ओलीको निर्देशनको एमालेमा ‘भद्र अवज्ञा’

डिसी नेपाल
१६ असोज २०८० ११:१९

काठमाडौं। माधव नेपाल र झलनाथ खनालको पार्टीबाट बहिर्गमन भएपछि गुटविहीन भएको दाबी गरिएको नेकपा एमालेको प्रदेश अधिवेशनमा नेतृत्वको निर्देशन विपरित प्रतिस्पर्धा भएको छ। र, कर्णाली प्रदेशमा संस्थापन इतरपक्षका उम्मेदवार गुलावजंग शाह विजयी भएका छन्।

कर्णालीसहित लुम्बिनी, बागमती र कोसी प्रदेशमा प्रदेश अधिवेशन सकिएको छ। ती प्रदेशमा कडा प्रतिस्पर्धा भएको छ।

नेतृत्वले सर्वसम्मत नेतृत्व चयन गर्न दिएको निर्देशन विपरित एमाले प्रदेश अधिवेशनमा धमाधम प्रतिस्पर्धा भएको छ। अधिवेशन हुन बाँकी प्रदेशमा पनि प्रतिस्पर्धा हुने निश्चित देखिएको छ।

चितवनमा सम्पन्न एमालेको १० औं महाधिवेशनपछि पार्टीभित्र प्रतिस्पर्धा गर्ने झण्डै समाप्त भएको थियो । १०औं महाधिवेशनपछि बनेका जिल्ला कमिटी प्रदेश संरचनाको नेतृत्वमा मनोनयनको विधि अपनाएर आन्तरिक प्रतिस्पर्धालाई निरुत्साहित गरिएको थियो।

प्रदेश अधिवेशन सुरु भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सकभर सहमतिमै नेतृत्व चयन गर्न निर्देशन दिएका  थिए। उनले कसैलाई चुनाव लड्न नै मन भए लड्न पाउने तर प्यानल बनाएर चुनाव लडे उम्मेदवारी नै खारेज गर्ने चेतावनी दिएका थिए।

तर, अध्यक्ष ओलीले भनेजस्तो प्रदेश अधिवेशन हुन सकेन।   लुम्बिनी प्रदेशबाट आन्तरिक प्रतिस्पर्धा सुरु भयो। भदौ १५ देखि १८ सम्म भएको प्रदेश अधिवेशनमा प्रस्टसँग दुई जनाबीच प्रतिस्पर्धा भयो।

पाल्पाका पूर्वसांसद एवं सोही प्रदेशका निवर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरि रिजालबीच अध्यक्षका लागि प्रतिस्पर्धा भएको थियो । पार्टीको मूल नेतृत्व ओली र महासचिव शंकर पोखरेलको साथ रिजाललाई भए पनि कँडेलले जित हात पारेका थिए।

सोमबारदेखि सुरु एमाले गण्डकीको नेतृत्व हत्याउन दुई समूह लागेका छन्। एमाले केन्द्रीय उपमहासचिवसमेत रहेका पृथ्वी सुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीका छुट्टाछुट्टै समूह चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

गुरुङले हालका प्रदेश अध्यक्ष नवराज शर्मा र सचिवमा धनञ्जय दवाडीलाई नै अघिसार्ने तयारी गर्दा खगराज अधिकारी पक्षले भने केन्द्रीय सदस्य मायानाथ अधिकारीलाई प्रदेश अध्यक्ष र रश्मी आचार्यलाई सचिवमा उम्मेदवार बनाउने तयारी गरेको छ।

अधिकारीले सर्वसम्मत अध्यक्ष चयन गर्नुपर्दा केन्द्रीय सदस्य कृष्ण थापालाई अघि सार्ने तयारी गरेका छन्। थापा गत स्थानीय तहको निर्वाचनमा पोखराको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यसँग पराजित भएका थिए।

अधिवेशन हुन बाँकी प्रदेशमा पनि प्रतिस्पर्धा हुने निश्चित छ। त्यसो त एमालेभित्र जुन पक्षले जितेपनि ओली पक्षकै नेताको जित हुने नेताहरु बताउँछन्।

एमाले नेता ठाकुर गैरे चुनावी प्रतिस्पर्धाबाट नेतृत्व चयन हुने विषयलाई अन्यथा लिन नहुने बताउँछन्। ‘चुनावी प्रतिस्पर्धाबाट नेतृत्व चयन हुने विषयलाई सकारात्मक रुपमा लिनुपर्छ,’ गैरेले डिसी नेपालसँग भने, ‘यद्यपि चुनावमा जानु भन्दा पहिला सर्वसम्मत नेतृत्व चयनका लागि कोसिस गर्नुलाई अन्यथा लिनु हुँदैन। यो पनि सकारात्मक नै कुरा हो।’

उनले चुनावमा जाँदा वा सर्वसम्मत नेतृत्व चयन गर्दा सचेत हुनुपर्ने विषय भनेको निर्वाचनको स्वच्छता तथा सबैलाई मान्य हुने तरिका अपनाउनुपर्ने बताए। उनले निर्वाचनमार्फत योग्य र सक्षम व्यक्ति नेतृत्वमा पुग्ने बताउँदै नेता गैरेले चुनाव हुँदा वा सर्वसम्मति गर्दा पार्टीभित्र गुटबन्दी हुन्छ भन्ने आफूलाई नलागेको बताए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *