कविता : अर्कै संसारमा गइ सकें

डा. तुलसी उप्रेती
११ कार्तिक २०८० ६:२५
300
Shares

थाहै नपाई अर्कै संसारमा गइ सकें
म त अरु कसैको भइ सकें

मेरो माया -तिमीले बनाएको चितामा मलाई सुताइ देऊ
तिमीले बालेको आगोमा मलाई जलाइ देऊ

मेरो लाशमा फूलै फूलले सजाइ देऊ
मिठो मुस्कानले मलाई विदाइ देऊ

अब मेरा चिसा ओठले तातो चुम्बन दिन सक्दैनन्
मेरो चिसो शरीरले न्यानो स्पर्स दिन सक्दैन

मेरा आँखाहरुले तिमीसँग ईशाराको भाषा बोल्न सक्दैनन्
मेरा कानहरुले तिम्रा मायालु शब्दहरु सुन्न सक्दैनन्

मेरो अनुहारले मन्द मुस्कान दिन सक्दैन
मेरा हातहरुले सानी छोरीलाई बोक्न सक्दैनन्

सम्झना आए मेरो फोटो छातीमा टाँसी देऊ
तर मलाई भने बिर्सी देऊ

कसै कसैले मेरो खरानी धसी हिन्छन्
अनि बल्ल म को हुँ भनि चिन्छन्

कसैले सोधे मेरा किर्तिहरु देखाई देऊ
आफैले गर्व गर्दै मेरो आत्मालाई शान्ति देऊ

जन्म र मिलन त छ्यणिक्नै रहेछ
हाम्रो समय थाहै नपाई गएछ

नचाहँदा नचाहँदै पनि मायालुसँग छुट्नु पर्ने रहेछ
जीवनको सार बल्ल बोध भएछ

म त तिमीलाई छाडी अर्कै संसारमा गई सकें
अब अरु कसैको भई सकें


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *