भारतीय रुपैयाँको भारतमै कम मूल्यमा कारोबार, ठगिँदै सुदूरपश्चिमका नेपाली

डिसी नेपाल
२९ असोज २०८० ६:५१

धनगढी। कैलालीको धनगढीसँग गौरिफण्टा नाका नजिकै पर्ने भारतको वनगाउँ बजारका व्यापारीले भारतीय रुपैयाँ लगेर जाने नेपालीबाट कमिसन खाएर ठग्ने गरेको पाइएको छ।

जनगाउँमा नेपाली रुपैयाँमै कारोवार हुने र भारतीय रुपैयाँको पनि नेपालमा हुने चलनचल्ती अनुसारकै कारोवार हुने गरेकोमा पछिल्लो समय त्यहाँका व्यापारीले भारतीय रुपैयाँलाई सटही गर्दा चलनचल्ती भन्दा कम दिने गरेको सामान किन्न वनगाउँ जाने नेपालीले बताएका छन्।

नेपालमा पछिल्लो समय भारतीय रुपैयाँको कारोबार नहुँदा त्यसको फाइदा उठाउँदै भारतीय व्यापारीले भारु रुपैयाँ सटहीमा कमिसन खाने गरेको धनगढी-२ का स्थानीय रमेस बिसिले बताए। ५ सय भारतीय रुपैयाँको नेपाली ८ सय रुपैयाँ हुने गरेकोमा पछिल्लो समय त्यहाँका व्यापारीले ५ सय भारुको ७ सय ५० देखि ७ सय ७५ मात्रै दिने गरेको उनले बताए।

वनगाउँमा नेपाली रुपैयाँमै काराेबार हुने गरेको छ। जसअनुसार ५ सय भारतीय रुपैयाँको ८ सय नेपाली हुनु पर्ने भए पनि वनगाउँका व्यापारीले भने ७ सय ५० मात्रै दिने गरेको बिसीले बताए।

‘नेपालमा भारतीय रुपैंया लग्न व्यापारीले मान्ने गरेका छैनन्,’ बिसीले भने, ‘सामान पनि सस्तोमा पाइने र आफूसँग भएको भारु रुपैयाँ पनि साट्न पाइन्छ भनेर बनगाउँ गएको थिए, तर यहाँका व्यापारीले मलाई ठगे, उनीहरुकै देशको पैसा पनि सस्तोमा खरिद गरेर कमिसन खाए।’

‘बनगाउँमा नेपाली रुपैयाँका कारोवार हुनेगरेको छ,’ उनले भने, ‘भारतीय रुपैयाँ सटही गरेर नेपाली मूल्य मै कारोबार गर्ने गरिएको थियो, नेपालमा भारतीय रुपैयाँ चल्न छोडेपछि त्यसको फाइदा उठाउँदै बनगाउँका व्यापारीले नेपालीलाई ठग्ने गरेका छन्।’ धनगढी-२ कै प्रकाश सेठ्ठीले ५ सय भारतीय रुपैयाँ सठहीमा वनगाउँका व्यापारीले मनपरी तरिकाले कमिसन खाने गरेको बताए।

‘म दुई तीन पटक दुई-चार हजार भारतीय रुपैंया लगेर वनगाउँ गएको छु,’ उनले भने, ‘त्यहाँ ५ सय भारुको कसैले ७ सय ७५, कसैले ७ सय ५० नेपाली मानेर कारोबार गरे, त्यसो किन गरेको भन्दा कुनै जवाफ आउँदैन, साट्नेभए साट नत्र जाउँ भन्छन्।’

कैलालीको गोदावरी नगरपालिका-३ की विस्ना कोलीले भने ५ सय भारु रुपैयाँ लगेर जाँदा वनगाउँका भारतीय व्यापारीले ७ सय मात्रै दिएको गुनासो गरिन्।

‘दशैका लागि सामान किन्न हामी ३ जना महिला भारु रुपैयाँ नै लगेर वनगाउँ गएका थियौं,’ उनले भनिन्, ‘सामान सस्तो पर्छ भनेर यती टाढाबाट त्यहाँ पुग्यौं, त्यहाँका व्यापारीले ५ सय भारुको ७ सय भन्दा बढी दिएनन्, उल्टै घाटा व्याेहोरेर नेपाल फर्कियौं।’

आफ्नै रुपैयाँमा किन कमिसन खाएको भन्ने प्रश्न गर्दा वनगाउँका व्यापारीले दिने भए देउ नत्र जाउ भन्ने गरेको उनले बताइन्। ‘यति टाढाबाट आएपछि रित्तै हात जान पनि मनले मान्दैन, घाटा खाएरै भएपनि थोरै सामान किनेर फर्कियौं।’

चाडवाडको समयमा सस्तोमा सामान पाइने आशामा वनगाउँ जाने नेपालीलाई त्यहाँका व्यापारीले ठग्ने दाउ खोजेको गोदावरी-३ कै महिला रेवती बाेहाेराले बताइन्।

‘एक साता अघिसम्म ७ सयमा पाइने सुटपिसको अहिले ११ सय भने,’ उनले भनिन्, ‘भारतीय रुपैयाँ सटहीमा पनि कमिसन खाने गरेका छन्, यो उनीहरुको लुट्ने दाउँ हो।’ वनगाउँ जाने नेपालीले उनीहरुले भनेको मूल्यमा सामान किन्ने गरेका कारण पनि मनमानी मुल्य भन्ने गरेको उनले बताइन्।

चिनीको पनि फरक-फरक पसलमा फरक-फरक मूल्य भेटिन्छ,’ उनले भनिन्, ‘भारु रुपैयाँमा पनि कसनैले एक सयसम्म पनि काट्ने र न्यूनतम ५० काट्ने गरेको पायौं, वनगाउँ जाने नेपाली सजग हुनु जरुरी छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *