चुस्ने विदशीलाई घुस्ने ठाउँ नदेउ

खगेन्द्रराज सिटौला
२८ असोज २०८० ७:३५
92
Shares

नेपाल माथि अंग्रेजले शासन जमाउन सकेन। तर छिमेकी भारत माथि भने अंग्रेजले शासन जमाउन सक्यो। त्यस्तै उत्तरतिरको छिमेकी चीन माथि पनि जापनले शासन जमायो।

किनभने भारत र चीनमा पृथ्वीनारायण शाह थिएनन्। पृथ्वीनारायण नभए पछि त्यहाँ पृथ्वीविचार नहुने नै भयो। पृथ्वीविचार नभए पछि ति मुलुकहरु विदेशी शक्तिको अधिनमा पर्दै जानु स्वभाविक नै थियो।

अंग्रेजहरु भरतमा व्यापारीको भेषमा पसेका थिए। ब्यापारी भएर आएका अंग्रेजहरु भारतका शासकमा परिणत भएर भारतको शासन व्यवस्था समेत आफ्नो हातमा लिन सके। किन लिन सके भने भारतमा फिरंगीको चाल र जाल बेलैमा बुझेर विदेशी महाजन आए कंगाल बनाउछन् गोड प्रसाह देषी उभो आउन नदेउ भन्ने पृथ्वीनारायण शाह जस्ता दूरदर्शी राजा थिएनन्।

हो अंग्रेजहरु भारतमा व्यापारको माध्यमद्वारा पसेका थिए। बडो चतुर ढंगले राजनीति क्षेत्रमा घुसपैठ गदै भारतीयहरुको हातबाट क्रमशः शासन आफ्नो हातमा लिएका थिए।

कुनै पनि मुलुकलाई चुस्ने र लुट्ने उद्देश्यसाथ विदेशीहरु घुस्न पाए भने र अझ त्यो मुलुकका शासकहरु झुक्ने र बिक्ने खालका भए भने त्यो मुलुकलाई आर्थिक रुपले त टाट पल्टाउछन् नै राजनीति रुपले पनि दाष बनाएरै छोड्छन्।

आफ्नो मुलुकको स्वाधीनता वा स्वतन्त्रता जोगाउन आफ्नै स्वाधीन अर्थतन्त्र हुनुपर्छ भन्ने मान्यता पृथ्वीनारायण शाहमा थियो। पृथ्वीनारायणको यही मान्यताले गर्दा नै भारतमा जस्तो नेपालमा अंग्रेजहरु घुसेर चुस्न र नेपाली स्वतन्त्रता खोस्न पाएनन्।

यसको मूल कारण नै परतन्त्रविरोधी स्वाधीन अर्थतन्त्रको सशक्त पृथ्वीविचार नेपालीमाझमा हुनु हो। पृथ्वीविचार नेपाली स्वतन्त्रता र स्वाधीन अर्थतन्त्रको आधार हो।

पृथ्वीविचारलाई ठिक ढंगले बुझेको र कार्यन्वयन गर्दै नेपाल अघि बढेको थियो भने न नेपाल सुगौली सन्धीमा खुम्चिनु पर्ने थियो न यस्तो विपन्न अवस्थामा रहनु पर्ने नै थियो।

आफ्नो मुलुकको स्वाधीनता वा स्वतन्त्रता जोगाउन आफ्नै स्वाधीन अर्थतन्त्र हुनुपर्छ भन्ने मान्यता पृथ्वीनारायण शाहमा थियो। पृथ्वीनारायणको यही मान्यताले गर्दा नै भारतमा जस्तो नेपालमा अंग्रेजहरु घुसेर चुस्न र नेपाली स्वतन्त्रता खोस्न पाएनन्।

राष्ट्रिय पूँजी र राष्ट्रिय पूँजीपतिवर्गको संरक्षण र विकासमा पृथ्वीविचारको जोड छ। यिनको सुरक्षा र विकासलाई सुनिश्चित गर्न चुस्ने मात्र उद्देश्य बोकेर आउने विदेशी पूँजीपतिहरुलाई पस्न र जम्न दिनुहुँदैन भन्ने पृथ्वीविचार अहिले पनि अति कम विकसित मुलुकको लागि स्वअर्थतन्त्र विकासको लागि बलियो वैचारिक तथा नीतिगत आधार हुनसक्छ।

पृथ्वीविचार नभएका धेरै मुलुकहरुले स्वतन्त्र अर्थतन्त्र राष्ट्रिय स्वतन्त्रता स्वाधीनता गुमाएर लामो समयसम्म औपनिवेशिक शासनमा निसासिएर रहन बााध्य भएका धेरै उदाहरणहरु छन् विश्वभरमा। यस हिसाबले पनि पृथ्वीविचारको अर्थ महत्व र शक्ति बुझ्न सकिन्छ।

“उप्रान्त देशका (विदेशका) महाजनहरुलाई गोड प्रसाहदेखि उभ आउन नदिनु देशका महाजनहरु हाम्रा मुलुकमा आया भन्या दुनियाँ कङ्गाल बनाइ छाड्छन्”। यसरी पृथ्वीविचार विदेशीको शोषण र लुटको विरुद्ध उभिएको छ ।

पृथ्वीविचारलाई साम्राज्यवादी वा उपनिवेशवादी लुट र शोषण विरुद्धमा उभिएको विचारको रुपमा पनि बुझ्न सकिन्छ। चुस्न र लुट्न आउने सबै खाले वाह्य तत्वहरुलाई प्रारम्भदेखि नै रोकने नीति लिने हो भने राष्ट्रलाई सबै किसिमले कङ्गाल हुनबाट बचाउन सकिने मान्यता अघि सारेका छन्

पृथ्वीनारायण शाहले। साथै अवाञ्छित विदेशी घुसपैठ, हस्तक्षेप र षड्यन्त्र पनि रोक्न वा पन्साउन सकिन्छ भन्ने पृथ्वीविचारको मान्यतामा जरुर सान्दर्भिकता र दूरदर्शीता भेटिन्छ।

विदेशी महाजन आए भने स्वदेशी उद्योगी, व्यापारी व्यवसायीलाई मात्रै होइन कि त्यो देशको अर्थतन्त्रलाई समेत सखाप पारेर लैजान्छन् भन्ने पृथ्वीनारायण शाहको विचार याने पृथ्वीविचार सबैको लागि पठनीय र मननीय छ।

हाम्रा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले अघि सारेको विचार जस्तै छिमेकी चीनका महान् नेता माओले पनि त्यस्तै विचार अघि सारेका थिए। माओको राष्ट्रिय पूँजीपतिको संरक्षण गरौं भन्ने विचार पृथ्वीविचार कै चिनियाँ संस्करण हो। अर्थात् यो पृथ्वीविचारको चिनियाँ नेताबाट अनुमोदन र समर्थन हो भन्दा अत्युक्ति मानिने छैन।

हाम्रो पृथ्वीविचारको राष्ट्रिय पूँजीपतिवर्गको संरक्षण गर्ने विचारले चीनको नयाँ जनवादी क्रान्तिलाई वैचारिक नेतृत्व दिएको देखियो वा भेटियो। यसबाट हाम्रा पृथ्वीनारायण शाहको राष्ट्रवादी तथा प्रगतिशील चेत र चिन्तन समय भन्दा निकै अगाडि थियो भन्ने बुझ्न सकिन्छ। वास्तवमा पृथ्वीनारायण शाहले अघि सारेको र व्यवहारबाट नै खारिएको राष्ट्रिय चिन्तनधारले नै हो अहिलेसम्म नेपाल स्वतन्त्र रहेर टिक्न सकेको।

उत्तरको छिमेकी चीनलाई मात्रै होइन दक्षिणको छिमेकी भारतको स्वतन्त्रता संग्राममा पनि हाम्रो पृथ्वीविचारले काम गरेको छ। अर्थात पृथ्वीविचारले नेतृत्व दिएको छ।

भारतमा चलेको अंग्रेज विरोधी स्वतन्त्रता संग्राममा भारतका महान नेता महात्मा गान्धीले विदेशी महाजन विरोधी याने विदेशी महाजनले उत्पादन गरेका सामाग्री बहिष्कार गर्ने स्वदेशी उत्पादन प्रयोग गर्ने चर्खा आन्दोलन चलाएका थिए।

त्यहाँ पनि हाम्रो पृथ्वीविचारले त्यसरी नेतृत्व दिएको थियो। यहाँ एकैपल्ट स्वदेशी कपडा लगाउ विदेशीलाई मनाही गर र विदेशी महाजनलाई प्रोत्साहन नगर भन्ने पृथ्वीविचारले काम गरेको देखिन्छ।

यसरी हाम्रो पृथ्वीविचारले दुबै छिमेकमा भएको राष्ट्रिय स्वतन्त्रता संग्राममा वैचारिक नेतृत्व दिएको छ। यसले देखाउँछ हाम्रो पृथ्वीविचारको शक्तिलाई कुनै राजनीतिक तथा भौगोलिक सीमाले छेक्न सक्तैन। जहाँ हाम्रो पृथ्वीविचार पुग्छ त्यहाँ राष्ट्रिय स्वाधीनताको झण्डा फहराएको हुन्छ।

पृथ्वीनारायण शाहले अघि सारेको स्वदेशवादी राष्ट्रिय चिन्तनधार जहाँ पनि हुने वाह्य शक्तिको शोषणलाई प्रहार गर्ने बलियो वैचारिक हतियार भएर उभिएको छ। नेपालको एकीकरणसंगै विदेशी लुट तथा शोषणविरोधी पृथ्वीविचार भएकोले उनीहरुको प्रवेशलाई सो विचारले निषेध गरेकोले नेपाल कहिल्यै पराधीन भएन र नेपालले छिमेकी जस्तो स्वाधीनता र स्वतन्त्रताको लागि कहिल्यै समय र शक्ति खर्चनु परेन।

वर्तमान सन्दर्भमा पृथ्वीविचारले निर्देशन गरेको विदेशी महाजनलाई आउन नदिनुको मर्मलाई बुझ्ने र व्यवहारमा उतार्ने सवाल गम्भीर मात्र होइन कि चुनौतीपूर्ण पनि छ। एकतिर विश्वभरमा खुला अर्थतन्त्रको लहर चलिरहेको छ। विश्व व्यापार संगठनका सदस्यता लिएका मुलुकले यसको नियम पालन गर्दै खुला व्यापारिक प्रतिस्पर्धामा उत्रनु परेको छ।

बहुराष्ट्रिय कम्पनीहरुको प्रवेश र बेग तथा खुला अर्थतन्त्रको नीतिले गर्दा अति कम विकसित मुलुकका उद्योग,उत्पादन, व्यापार, व्यवसाय धरासायी भएर गइरहेका छन्। यस्तो परिस्थितिमा पृथ्वीविचारको मर्मलाई कसरी बुझ्ने र पक्रने भन्ने सवालको जवाफ खोज्नै पर्ने भएको छ। यसको मर्म विदेशी लगानी निषेध होइन बरु हो विदेशी शोषण लुट निषेध हो र स्वदेशी सबै विशेष हो। यसलाई त्यसरी नै बुझ्नु पर्दछ।

पृथ्वीविचारलाई संकिर्ण, साँघुरो, अनुदार वा अव्यवहारिक विचारको रुपमा बुझिनु हुँदैन। विदेशको श्रम,सीप, प्रविधि, पूँजी, जुक्ति,बुद्धि शक्तिलगायत सबै सकारात्मक पक्षलाई नेपालको राट्रिय हितमा उपयोग गर्नु, स्वदेशी सबै उद्योगी, व्यवसायी व्यापारीको संरक्षण, प्रोत्साहन गर्दै राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ पार्ने स्वदेशवादी अर्थतन्त्र र आर्थिक कार्यक्रमको पक्षपातीको रुपमा पृथ्वीविचारलाई बुझ्नु पर्दछ।

विदेशी लगानी, प्रविधि वा साझेदारीलाई निषेधको अर्थमा पृथ्वीविचारलाई बुझ्ने र व्याख्या गर्ने भूल किमार्थ गर्नु हुँदैन।

नेपाललाई स्वस्ने होइन पोस्ने अर्थ र सर्तमा विदेशी लगानी तथा लगानीकर्ताहरुलाई भित्र्याउन सकियो भने पृथ्वीविचारको वास्तविक मर्म बुझेको ठहरिने छ। वर्तमान समयको परिवर्तित सन्दर्भमा पृथ्वीविचारको स्वदेशवादी आर्थिक पाटो र बाटो ठम्याएको मानिने छ।

पृथ्वीविचारलाई विदेशी लुट र शोषणविरोधी स्वाधीन,स्वच्छ, सम्पन्न स्वदेशवादी आर्थिक नीति र कार्यक्रमको रुपमा बुझ्दै श्रृजनात्मक रुपले व्यवहारमा अनुवाद गर्नु पर्दछ। अहिलेको सन्दर्भमा पृथ्वीविचारको सार र धार भनेको स्वदेशवादी आत्मनिर्भर अर्थतन्त्र नै हो।

उत्तर दक्षिणका छिमेकी लगायत अन्य मुलुकहरुको समेत सामान बेच्ने बजार जो नेपाल भइरहेछ यसलाई बदल्ने बाटो भनेको नै पृथ्वीविचारको स्वदेशवादी आत्मनिर्भर आर्थिक नीति र कार्यक्रम नै हो। स्वदेशवाद र सम्पन्नवादको अर्को नाम पृथ्वीविचार हो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *