कविता : केही रहर, केही बध्यता

गीता ढकाल सुवेदी
१३ असोज २०८० ८:४१

त्यो निलो फराकिलो नभको खुल्ला छानो मुनि
रंगीचंगी फुलको बगैंचा, फराकिलो आँगन बीचमा
आधुनिक सुविधायुक्त आलिशान महल
सहयोगी साथीहरु माझमा भएर पनि
खुम्चिएका बिरसीला मनहरु
उत्तरार्धको अशक्त शरीरहरु
मुस्कान हराएर दुखेका मुहारहरु
गुण छोडेर चर्न पखेटा फिँजाई
निस्किएका प्रिय सन्तानका यादहरु
मुटुमा गाँठाे पार्दै समेटिन खोज्दा
मुटुनै फुटेर निस्कने पानीका ती बुँदहरु।

डलरको बिच्छाैना बिझाएका
ती अनिदा रातहरु
एक तमासले सिलिङमा घुमेको पंखाको
हावा जस्तै उडेका रहरहरुलाई
साक्षी बनी नियाली रहेछन्
रित्ता रित्ता मनका भित्ताहरु
आँखाका पर्दाहरु खोलेर
मन मनै बोलेर भाव कहाँ पोखिन्छ र!
यदि सुन्ने कोही नभए पछि|

आँखाभरी सम्झनाका तस्बिरहरु
हृदयमा मायाका छालहरु बोकेर
आफ्नो अस्तित्वको युद्धमा
थकित भएर विश्राम खोजी रहेको शरीर
माया र भरोसाको सिरानी
आफ्ना सन्तानको सामिप्यता नपाउँदा
एकान्किपनमा छटपटाई रहेका
बोझिला पलहरु
भौतिक सुखले दिएका छलहरु
केही बाध्यता केही रहर।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *