जो बाइडन र सी जिन्पिङको क्यालिफोर्निया भेटबाट के अपेक्षा गर्न सकिन्छ?

बारबरा प्लेट असर/बीबीसी
२७ कार्तिक २०८० ७:४५

बीबीसी। अमेरिकी राष्ट्रपति जो बाइडन र चिनियाँ राष्ट्रपति सी जिन्पिङबीच यसै साता सान फ्रान्सिस्को बे एरियामा भेटवार्ता हुँदैछ। नोभेम्बर १५ का लागि तय भएको उक्त बैठक बाइडन राष्ट्रपति बनेयता उनीहरूबीच हुन लागेको दोस्रो प्रत्यक्ष भेटवार्ता हो।

अमेरिकी अधिकारीहरूले त्यसमा व्यापक विषयहरूमा छलफल हुने उल्लेख गर्दै इजरेल-हमास युद्ध, ताइवान, युक्रेनमा जारी लडाइँ र निर्वाचनमा अवरोध जस्ता मुद्दा उठ्नसक्ने जनाएका छन्।

यसै वर्षको प्रारम्भमा दुई देशबीचको सम्बन्धमा चिसोपन आएको थियो। अमेरिकाले चीनले एउटा जासुसी बलुन आफ्नो हवाई क्षेत्रमा पठाएको आरोप लगाएको थियो। एउटा अमेरिकी युद्ध विमानले साउथ क्यारोलाइनाको तटीय क्षेत्रमा त्यसलाई खसालिदिएको थियो।

अघिल्लो वर्ष तत्कालीन अमेरिकी सभामुख नान्सी पलोसीले पनि ताइवानको भ्रमण गरेकी थिइन। त्यसको परिणामस्वरूप चीनले दुई देशका सेनाहरूबीचको सम्बन्ध टुटाएको थियो।
राष्ट्रपति बाइडन ती सम्पर्क माध्यमहरू पुनर्स्थापित गर्न ‘दृढ रहेको’ भएपनि चीन ‘हिच्किचाइरहेको’ जस्तो देखिएको अमेरिकी अधिकारीहरूले जनाएका छन्।

“यो ५ वा १० वर्षदेखीको सम्बन्ध होइन, हामी प्राप्त हुनसक्ने उपलब्धि वा परिणामको लामो सूचीबारे कुरा गरिरहेका छैनौँ।” उनले भने, “अहिलेको लक्ष्य भनेको प्रतिस्पर्धालाई व्यवस्थापन गर्ने, द्वन्द्व वा सम्भावित जोखिमलाई रोक्ने र सम्पर्कका माध्यमहरू खुला रहेको सुनिश्चित गर्ने हो।”

बाइडन र सीबीचको दुईपक्षीय वार्ता एशिया प्यासिफिक इकोनोमिक कोअपरेशन (एपेक)को शिखर सम्मेलनको समय पारेर गर्न लागिएको हो। नोभेम्बर ११ बाट सुरु उक्त शिखर बैठक सान फ्रान्सिस्को सहरमा नोभेम्बर १७ सम्म चल्नेछ।

चीनले छलफल गर्न चाहने मुख्य मुद्दा ताइवान हुनसक्ने ठानिएको छ। उक्त स्वशासित प्रायद्वीपमाथि आफ्नो सार्वभौमसत्ता रहेको चीनले बताउने गरेको छ। ताइवानमा आगामी वर्षको सुरुमा चुनाव पनि हुँदैछ।

चिनियाँ राष्ट्रपति सीले अमेरिकाले ताइवानको स्वतन्त्रतालाई समर्थन नगर्नेबारे थप आश्वस्त बनाउनुपर्ने माग राख्नसक्ने ठानिएको छ। एक जना वरिष्ठ अमेरिकी अधिकारीका अनुसार बाइडनले चाहिँ ताइवान वरपर बेइजिङका सैनिक गतिविधिप्रति अमेरिकी चिन्ता व्यक्त गर्ने अपेक्षा गर्नसकिन्छ।

अमेरिकाले चीनमा प्रविधिको निर्यातमाथि लगाएको प्रतिबन्धदेखि लिएर साउथ चाइना र इस्ट चाइना सीमा बेइजिङले राखेको भौगोलिक दाबीहरूका कारण उत्पन्न तनावबारे पनि छलफल हुनेछ।

व्यापार र प्रतिस्पर्धाबारे आधारभूत मतभिन्नता रहेपनि बाइडनको आफ्ना समकक्षीसँगको अनुरोध मध्यपूर्वको हिंसा चर्कन नदिन बेइजिङले भूमिका खेलोस् भन्ने हुने ठानिएको छ। उनले चीनलाई आफ्नो प्रभाव प्रयोग गरेर इरानलाई इजरेल हमास युद्धका कारण चर्किएको मध्य पूर्वको हिंसा रोक्न विशेष अनुरोध गर्नेछन्।

विश्लेषकहरूले उक्त शिखर बैठकले केही मध्यम उपलब्धि हासिल गर्नसक्ने आकलन गरिरहेका छन्। सम्भवतः त्यसमा सैनिक सञ्चार स्थापित गर्ने र चीनमा उत्पादित फेन्टानाइलको आपूर्ति नियन्त्रण गर्ने विषय पर्नेछन्। दुवै पक्षले कुनै क्रमभङ्ग वा सम्बन्ध स्थिर बनाउने ठूलो निर्णयको अपेक्षा गरेका छैनन्।

चीनले सम्बन्ध कमजोर हुनुमा वासिङटन जिम्मेवार रहेको बताउने गरेको छ। राष्ट्रपति सीले मार्च महिनामा अमेरिकाले चीनलाई ‘घेराबन्दी, नियन्त्रण र दमन’ गरिरहेको आरोप लगाएको सेन्टर फर स्ट्रयाटिजिक एन्ड इन्टरन्याश्नल स्टडिज नामक थिङ्कट्याङ्कमा आवद्ध जुड बल्यान्चेट बताउँछन्।

केही समयपहिले अमेरिकाका लागि चिनियाँ राजदूत सेइ फेङ्गले सकारात्मक कदमहरूको प्रशंसा गर्दै आश्वस्त पार्नु महत्त्वपूर्ण रहेको बताएका थिए।

हङ्‌कङ फोरम अन यूएस-चाइना रिलेसन्स नामक कार्यक्रमलाई सम्बोधन गर्दै उनले बेइजिङले ‘अमेरिकाले चीनको प्रणालीलाई परिवर्तन गर्न नचाहेको, नयाँ शीतयुद्धको खोजी नगरिरहेको, ताइवानको स्वतन्त्रतालाई समर्थन नगर्ने र चीनसँग आर्थिक सम्बन्ध टुटाउन इच्छुक रहे या नरहेको’ भन्नेबारे जान्न चाहेको बताएका थिए।

बाइडन प्रशासनले अन्तर्राष्ट्रिय मापदण्ड मिच्ने चिनियाँ व्यवहारलाई आफूले प्रतिरोध गरिरहेको बताउने गरेको छ।

बलुन सङ्कट यता सम्बन्ध सहजीकरणको लागि उसले दह्रो प्रयास गरिरहेको छ। विदेशमन्त्री एन्टोनी ब्लिङ्कनसहित तीन जना मन्त्रिपरिषद्का सदस्यले चीनको भ्रमण गरेका छन्।

शिखर बैठक कसरी सम्भव भयो

गएको फेब्रुअरीमा ब्लिङ्कनले अकस्मात् चीन भ्रमण रद्द गरेका थिए। त्यसबेला उनले अमेरिकी आकाशमा एक किसिमको जासुसी बलुन उडाउने चीनको निर्णय ‘अस्वीकार्य र गैर जिम्मेवार’ रहेको बताएका थिए।

तर जब जुन महिनामा अन्ततः उनले चीनको भ्रमण गरे त्यसबेला राष्ट्रपति सीसँग प्रस्ट कुराकानी भएको बताए। यो शिखर बैठक त्यही कूटनीतिको पनि परिणाम हो।

अमेरिकी अधिकारीहरूले आफ्ना कूटनीतिज्ञहरूले चिनियाँ समकक्षीसँग हालै भएका ‘प्रत्येक जसो वार्ताहरूमा’ सैनिक सम्बन्ध पुन: कायम गर्नुपर्ने विषय उठाउने गरेको भएपनि सफलता हात नलागेको बताएका छन्।

त्यस्ता छलफलमा बारम्बार जासुसी बलुनको कुरा उठ्ने गरेको छ र त्यही बिन्दुमा संवाद रोकिने गरेको एक जना अधिकारीले जनाए।

कतिपय अमेरिकी सञ्चारमाध्यमहरूले राष्ट्रपति सीले बाइडनसँगको भेटपछि अमेरिकी व्यावसायिक क्षेत्रका प्रमुख कार्यकारीहरूसँग एउटा निजी भोजमा सहभागिता जनाउने उल्लेख गरेका छन्।

न्यूयोर्क टाइम्सका अनुसार ४० हजार अमेरिकी डलर तिरेर पाहुनाहरूले राष्ट्रपति सीसँगको टेबलमा बस्न पाउनेछन्। उक्त कार्यक्रममा सहभागिता जनाउनका लागि सबैभन्दा सस्तो टिकटको मूल्य प्रति व्यक्ति २ हजार डलर राखिएको छ।

आयोजकमध्येको एक न्याश्नल कमिटी अन यूएस चाइना रिलेसन्सका प्रवक्ताले बीबीसीलाई ‘अति उच्च’ चिनियाँ अधिकारीसँगको एउटा कार्यक्रम योजना गरिएको बताए। तर उनले राष्ट्रपती सीले सहभागिता जनाउन लागेको भने पुष्टि गरेनन्।

सी बाइडन बैठक अघि अमेरिकी वित्त मन्त्री जेनेट येलेनले चीनका उपप्रधानमन्त्रीसँग दुई देशबीचको आर्थिक सहकार्यबारे छलफल गरेकी थिइन्।

अघिल्लो हप्ता चिनियाँ सरकारको मूखपत्र ग्लोबल टाइम्सले एउटा सम्पादकीय लेख्दा चीन र अमेरिकाबीचको अवरोधलाई हटाउने र उन्मुलन गर्ने जिम्मेवारी राष्ट्रपति बाइडनको भएको उल्लेख गरेको थियो।

“अमेरिका-चीन सम्बन्धलाई अवमूल्यन गर्ने एउटा अँध्यारो शक्ति वासिङ्टनमा छ र जति संवेदनशील परिस्थिति हुन्छ उनीहरू त्यति नै बढी सक्रिय हुन्छन्,” नोभेम्बर ८ को सम्पादकीयमा लेखिएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *