तत्काल सरकार परिवर्तनको विपक्षमा देउवा

डिसी नेपाल
११ असोज २०८० ११:१३

काठमाडौं। सत्तारुढ घटकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसभित्र सरकारको नेतृत्व आफैंले लिनुपर्ने बहश सुरु भएको छ।

भर्खरै सम्पन्न केन्द्रीय कार्यसमिति बैठकमा धेरै केन्द्रीय सदस्यले ठूलो दलको हैसियतले पनि अब सरकारको नेतृत्व लिने गरी अगाडि बढ्न सभापति शेरबहादुर देउवालाई आग्रह गरे।

अझ संस्थापन इतर पक्षले त सभापति देउवालाई सरकारको नेतृत्व लिन अग्रसर हुन दबाब दिँदै आएको छ। नेता शेखर कोइरालाले सरकारले काम गर्न नसकेको भन्दै सरकारको नेतृत्व लिन सभापति देउवालाई औपचारिक रुपमा नै आग्रह गरिसकेका छन्।

पार्टी सरकारमा सहभागी हुँदा सरकारले कांग्रेस नेतालाई भ्रष्टाचारको मुद्दामा जेल हालेको तर कतिपय विषयमा संलग्नता देखिँदासमेत सरकारको नेतृत्वका गरेको दल माओवादीका नेतालाई उन्मुक्ति दिएको भन्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वमा सरकार कायम रहे पार्टीलाई ठूलो क्षति हुने भन्दै देउवालाई सरकारको नेतृत्वका लागि अग्रसर हुन दबाव लिने गरिएको छ।

अहिले प्रचण्डलाई बाहिर राखेर वा चिढ्याएर आफू प्रधानमन्त्री बन्न सकिन्छ भन्नेमा सभापतिजी विश्वस्त हुनुहुन्न। प्रचण्डलाई बाहिर राखेर सरकार बनाउन एमालेको समर्थन चाहिन्छ। एमाले र कांग्रेसबीच सहकार्य हुन्छ भन्ने कुरामा पनि उहाँ विश्वस्त हुनुहुन्न। अहिले सरकारको विकल्प खोज्नुपर्ने भन्ने आवाजलाई आफूलाई सरकार बाहिर राख्ने षड्यन्त्रका रुपमा लिनु भएको छ।

तर सभापति देउवा तत्काल प्रचण्ड सरकारको विकल्प खोज्ने पक्षमा देखिएका छैनन्। अहिले सरकार गर्न कांग्रेसले पहल गर्नुपर्छ र प्रचण्डलाई बाहिर राखेर वा चिढ्याएर आफू प्रधानमन्त्री बन्नुपर्छ भन्ने सोचमा सभापति देउवा नरहेको उनी निकट एक नेता बताउँछन्।

‘अहिले प्रचण्डलाई बाहिर राखेर वा चिढ्याएर आफू प्रधानमन्त्री बन्न सकिन्छ भन्नेमा सभापतिजी विश्वस्त हुनुहुन्न,’ ती नेता भन्छन्, ‘प्रचण्डलाई बाहिर राखेर सरकार बनाउन एमालेको समर्थन चाहिन्छ। एमाले र कांग्रेसबीच सहकार्य हुन्छ भन्ने कुरामा पनि उहाँ विश्वस्त हुनुहुन्न। अहिले सरकारको विकल्प खोज्नुपर्ने भन्ने आवाजलाई आफूलाई सरकार बाहिर राख्ने षड्यन्त्रका रुपमा लिनु भएको छ।’

राजनीतिक वृत्तमा प्रधानमन्त्री दाहाल चीन भ्रमणबाट फर्किएपछि नेपालमा सरकार परिवर्तन हुने चर्चा छ। विगतमा पनि प्रचण्डले नौ नौ महिनामात्रै सरकारको नेतृत्व गरेका थिए।

अहिले पनि प्रचण्डले सरकारको नेतृत्व गरेको नौ महिना भइसकेको छ। अन्तर्राष्ट्रिय परिस्थिति र प्रचण्ड सरकारको नौ महिनो कार्यकाललाई हेरेर फेरि सरकार परिवर्तनको चर्चा हुने गरेको छ।

तर सभापति देउवाले आफूलाई प्रधानमन्त्री बन्न उक्साउने र सत्तामा पुनरागमन हुने परिस्थितिबाट रोक्ने षड्यन्त्रको रुपमा बुझेका छन्।
कांग्रेसभित्रै प्रचण्ड सरकारको विकल्प खोज्दै सरकारको नेतृत्व कांग्रेसले लिनुपर्ने र त्यसका लागि सभापतिको रुपमा देउवाले पहल गर्नुपर्ने आवाज उठिरहेका बेला देउवाले आफू प्रचण्डलाई बाहिर राखेर वा चिढ्याएर प्रधानमन्त्री बन्न नसक्ने सन्देश सुनाउने गरेका छन्।

‘अहिले कांग्रेसले हतार गरेर सरकारको नेतृत्व लिन अग्रसर हुने हो भने कांग्रेसको हातबाट सबै कुरा बाहिर जान्छ,’ सभापति देउवाको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘अहिले एमाले केन्द्रदेखि प्रदेशसम्म सरकार बाहिर छ, उ यो वा त्यो वहानामा पुन सत्तामा फर्किन चाहन्छ, अहिले हामीले प्रचण्डलाई विस्थापित गरेर आफ्नो नेतृत्वमा सरकार गठनको पहल गर्यौं भने फेरि ओली र प्रचण्ड मिल्छन् र हाम्रो हातबाट सबै कुरा जान्छ।’

देउवाले आफू प्रचण्डको सहयोग विना प्रधानमन्त्री बन्न नसक्ने निष्कर्ष सुनाउने गरेका छन्। उनले पुस १० अगाडिको सन्दर्भ जोड्दै त्यो बेला ओली र प्रचण्डको वाक् युद्ध, व्यवहारले उनीहरु मिल्नै नसक्ने अवस्थामा भएको तर कांग्रेसलाई बाहिर राख्न ओलीले प्रचण्डलाई प्रधानमन्त्री बनाएको घटना सुनाउने गरेका छन्।

‘तपाईंहरु सरकारको नेतृत्व लिनुपर्‍याे भन्नुहुन्छ, अहिले हतार गर्ने हो भने फेरि हाम्रो हाटबाट सबै कुरा फुत्किन्छ,’ देउवाले भन्ने गरेका छन्, ‘अहिले सहमति अनुसार नै प्रचण्ड नेतृत्वको सरकार चलोस्। सहमति अनुसार त्यसपछि हाम्रो नेतृत्वमा सरकार बनिहाल्छ। प्रचण्ड सहमति कार्यान्वयन गर्न इमान्दार पनि छन्।’

अहिले सरकारको नेतृत्व लिन अग्रसर हुँदा प्रचण्डलाई मात्र नभएर आफूलाई पनि हानि हुने देउवाको विश्लेषण छ।

गत निर्वाचन पछि प्रचण्डले आफू प्रधानमन्त्री बन्न पाउनुपर्ने तर्कमा कांग्रेस सहमत नहुँदा एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए। तर विश्वासको मत लिने बेलामा कांग्रेसले पनि साथ दिएपछि एमालेसँगको गठबन्धन तोड्दै कांग्रेससँग गठबन्धन भएको थियो।

जस अनुसार प्रचण्डले दुई वर्ष सरकारको नेतृत्व गर्ने सहमति भएको बताइन्छ। सो अवधिसम्म प्रचण्डलाई नै सरकारको नेतृत्व गर्न दिनु पर्ने पक्षमा आफू रहेको निकट नेताहरुसँग बताउने गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *