सर्ट फिल्म ‘चिसो घर’ मुम्बई फिल्म फेस्टिवलमा छनाेट
काठमाडौं। एभरेष्ट फिल्म एकेडेमीबाट फिल्ममा डिप्लोमा गरेकी विदुषी गिरीको लेखन र डेब्यू निर्देशनमा बनेको सर्ट फिल्म चिसो घर भारतको मुम्बईमा हुने जियो मामी मुम्बई फिल्म फेस्टिवलका लागि छानिएको छ।
आगामी अक्टोबर २७ देखि नोभेम्बर ५ सम्म चल्ने गिरीको सोसल ड्रामा जनराको फिल्म चिसो घर उक्त फेस्टिवलबाटै वल्र्ड प्रिमियर हुने भएको छ।
थर्ड डाईनेन्सन पिक्चर्स, सिमल सिनेमा र एभरेष्ट फिल्म एकेडेमीद्वारा संयुक्त रुपमा निर्माण गरिएको ११ मिनेट लामो फिल्ममा सोनिका शाही ठकुरी, सरीता गिरी, लोकेन्द्र लेखक, सुवास बम्जन र मारिया कार्कीले अभिनय गरेका छन्।
विदुषीकै कथा, पटकथा र संवाद, विपिन स्थापितको पाश्र्व संगीत र साउन्ड डिजाइन, राजेन्द्र मोक्तानको कलर, चक्र महर्जनको छायांकन र पासाङ दावाको सम्पादन रहेको छ।
फिल्मकी निर्देशक गिरीका अनुसार फिल्म फोकस साउथ एसिया सेक्सनअन्र्तगत वल्र्ड प्रिमियरका लागि छानिएको हो। यो फिल्म उक्त फेस्टिवलमा अप्रतिपस्र्धी फिल्मका रुपमा छनौट भएको हो।
आफ्नो पहिलो प्रयास नै मुम्बई फिल्म फेस्टिवलजस्तो महत्वपूर्ण अन्तराष्ट्रिय फिल्म फेस्टिवलमा छनौट हुनु गौरवको विषय भएको भन्दै गिरीले खुशी व्यक्त गरिन्। उनले फेस्टिवलमा सहभागी भएर विभिन्न देशका फिल्म हेरी त्यहाँबाट प्राप्त ज्ञानबाट आगामी दिनमा अघि बढ्न सरल हुने समेत बताइन्।
७० भन्दा धेरै देशका दुई सय ५० फिल्म सहभागी फेस्टिभलमा यस वर्ष नेपाली फिल्मको बाहुल्यता रहेको छ। बलिउड अभिनेत्री तथा पूर्व विश्व सुन्दरी प्रियंका चोपडा अध्यक्ष रहेको फेस्टिवलमा नेपाली फिल्महरु विभिन्न विधाका लागि छनोट भएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment