कविता : तिम्रो म

दिनेश घिमिरे
१९ मंसिर २०८० ११:०३

म तिमीलाई तिम्रो बिचार हुँ
मलाई जसरी सोच्छौ त्यसरी राख
किनकि तिमी भित्र म छु मात्र म
तिमी मबाट खुशी भएको बेला
मलाई आफ्नो खुशी भनेर राख
म हरपल खुशी भएर आईदिन्छु।।

म तिमीलाई तिम्रो आवाज हुँ
मलाई जसरी सोच्छौ त्यसरी बोल
किनकि तिम्रो आवाजमा म छु मात्र म
तिमी मबाट टाढा भएको बेला
मलाई सम्झेर आँशु बनाएर राख
म हरपल समयसँग गीत बनेर आइदिन्छु।।

म तिमीलाई तिम्रो सोच हुँ
मलाई सजिलो गरि आफूमा राख
किनकि तिम्रो सोचमा म छु मात्र म
तिमीले मलाई हरेक सोचमा
आफनै विम्ब बनाएर राख
मलाई संझेर प्रशस्त कथाहरूमा
आफैले रक्सी बनाएर खाँउ
म हरपल तिमीसँग भट्टीमा आइदिन्छु।।

म तिमीलाई तिम्रो सत्य हुँ
मलाई सजिलो गरि ब्याख्यामा राख
म फेरि अर्नगलमा बेखुशी हुने छैन
जे जसरी मलाई संझन्छौ संझ
किनकि म तिम्रो निम्ति आहुति हुँ
तिम्रा बिकारहरू मलाई प्रेमील छन्।।

म तिमीलाई तिम्रो सपना हुँ
मलाई तिमी सजिलो गरि देख
तिम्रा हरेक सम्बन्धका सपनाहरूमा
म मात्र तिम्रो खुशीका आलोकमा
आफ्ना हरपल उत्सर्ग गरिदिन्छु
मलाई अनेकन उप-नाममा संझ
बिपना बनेर फेरि फेरि आइदिन्छु।।

तिम्रो म तिमी जस्तै त हो नि
तिम्रो प्रेमले बनाएको मलाई
तिमी भित्रबाट फेरि फेरि पनि
तिमीले आफुले सोचे जस्तै भएर
तिम्रो हरेक खुशीमा रमाउन मात्र
म आफूलाई हरेक प्रात्रमा राख्नेछु
अनि पो त तिम्रो म मात्रै तिम्रो म।।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *