कविता : गाजामा टुक्राटुक्रा भएको जिन्दगी !

सुशील लामा
२३ मंसिर २०८० ६:४१

खै कस्तो तिम्रो अवधारणा,
युद्धको मेला लगाएर
मान्छे-मान्छे मर्न र मार्न लगाएर
मृत्युको खेल खेल्दैछ।
सुन्दर कोमल बाँच्ने रहर बोकेका जिन्दगीलाई
जीवन चिन्न नपाएको जीवनहरुलाई
टुक्राटुक्रा पार्दैछ।

कस्तो खालको तिम्रो अभिमान
आगो ओकल्दै, मान्छेको जीवन खोस्ने
तिम्रो तानाशाही शासनको छाँयामा,
तिम्रो कट्टरपन्ती सोचाईँको सिद्धान्तमा
फक्रिन नपाउँदै कोपिलामै
झरेको फूल झैं

टुक्रिएर ढल्दै गरेको जीवनको बन्दैछ कथा
पीडामा टुक्रिएर क्षतविक्षत भएको मुटु।
थरथर काँपिरहेका रेडक्रसको हातलाई समेत
बन्देज गरेको कस्तो खालको तिम्रो
मानवीयता हराएको कायरता?
एउटा कलिलो कलेजोमातिम्रो क्रुर सोचमा बनेको बारुदका
बाहिरैबाट छर्लङ देखिने छरेको छर्रा
जानजानी खोसेर खाली बनाएको काख
आँशु निख्रेर खडेरी परेको छ,आँखा
…टुक्राटुक्रा पारेको जिन्दगी

सहज दिनहरूमा मौलाएको
बिकाशको एउटा प्रकार
गगनचुम्बी कंक्रीटको जंगल
त्यहीँ जंगलमा फुल्दै गरेको जिऊँदो सपनाहरूमा
तिम्रो कुनियतको कालो तुँवालोहरु
बम,बारुदको रुप लिएर,
क्षण भरमै भाग्यको आकारहरु बदलिँदियौं।

भाग्य तोडेर,जिबन खोस्नुको खेलमा
सपनाहरुलाई काँचका टुक्रा जस्तै चकनाचुर पार्‍याै,
ग्रीनेटको प्रतिध्वनिले मुर्छा पारेको मानव प्रेम
पानी सरि बग्दै गरेको रगतको भल
गिदी छरिएर उछिट्टिएको खाली खप्पर
हराएको मानव माया
अकल्पनीय बरबरताको बनेको छ , छाँया
युद्धले टुक्राटुक्रा…।।

टुटेको बाटोमा चालेको हरेक पाइला,
प्रेमिल नतिजाको क्रूर अनुस्मारक
पीडा अनन्त पीडा जस्तै रहन्छ,
एउटा डरलाग्दो युद्धले मुटु हल्लाउछ
सान्त्वनाको आशामा निराशा थप्दै जान्छ
अभिमानको होडबाजीमा
युद्धको आगो निभाउनुको साट्टो
भिटो पावरको देखासेखी गर्छ।
जल,थल,आकाश को सौर्न्दर्य खोसेर
क्रुर विध्वंस राफल र युद्धपोत डुलाउछ,
युद्धले टुक्राटुक्रा…।।।

बुद्ध अब खण्डहर खरानीको संसारमा घुम्नेछ।
जहाँ खुशी, शान्ति र आशा मेटिएको हुनेछ।
टुक्रिएर झरेको आत्माको शोकमा
मौन मनहरु आवरण अनशनमा बस्नेछ।
तिमीले निम्तो गरेको युद्धले
आकाश रोएर पहाड पग्लेर बग्नेछ।
बिना कसुर रित्तेको छ,काख
आकाश बादलको साटो
मान्छे जल्दै गरेको धुँवाले भर्नेछ।

चिहान कुरि रहेको असंख्य लासहरु
मलामी को पर्खाईमा टोलाएर
जिउँदो मानवता हराएको मान्छेलाई जिस्काउँने छ
युद्धले फक्रिन लागेको जिन्दगीलाई टुक्राटुक्रा हुँदैछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *