शहरमुखी चिन्तन र यसबाट सृजित समस्याहरु

कृष्ण बोहरा
३ पुष २०८० ७:४५

प्राय मानिसहरु गाउँमा भन्दा शहरमा बस्न रुचाउँछन्। यही चिन्तनको फलस्वरुप गाउँमा जनसंख्या पातलो र शहरको जनसंख्या घना हुँदै गइरहेको छ। शहरमा पनि मानिसहरु देशको राजधानी काठमाडौंमा नै बस्न बढी रुचाउने गर्दछन्।

यदि मानिसहरुलाई यो अवसर जुरेन भने नजिकको बजार वा सदरमूकाममा आएर बस्ने लहड चल्दछ। मानिसहरु त्यसै गरिरहेका छन्। शहरमुखी चिन्तनकै कारणले विवाहवारी सम्बन्धमा समेत ब्यापक असर परेको छ।

दूर दराजका गाउँका चेलीहरु अपबाद बाहेक सदरमूकाम वा शहर नजिकको जिल्लामा वा शहरमा नै विवाह गरी जान मन पराउने हुन्छन्। शहर बजारका चेली दूरदराजका गाउँमा विवाह गरी गएको बिरलै पाइएला।

यस्तै अबका दिनमा मानिसहरु युरोप अमेरिका जाने र बस्ने प्रतिश्पर्धा पनि त्यतिकै चलेको छ। यो पनि शहरमुखी चिन्तनकै अर्को रुप हो। छोरा कहाँ छ? भनी कसैले प्रश्न गरे अमेरिकामा बस्छ।

अष्ट्रेलिया र क्यानडामा बस्छ भन्न मानिसहरु ज्यादा रुचाउँछन्। यसरी दूरदराज गाउँका मानिस शहर र युरोप अमेरिका पलायन हुँदै जानाले गाउँमा जनसंख्या बर्षेनी घट्दो क्रममा छ। युरोप अमेरिका जान मानिसहरु जति पनि खर्च गर्न लालायित भएको देखिन्छ।

चाहे जतिसुकै ऋण किन नलागोस्। अबैधानिक बाटो जंगलको बाटो भएर बर्षौं लगाएर अमेरिका छिर्न खोज्ने मानिसको जमात पनि ठूलै संख्या रहेछ। ३५-३६ लाख खर्चेर गएका मानिस जंगलको बाटोमा बास बस्दै जाँदा जाडो र ठिहीले ज्यान गुमाउनेको कथा पनि हामीले नसुनेका होइनौं। यस्तो संख्या पनि बर्षेनि बढेको भन्ने समाचार पढ्न र सुन्न पाइन्छ।

मल्लकालीन ऐतिहासिक घना बस्ती जसलाई शहर पनि भनिन्छ। सिन्धुपाल्चोकको तौथली जानु भयो भने प्राय घरहरु त राम्रैसँंग बनाइएको छ। तर अधिकांश घरमा ताल्चा ठोकिएको पाउनुहुनेछ। मानिस भएका घरहरुमा पनि प्राय बुढाबुडीहरु मात्र भेट्न सकिन्छ।

यसो हुनुको कारण सबै रोजगारीको सिलसिलामा शहरमा बस्ने गर्दछन्। हुन त यो अवस्था प्राय देशभरीनै उस्तै हो। रोजगारीको लागि मलेसिया कतार जस्ता खाडी मुलुकमा जानेको संख्या पनि उल्लेख्य छ। यो पनि युरोप अमेरिका जान नसक्नेको अपरिहार्य बाध्यतात्मक कथा मात्र हो। प्राय मानिसको चिन्तनको गन्तव्य त युरोप अमेरिका नै हो।

के मानिसहरु आफू जन्मेको ठाउँमा बस्न उनीहरु मन पराउँदैनन्? त्यो त हो जस्तो लाग्दैन। त्यसो हो भने मानिसहरुको सोचाई किन शहरमुखी भयो? भन्ने बिषय खोतल्ने हो भने सबैबाट एउटै उत्तर आउन सक्छ। त्यो हो मानिसहरु अवसरहरुको खोजी गर्छन्।

रोजी रोटी, स्वास्थ्य, शिक्षा आदि कुराहरु सजिलै प्राप्त होस् भन्ने प्रत्येक मनिसको चाहना त हुने नै भयो। यस बाहेक मानिस जीवनलाई सरल ढंगले चलाउन पाइयोस् भन्ने चाहना राख्छन्। प्रत्येक मानिस सम्भव भएसम्म शारीरिक परिश्रम ज्यादा गर्न चाहँदैनन्।

यही चाहनाको कारण आधुनिक दुनियामा बिज्ञान र प्रविधिको अथाह बिकास भैरहेको छ। मानिसको अथाह धन थुपार्ने चाहनाका कारण पनि मानवीय श्रम बिस्थापन हुँदै जानुुको कारण हो भन्न सकिन्छ।

किनकी मानवीय श्रम बिना स्वचालित मेसिनहरुले द्रूत गतीमा काम गर्दा धेरै भन्दा धेरै मानवीय आवश्यकताको सामानहरु उत्पादन हुने र यस्तो कारोबारमा नाफा चुलिने रहस्य भएकाले हो।

यसैले बिज्ञान प्रविधिको बिकास हुनुको दुईवटा कारण देखियो। एउटा कारण हो मानिसहरुमा शारीरिक श्रम गर्ने चाहना कम हुनु। अर्को हो नाफा कमाउने सोच र चाहना।

यसैले मानिसका यी दुई चाहानालाई पनि हामीले मान्नै पर्ने हुन्छ। संसारको बिकासमा मानवीय चाहनाले उल्लेख्य भूमिका खेलेको छ। मानवमा भएका यी चाहनाहरुलाई हामी यसरी संकेत गर्न सक्छौं।

-अवसरहरुको खोजी

– शारीरिक श्रम गर्ने चाहना नहुनु

– नाफा कमाउने चिन्तन

मथिका तीन कारणहरुले शहरमुखी चिन्तनको पनि बिकास भयो। संसारमा ठूला ठूला शहरहरुको बिकास पनि मानवीय यी तीन स्वभावको परिपूर्तीका खातिर भयो भनि हामी दावाका साथ भन्न सक्दछौं।

संसारमा ठूला नदी र खोलाका किनारमा मानवीय सभ्यताको बिकास भएको हामी पाउछौं। जस्तो कि मिश्रको सभ्यता नाइल नदीको किनारमा भयो। चीनमा भएको ह्वाङ्गहो नदी किनारको सभ्यता आदि।

यो पनि नदी किनारमा मानिसलाई नभै नहुने पानी यथेष्ट मात्रामा पाइने भएकाले हो। ठूला औद्योगिक शहरहरुमा जनसंख्या बाग्लो हुनुको कारण रोजीरोटीको समस्या हल हुने भएकाले हो।

यस बाहेक पनि बिचार गर्दा सानोतिनो ब्यापार र भारी बोक्ने जस्ता काम गरेर पनि मानिसहरु शहरमा बसिरहेका छन्। कमसेकम पैसाको मुख त देख्न पाइन्छ भन्ने मानिसलाई लागिरहेको हुन्छ। यसैको कारण मानिसलाई गाउँबाट शहरतिर डोर्‍याउँछ।

यस बाहेक राजनीतिक स्वरुपको रोजगारीे पनि नेपालमा पाइन्छ। आजकल बिना लगानीको रोजगारी भनेको राजनीति हो। राजनीति गरेर धन कमाउने चिन्तन पनि यहाँ शहरमुखी चिन्तनकै एक अंग हो भन्ने कुरा पनि हामीले बिर्सन नहुने तथ्य हो।

माथिका बिबिध कारणले मानिसमा शहरमुखी चिन्तनको बिकास भएको देखिन्छ। देशमा हालको अबस्था कायम रहेमा मानिसहरु बिदेश पलायन हुने क्रम पनि रोकिने छाटकाट छैन।

यसबाट निकट भविष्यमै गाउँहरु शून्य हुनेछन्। अहिलेसम्म बुढाबुडी जनसंख्या गाउँमा बसेको देखिन्छ। भविष्यका बुढाबुडी गाउँमा बसेको हुनेछैनन्। किनकी आजका तन्नेरी नै भविष्यका बुढाबुढी हुन्। फलस्वरुप गाउँ शून्य हुने अवस्थामा पुग्नेछ। यसले देशमा निम्न अबस्था श्रृजना हुने देखिन्छ।

– रेमिट्यान्सले देशको अर्थतंत्र जो धानीरहेको छ त्यो अबस्था रहिनैरहने छ। अझ बढ्दै जानेछ।

– जनसंख्याको बृद्धि दर घटदै जाने कुरा स्वभाबिक हुनेछ।

– पर निर्भर अर्थतंत्र बढेर जानेछ।

-परनिर्भर राजनीतिक अबस्था अझ बढेर जानेछ। अस्थिर राजनीतिक अबस्था यसको बिषेशता रहिरहनेछ।

मध्यम र मझौला खालका मानिसहरुले आफ्नै देशमा केहि गर्छु भनेर लाग्यो भने। गत माघ १० गते संसद भवन अगाडि बानेस्वरमा आत्म दाहा गर्न पुगेका प्रेमप्रसाद आचार्यको नियती सबैले भोग्नुपर्छ। देशका नियम कानुनहरु, कर प्रणालीहरु गरी खानेहरुको हितमा छैनन्।

इमान्दारीतापूर्वक काम गर्नेहरुको उचित मूल्यांकन छैन। बेइमानहरुलाई नियमन गर्ने कुनै ब्यबस्था छैन। यसै त देश भित्र गरी खाने अबस्था छैन भने गाउँ त राज्यको दृष्टिमा परेकै छैन।

यसैले माथिका समश्याहरु हल गर्ने हो भने गाउँमा अवसरहरुको श्रृजना गर्दै जानुपर्ने छ। बिकसित देशहरुमा गाउँ र शहरको भेद मेटाउन गाउँमा पनि विविध अवसरहरु श्रृजना गरिएको हुन्छ।

यसैले हाम्रो देशमा पनि कृषिलाई आधुनिकरण गर्दै जानु अपरिहार्य आबश्यकता बनेको छ। हिमाली पहाडी र तराईको हावापानी माटो हेरेर कस्तो उत्पादन कुन हावापानी र माटोमा बढी फस्टाउन सक्छ त्यो खालको उत्पादनमा जोड दिन राज्यले सघाउँदै जानुपर्छ।

बिशेष गरेर हिमाली क्षेत्रमा पशुपालन भेडा च्यांग्रा पालन आदिमा जोड दिनु उपयुक्त हुनेछ। पहाडी क्षेत्रमा फलफूल र तराई क्षेत्रमा अनाज उत्पादमा ध्यान दिए राम्रो हुने देखिन्छ। स्याउ जस्ता फलफूल हिमाली क्षेत्रमा पनि मनग्य हुन्छ।

हिमाली क्षेत्र अथाह जडीबुटीको उत्पादनको भण्डार पनि हो। यस्तै जुन क्षेत्रमा जे उत्पादन हुन्छ त्यो क्षेत्रमा त्यस्तै उद्योगको स्थापना गरी व्यापक जनसंख्यालाई रोजीरोटीको बिकास गर्नु आजको आबश्यकता हो।

जस्तै हिमाली क्षेत्रमा उनी बस्तुसँग सम्बन्धित उध्योगहरु, जडीबुटी संकलन र प्रशोधन सम्बन्धी उध्योग आदि स्थापना गर्न सकिन्छ। पहाडी क्षेत्रमा फलफूलसँग सम्बन्धित उद्योग, गाजा सिस्नु र मदिरा सम्बन्धी उध्योगहरु आदि स्थापना गरी रोजगारीको अवसर श्रृजना गर्नुपर्दछ।

यस्तै तराइमा खाध्यान्न र अरु अनेक प्रकारका उध्योगहरु स्थापना गरी संचालन गर्न सकिन्छ। राज्यले चाहनु मात्र प¥यो। बिदेशी सामानमा कडाई गर्न सक्नु पनि ज्यादा महत्वपूर्ण कुरा हो।

आर्थिक अवसरहरुको श्रृजना नगरी निर्माण गरिने अन्य भौतिक संरचनाहरुको बिकासको खासै अर्थ केही देखिँदैन। गाउँ केन्द्रित, समूह र समुदाय केन्द्रित अर्थतन्त्रमा जोड दिन सके जनतामा सन्तुष्टी र आत्म निर्भर अबस्थाको श्रृजना गर्न सकिन्छ भन्ने लाग्छ।

किनकी समुदायले चाहेको कुरो प्राय आफै पूरा गर्न समूह र समुदाय सक्षम हुन्छन् र सफल बनाउन लागिपर्दछन्। समूह र समुदाय हाम्रो प्राचीन सामाजिक संगठनकै आजको रुप हो। हाम्रो सम्बिधानमा लेखिएको समाजबादमा पुग्न सक्ने सजिलो बाटो पनि त्यही हो भन्ने कुरामा दुईमत हुनेछैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *