दुई व्यक्तिको एउटै नाम र नागरिकता नम्बर भएपछि जग्गा पाउनबाट भूमिहीन बञ्चित

डिसी नेपाल
२ मंसिर २०८० ९:५८

महाेत्तरी । नागरिकतामा मान्छेहरुको नाम मिल्न सक्छ, जन्ममिति पनि मिल्न सक्ला तर दुई वटामा नागरिकता नम्बर नै मिलेको महोत्तरीवाट अनौठो घटना बाहिरिएको छ ।

महोत्तरीस्थित बर्दिवास-२ मा पूर्ण भूमिहिनको तथ्यांक संकलन गर्ने क्रममा फरक-फरक दुई जनाको नागरिकतामा एउटै नम्बर जारी गरेको पाईएको हो ।

संयोगले नाम र वुवाको नाम मिले तापनी उनिहरु फरक-फरक ब्यक्ति हुन् । २०८० साल साउन ३ गते इलाका प्रशासन कार्यालय बर्दिवासले बर्दिवास-८ बस्ने दल बहादुर भुजेलको प्रतिलिपी जारी गर्दा उल्लेख गरेको नम्बर र २०४४ सालमा मै जारी गरेको बर्दिवास-२ का दलवहादुर भुजेलको नम्बर एउटै रहेकाे खुलेकाे हाे ।

अचम्म त कहाँनिर छ भने उनिहरुको नागरिकता नम्बर ०४९७०२१५ मात्र मिलेको छैन जन्ममिती, बुवाको नाम समेत मिलेको छ । तर, दुवै भुजेलहरुको नागरिकता जारी भने फरक-फरक मितिमा भएको देखिएको छ । अहिले हात्तिलेट बस्ने भुजेलको नागरिकता २०४४ फाल्गुन ६ गते जारी भएको देखिन्छ भने बर्दिवास-२ बस्ने भुजेलको नागरिकता  एकदिन अगाडि अर्थात २०४४ साल फाल्गुन ५ गते जारी भएको देखिएको छ ।

बर्दिवास-२ को वडा कार्यालयले पूर्ण भूमिहीनको सुची बनाएर मालपोत कार्यालय पठाउदा मालपोतमा दलबहादुर भुजेलको नाममा १० धुर जग्गा देखिए पछी खोजीको बिषय बनेको थियो । पुस्तौंदेखि जग्गा नै नभएका बर्दिवास-२ का दलबहादुर भुजेलको नाममा कसरी १० धुर जग्गा रहयो ? भन्ने बिषयमा स्थानियहरु आफैले खोजी गरेका थिए ।

यो विषयमा बुझ्न जनप्रतिनिधि एकबहादुर भुजेल आफै खटिए । नाताले मामा पर्ने पुर्ण भुमहिन रहेका एकबहादुरले मामाको नाममा १० धुर जग्गा रहेको मालपोत कार्यालयले प्रमाण पठाए पछी अचम्ममा परेका थिए । 

सुरुमा उनी प्रशासन कार्यालय भन्दा पनि भुजेल बंशमा दलबहादुर भुजेल नाम भएका व्यक्तिहरुको खोजीमा लागे । खोजी कै क्रममा हात्तिलेटबस्ने दलबहादुर भुजेलसगँ मामाको नागरिकताको सवै मिलेपछी अहिले एकबहादुरले घरमा नै पुगेर सो नागरिकता आफ्नो साथमा ल्याएका छ्न ।

तर एकबहादुरका मामा पनि हात्तिलेटवाट नै बसाई सरेर बर्दिवास-२ मा आएका थिए । तत्कालिन समयमा नागरिकता जारी गर्दा दुवै भुजेलहरुको ठेगाना पनि हात्तिलेट नै थियो । जारी मितिबाहेक नागरिकतामा सवै मिलेपछी पुर्ण भुमिहिन भनिएका मामालाई नगरपालिकाले वितरण गर्ने भनिएको जग्गामा समेत अफ्ठ्यारो स्थिती सिर्जना भएको छ ।

अझ हात्तिलेट बस्ने दलबहादुर भुजेलले त मुक्तिनाथ विकास वैकंवाट कर्जा समेत लिएको बुझिएको छ। एउटै नागरिकता लिएर दुई फरक-फरक ब्यक्तिहरुले अहिलेसम्म गरेका सरकारी कामहरुमा समेत प्रश्न चिन्ह खडा भएको छ ।

नागरिकतामा दुई व्यक्तिहरुको एउटै नागरिकता नम्बर कसरी आयो भन्ने बिषयमा आफुलाई पनि अचम्म लागेको प्रमुख जिल्ला अधिकारी शिवलाल गेलाल बताए ।

`दुवै नागरिकता २०४४ सालमा टोलीवाट बनाएको देखिएको छ,´ प्रमुख जिल्ला अधिकारी गेलालले भने, `हामी उक्त त्रुटिको बिषयमा खोजी गर्नेछौ ।´ दुवै भुजेलको नागरिकता तत्कालिन टोली प्रमुख बालचन्द्र खनालले जारी गरेको देखिएको छ ।

यो दुवै नागरिकताको विषय नटुंगेसम्म पुर्ण भुमिहिन भनिएका भुजेलले जग्गा समेत नपाउने भएका छन् । `कानुनीरुपमा उनकाे नाममा जग्गा देखिए पछि वडाले पनि उनकाे हितमा केही गर्न सक्दैन,´ वडा कार्यालयका कम्प्युटर अपरेटर विनोद पौडेलले भन, `हामी जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयलाई चिठी पनि पठाउदै छौ ।´
 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *