इजरायल र हमासबीच थप दुई दिनका लागि विस्तारित युद्धविरामको नयाँ शर्तहरू के छन् ?

डिसी नेपाल
१२ मंसिर २०८० १२:४२

काठमाडौं । इजरायल र हमासबीच दुई दिनका लागि अस्थायी युद्धविराम लम्ब्याउने सहमति भएको छ ।

अमेरिकी राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले यस विस्तारित सम्झौता अन्तर्गत हमासले थप २० जना इजरायली बन्धकहरूलाई रिहा गर्ने बताएका छन्।

योसँगै इजरायलको प्रधानमन्त्रीको कार्यालयले थप ५० प्यालेस्टिनी बन्दीलाई आफ्नो जेलबाट रिहा गर्ने जानकारी दिएको छ ।

प्रधानमन्त्रीको कार्यालयले मंगलबार बिहान भन्यो, “सरकारले थप ५० प्यालेस्टाइनी महिला बन्दीहरूलाई रिहा गर्न अनुमोदन गरेको छ, जसमा थप इजरायली बन्धकहरूलाई रिहा गरिनेछ ।”

गएराति हमासले ११ इजरायली बन्दीलाई रिहा गरेको छ । जसमा जर्मन, फ्रान्सेली र अर्जेन्टिनाका नागरिक पनि सामेल थिए। यसैबीच, इजरायलले राति अबेरसम्म आफ्नो जेलबाट ३३ प्यालेस्टिनी नागरिकलाई रिहा गरेको छ ।

कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले ट्वीटरमा रिहा भएका ११ इजरायलीमध्ये धेरैसँग दुई देशको नागरिकता रहेको बताएका छन् ।

विवरण दिँदै उनले लेखेका छन्- “गाजाबाट रिहा भएका इजरायलीहरूमा तीन फ्रान्सेली नागरिक, दुई जर्मन र छ अर्जेन्टिनाका नागरिक छन्।”

हमास र गाजाको स्थानीय मिडियालाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले सोमबार राति इजरायलले रिहा गरेका ३३ जनामध्ये ३० जना पुरुष र तीन जना महिला रहेको बताएको छ ।

यस अस्थायी युद्धविरामको विस्तारसँगै, राहत सामग्रीले भरिएका थप गाडीहरू गाजा पुग्न सक्नेछन्।

अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेको थियो जसमा १२०० मानिस मारिएका थिए भने २४० जनालाई हमासले बन्धक बनाएको थियो ।

यसपछि इजरायलले गाजामा लगातार आक्रमण गरिरहेको छ जसमा १४५०० जनाको मृत्यु भएको छ ।

गत शुक्रबारदेखि हमास र इजरायलबीच भएको सम्झौताअनुसार अस्थायी युद्धविराम लागू भएको छ, जुन बुधबारसम्म जारी रहनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *