मन्त्री र सचिवालय हेरफेर गर्दै प्रधानमन्त्री

डिसी नेपाल
१६ पुष २०८० ८:०३

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीका साथै आफ्ना सचिवालय समेत व्यापक हेरफेरको तयारीमा छन् । मन्त्रिपरिषद् हेरफेरअघि प्रधानमन्त्री प्रचण्डले आफ्नो सचिवालयमा जिम्मेवारी हेरफेर गर्ने बताइएको छ ।

आगामी ११ माघमा हुने राष्ट्रिय सभाको निर्वाचन र सत्तारूढ नेपाली कांग्रेसको ७ फागुनमा हुने महासमिति बैठकपश्चात मन्त्रिपरिषद्को हेरफेर हुनेछ । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेरका लागि गरेको प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा निर्वाचन र पार्टीको महासमिति बैठकपश्चात सहमति गर्ने जनाइसकेका छन् ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव मन्त्रिपरिषद् हेरफेरका विषयमा सहमत छन् । मन्त्रिपरिषद् हेरफेर हुँदा केही मन्त्रालयसमेत साटासाट हुने स्रोतको दाबी छ ।

गृह मन्त्रालय लिएको माओवादी केन्द्रले गृह छोडेर अर्थ मन्त्रालय लिँदै छ भने अर्थ मन्त्रालय लिएको कांग्रेसले गृह मन्त्रालय लिने बताइएको छ । यसमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवा दुवैको स्वार्थ मिलेको छ । प्रधानमन्त्री प्रचण्ड आफ्नै पार्टीका वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हटार आफ्ना विश्वासपात्र बर्षमान पुनलाई सरकारमा भिœयाउन चाहन्छन् । माओवादी केन्द्रका उपमहासचिव रहेका पुनलाई प्रचण्डले अर्थ मन्त्रालयको कमान्ड दिन खोजेका छन् ।

उता, कांग्रेस सभापति देउवाले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई हटाउन खोजेका छन् । तर, उनले गृह मन्त्रालय कांग्रेसले लिएर त्यसमा कसलाई पठाउने भन्ने ’bout केही बोलेका छैनन् । गृह मन्त्रालय नपाउँदा आफ्ना कतिपय सेटिङका काम बिग्रेको बुझाइ देउवाको छ । त्यसैले, उनी अर्थ छोडेर गृह पाउनुपर्ने अडानमा छन् ।

मन्त्रिपरिषद् हेरफेर गर्ने प्रस्ताव प्रधानमन्त्री प्रचण्डले गरेपछि कांग्रेस सभापति देउवाले अर्थ र गृह साट्ने प्रस्ताव गरेको बालुवाटार स्रोतको दाबी छ । देउवाको यस्तो प्रस्तावपछि प्रचण्डले पनि सहज महसुस गरेका छन् । स्रोतका अनुसार मन्त्रालयसमेत साट्ने विषयमा प्रचण्ड र देउवा दुवैको स्वार्थ मिलेको छ ।

गृहमन्त्री श्रेष्ठका कारण हैरान भएका प्रचण्डलाई कांग्रेसको प्रस्तावले राहत मिलेको बताइएको छ । ठूला–ठूला भ्रष्टाचार काण्डहरूमा गृहमन्त्री श्रेष्ठले प्रधानमन्त्री तथा माओवादी अध्यक्षसमेत रहेका प्रचण्डलाई जानकारी नै नगराई गतिविधि गरेका कारण प्रधानमन्त्री प्रचण्ड कांग्रेसको दबाबमा पर्दै आएका छन् । त्यसमाथि आफूलाई समेत बाइपास गर्दै मनलाग्दी निर्णय गर्दै आएका श्रेष्ठसँग प्रधानमन्त्री रुष्ट पनि छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्रीलाई जानकारी नै नगराई गृहमन्त्री श्रेष्ठले कांग्रेस नेता बालकृष्ण खाँणलाई पक्राउ गराएपछि कांग्रेसको तारोमा उनी पर्दै आएका थिए । सत्तारूढ गठबन्धनको मर्मविपरीत गृहमन्त्रीले चाल्दै आएको कदमको मारमा भने प्रधानमन्त्री प्रचण्ड पर्दै आएका छन् ।

सत्तारूढ दलले मन नपराएर मात्र नभई आफूलाई समेत बाइपास गर्दै आएका कारण गृहमन्त्री श्रेष्ठलाई हटाउन प्रधानमन्त्री प्रचण्ड उपयुक्त समय र उपायको खोजीमा थिए । यसै मेसोमा प्रधानमन्त्री र कांग्रेस सभापति देउवाबीच मन्त्रीको सेट नै हेरफेर गर्ने सहमति जुटेको हो । श्रेष्ठकै कारण गठबन्धन सरकारमा अविश्वासको वातावरण बनेपछि देउवा र प्रचण्ड सेटै परिवर्तन गर्ने नाममा गृहमन्त्री फेर्ने पक्षमा पुगेका हुन् ।

उता, कांग्रेस भित्र र बाहिरबाट पनि अर्थमन्त्री फेर्नुपर्ने आवाज उठ्दै आएको छ । मुलुकमा आर्थिक संकट झनै बढ्दै गएको अवस्थामा अर्थमन्त्री महतले काम गर्न नसकेका कारण उनलाई हटाउनुपर्ने माग उठेको हो । यसै कारण अर्थमन्त्री पनि फेरिने निश्चित भएको हो ।

यसैबीच, कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले कांग्रेसका मन्त्री फेर्ने प्रस्ताव प्रधानमन्त्री प्रचण्डबाट नआएको दाबी गरेका छन् । गत १२ देखि १४ पुससम्म बसेको कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकको निर्णय सुनाउन आइतबार आयोजित पत्रकार सम्मेलनमा विश्वकर्माले भने प्रस्ताव नै नआएपछि त्यस विषयमा छलफल गर्नु नपरेको दाबी गरेका छन् । यद्यपि, यसअघि उनले मन्त्रिपरिषद् हेरफेर गर्ने विषयमा प्रचण्ड र देउवाका बीचमा अनौपचारिक छलफल भएको राजधानीसँग बताए ।

मन्त्रालय सञ्चालन गर्नका लागि प्रधानमन्त्रीलाई अप्ठ्यारो परेको स्थितिमा कुन दलको कुन मन्त्रीबाट के अप्ठ्यारो परेको हो ? सम्बन्धित दलका नेतासँग सहमति गरी मन्त्री फेरबदल गर्नसक्ने उनले बताए ।

उता, प्रधानमन्त्री प्रचण्डले मन्त्री हेरफेरअघि नै आफ्नो सचिवालयमा समेत हेरफेर गर्ने भएका छन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सोमबार सचिवालयका महत्वपूर्ण पदमा पुरानालाई हटाएर नयाँ ल्याउने तयारी भइरहेको छ ।

सचिवालयको नेतृत्व गरिरहेकी प्रधानमन्त्री प्रचण्डकी छोरीसमेत रहेकी स्वकीय सचिव गंगा दाहाललगायत बाहिरिने बताइएको छ । उनीसँगै सुरुदेखि जनसम्पर्क र प्रेसअन्तर्गत रहेका केहीलाई पनि परिवर्तन गर्न खोजिएको स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री प्रचण्डकी छोरी नै सचिवालयको नेतृत्वमा भएका कारण प्रधानमन्त्री प्रचण्डसम्म उनका सल्लाहकार र माओवादीका नेता–कार्यकर्ता पुग्न समस्या परेको चर्को गुनासो छ । राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले ‘सल्लाह सुनाउने वातावरण नभएको’ भन्दै यसअघि नै राजीनामा दिइसकेका छन् ।

सरकारको नेतृत्व गरेको एक वर्ष पुगेको अवसरमा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले दोस्रो वर्ष उपलब्धिमूलक बनाउन सचिवालयदेखि मन्त्रीमण्डलसम्म हेरफेर गर्ने स्पष्ट संकेत गरिसकेका छन् ।

राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *