‘दिमाग खराब’को गीत ‘हितैको माया’ सार्वजनिक
काठमाडाैं। निश्चल बस्नेत निर्देशित प्रतिक्षित सिनेमा ‘दिमाग खराब’को नयाँ गीत सार्वजनिक गरिएको छ। ‘हितैको माया’ बोलको गीतमा जयन जे सुब्बाको शब्द रचना तथा संगीत र सुगम पोखरेल र इन्दकला राईको स्वर रहेको छ।
सिनेमाका मुख्य अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री स्वस्तिमा खड्का र रमा थपलियालाई सार्वजनिक गीतको भिडियोमा फिचर्ड गरिएको छ। गीतको अडियो र भिडियो सशक्त लाग्छ।
सार्वजनिक गीतले दर्शकलाई सिनेमा हेर्न उत्सुकता पैदा गर्ने देखिन्छ । गीतका शब्द पनि मार्मिक सुनिन्छ । जसले दर्शकको मन छुने अनुमान गर्न गाह्रो पर्दैन। चप्पल विनाका खगेन्द्रलाई बोकेर हिँडेका दयाहाङको मित्रताको दृश्यले मन छुन्छ।
सिनेमाको यसअघि सार्वजनिक पोस्टर, टिजर, गीत र ट्रेलरले दर्शकमाझ निकै राम्रो हाइप निर्माण गरेको छ । जसको प्रभाव आगामी कात्तिक २४ गतेबाट हलमा देखिने विश्वास निर्माण टिमको छ।
सिनेमा कात्तिक २४ गते नै नेपाल बाहेक विश्वभरका धेरै देशमा रिलिज हुँदैछ । एमएसएम इन्टरटेनमेन्ट सिनेमालाई विश्वभर रिलिजको जिम्मेवारी लिएको छ।
सिनेमा आट्र्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ । निर्देशक निश्चल बस्नेत र भिनेत्री सुपुष्पा भट्ट पनि सिनेमाको एक गीतमा विशेष भुमिकामा देखिएका छन् ।
आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको सिनेमा राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो । तिहारको अवसर पारेर प्रदर्शनमा आउने सिनेमामा रौनक विक्रम कँडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन् ।
सिनेमामा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ । सिनेमालाई काठमाडौं भित्र गोविन्द शाहीको काफिया फिल्मस् र मोफसलमा मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment