका सार्वजनिक संस्थानहरु निजीकरणको नाममा कौडीको मूल्यमा बेचिएका छन्।

देशको स्वदेशी उत्पादनले कुनै क्षेत्रको पनि आवश्यकता पूर्ती गर्न नसकिएको विडम्बनापूर्ण अवस्था विद्यमान छ। स्वदेशी उत्पादनले बजार नपाउँदा किसानले उब्जनी बारीमै सडाउन बिबश छन्। त्यसैको प्रतिवाद स्वरुप किसानले सडकमा ल्याएर कृषि उपज फाल्न बाध्य छन्।

जनस्तरमा गणतान्त्रिक व्यवस्थाको प्रत्याभूति दिलाउन शासकहरुले नसकेपछि पूर्वराजाप्रतिको आकर्षण बढेको सहजै बुझ्न सकिन्छ। यसको बेलैमा निवारण नगरे गणतन्त्रको भविष्यमाथि संकट पैदा गराएको जनस्तरबाटै देखिएको आक्रोशले प्रतिबिम्बित गरेको छ।

यद्यपि वर्तमान व्यवस्था परिर्वतन नै समस्या निराकरणको कारक होइन भन्ने पुष्टि विगतदेखि हालसम्मका राजनीतिक परिवर्तनले गरिसकेको छ।

मूलतः जनताप्रति उत्तरदायित्व बहन गर्ने शासकहरुको इच्छाशक्ति नै प्रधान हो। मुलुक र जनताको हितलाई केन्द्रमा नराखेर गरिने जुनसुकै शासन व्यवस्थाले सीमित वर्गलाई लाभ बाहेक समग्र राष्ट्र र जनताका लागि अभिशाप साबित हुने परिस्थिति सिर्जना हुनेमा कुनै सन्देह छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *