रौतहट नरसंहार : आलमको मुद्दा फैसला मंसिरभित्रै

डिसी नेपाल
२३ कार्तिक २०८० ६:३३

काठमाडौं। रौतहटमा इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपित नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको मुद्दामा अन्तिम बहस सकिएको छ । जिल्ला न्यायाधीश बाबुकाजी बानियाँको इजलासमा उनको मुद्दामा अन्तिम बहस सुरु भएको थियो । रौतहट जिल्ला अदालतमा चलेको मुद्दामा बुधबार बहस सकिएको जिल्ला अदालतका स्रेस्तेदार उद्धव ढोडारीले बताए ।

यो मुद्दा नेपाल सरकारले एकपटक मुद्दा नचलाउने निर्णय गरिसकेको तर सर्वोच्च अदालतले सो निर्णय बदर गरेर अघि बढाउने आदेश दिएको थियो । बुधबार इजलासले सो मुद्दाको विषयमा सबै विषय समेटेर टिपोट पेस गर्न जिल्ला अदालत प्रशासनलाई आदेश दिएको छ ।

‘मुद्दामा पक्ष, विपक्षी र सरकारी वकिलका साथै पीडितका तर्फबाट पनि बहस सकिएको छ,’ स्रेस्तेदार ढोडारीले भने, ‘यो मुद्दा धेरै गम्भीर र ठूलो भएका कारण फैसलाअघि केही आदेश गरेको छ ।’

जिल्ला अदालत रौतहटका स्रेस्तेदार ढोडारीका अनुसार जिल्ला अदाललते १५ दिनभित्र बहस नोट पेस गर्ने पक्ष र विपक्षीका साथै सरकारी वकिललाई पनि आदेश गरेको छ । यस्तै, अदालतका कर्मचारीलाई मुद्दाको सार संक्षेपीकरण बनाएर इजलासमा पेस गर्न पनि आदेशमा भनेको छ ।

मुद्दामा पक्ष, विपक्षी र सरकारी वकिलका साथै पीडितका तर्फबाट पनि बहस सकिएको छ, यो मुद्दा धेरै गम्भीर र ठूलो भएका कारण फैसलाअघि केही आदेश गरेको छ

उद्धव ढोडारी, स्रेस्तेदार, जिल्ला अदालत रौतहट

वादी, प्रतिवादी र सरकारी वकिलबाट बहस नोट मगाउने र १५ दिनभित्र पेसी राखेर अन्तिम फैसला सुनाउने आदेश भएको छ । यसका लागि मुद्दा ‘हेर्दाहेर्दैमा’ राखिएको छ । यसअघि नै सरकारी वकिल र आलमका कानुन व्यवसायीले बहस गरेका थिए ।

पीडितका तर्फबाट सुरुमा बहस भएको थियो भने मंगलबार सरकारी पक्षले पनि बहस थालेका थिए । बुधबार सरकारी पक्षको बहस सकेर पीडितका तर्फबाट बहस भएको थियो । केही दिनदेखि सो मुद्दामा बहस चलिरहेको थियो । अब बहस नोट पेस भएपछि जिल्ला अदालतले फैसला सुनाउनेछ । सरकारी वकिल कार्यालय रौतहटका जिल्ला न्यायाधिवक्ता बद्रीकुमार कार्कीको नेतृत्वले आलमलाई सफाइ दिन नमिल्ने दाबीसहित बहस गरेका थिए ।

२०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजापुरमा बम विस्फोट भएको थियो । सो घटनामा प्रहरीले २०७६ सालमा पुनः अनुसन्धान गरेपछि आलमविरुद्ध अदालतमा मुद्दा पुगेको थियो । आलमले २०६४ सालको संविधानसभा निर्वाचनको नतिजालाई आफ्नो पक्षमा पार्न बम विस्फोट गराउने योजना बनाएको र त्यसका लागि बम बनाउँदै गर्दा विस्फोट भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । बम विस्फोटको घटना सार्वजनिक हुने भयका कारण आलमले सो विस्फोटमा घाइते भएकाहरूलाई जिउँदै इँटाभट्टामा जलाएर मारेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

सो मुद्दामा २९ कात्तिक २०७६ मा थुनछेक आदेश सुनाउँदै रौतहट जिल्ला अदालतले आलमलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो । पुर्पक्षका लागि थुनामा पठाउने जिल्लाको आदेशविरुद्ध आलमले उच्च अदालतमा पुनरावलोकन निवेदन दिएका थिए । उच्च अदालत वीरगन्जले २४ माघ २०७६ मा जिल्लाको आदेश नै सदर गरेको थियो ।

आफूलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश उच्च अदालतले पनि सदर गरेपछि आलम सर्वोच्च पुगेका थिए । सर्वोच्चले उनलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेको थियो । सर्वोच्च अदालतले गत २३ वैशाखम्ँ धरौटीमा रिहा हुनुपर्ने माग अस्वीकार गरेपछि अन्तिम सुनुवाइको बटो खुलेको थियो ।

आलमविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी कसुरमा ४५ वर्ष कैद सजाय मागदाबी गर्दै अभियोगपत्र दायर भएको थियो । त्रिलोकीप्रताप सिंह र ओसी अख्तरको कर्तव्य गरी ज्यान मारेको तथा बम विस्फोट गराएको अभियोग आलममाथि छ ।

कसरी भएको थियो रौतहट नरसंहार ?

२८ चैत २०६४ मा हुन लागेको पहिलो संविधानसभा निर्वाचनमा मोहम्मद अफताब आलम रौतहट २ बाट कांग्रेसका उम्मेदवार थिए । जसरी पनि चुनाव जित्न उनले बुथ कब्जाको रणनीति बनाए । यही योजनाअनुसार उनले भारतको बिहारबाट बम बनाउने कालिगढ झिकाए । बम बनाउने कारखाना भने आफ्ना काका शेख इद्रिसको गाईगोठलाई बनाए ।

भारतीय कालिगढसँगै स्थानीय युवा पिन्टु भनिने त्रिलोकप्रताप सिंह र मोहम्मद ओसी अख्तर पनि बम बनाउन सहयोगीका रूपमा खटिए । २७ चैत २०६४ को साँझ गोठमा बम बनाइँदै थियो । तर, असावधानीले अचानक बम विस्फोट भयो । केही युवा घटनास्थलमै ढले, घाइतेहरू ज्यान बचाउन भाग्न थाले ।

निर्वाचनको अघिल्लो साँझ भएको यो घटना सार्वजनिक हुन नदिन आलमका सहयोगीले घाइतेलाई उपचारका लागि अस्पताल लैजानुको सट्टा समातेर बेहोस हुने इन्जेक्सन दिए । त्यसपछि उनीहरूलाई बोरामा प्याक गरे र ट्रयाक्टरमा खाँदेर नजिकै रहेको आलमका भाइ महताबको इँटाभट्टामा पु¥याए । सशस्त्र प्रहरीको स्कर्टिङमै ट्रयाक्टर इँटाभट्टा पु¥याइएको थियो । त्यसपछि घाइतेहरूलाई भट्टीमा हालियो ।

सिंगै शरीर नछिरेका घाइतेलाई बन्चरोले गिँडेर भट्टीमा हालियो । सबैलाई खरानी पारी प्रमाण नष्ट गरियो । बम विस्फोटको १२ वर्षपछि २०७६ असोजमा रौतहट प्रहरीले नयाँ शिराबाट अनुसन्धान थाल्यो । प्रहरीको सक्रियतापछि पीडितहरूलाई पनि बोल्ने साहस आयो, उनीहरूले प्रहरीमा जाहेरी दिए ।

त्यसकै आधारमा २६ असोज २०७६ मा आलम पक्राउ परे । जिल्ला अदालत रौतहटको आदेशपछि आलम अहिले पुर्पक्षका लागि नक्खु कारागारमा छन्, तर उनको आतंक अझै जारी छ । विस्फोटमा ज्यान गुमाउनेमध्येका पिन्टु भनिने त्रिलोकप्रतापका बुबा श्रीनारायण सिंह अझै कानुनी लडाइँमा छन् ।

राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *