कविता : मेरो सान टोपी

भगवती प्रसाद शर्मा
१७ पुष २०८० १२:२३
332
Shares

शोभा दिनेछ टोपी, सम्मान साथ लाऊँ।
नेपाल बोक्छ जस्ले, टोपी बचाइ लाऊँ।
लाऊँ म भन्छु टोपी, हो यो निसान हाम्रो।
नेपाल हाँस्छ पाए,बढ्ने छ सान हाम्रो।।

हाम्रा हिमाल जस्तै यस्को उचाइ अग्लो।
पार्नेछ माथ ठाडो राखौँ विचार सङ्लो।
हामी फुटे नराम्रो सन्देश त्यो नराम्रो।
सद्भाव प्रेम बाँडौँ आनन्द मिल्छ राम्रो।।

गर्छन् विरोध केही नेपाल मेट्न लाई।
छाती विशाल हाम्रो पच्दैन त्यो भनाइ।
मेरै चिनो मलाई राम्रो हुनेछ टोपी।
यो राष्ट्र प्राण मेरो छाती भरी मलाई।।

आफैँ लडेर मैले संसार जित्नु पर्छ।
आफैँ मरेर मेरो यो देश बाँच्नु पर्छ।
हाम्रो हिमाल जस्तो टोपी बचाइ राखौँ।
मेरो हिसाब सोझो दोस्रो कुरा नचाखौँ।।

माया फुटाइ हाम्रो बैरी बनाई धेरै।
बाँडेर छुद्र पासो थाप्छन् मलाई धेरै।
हो यो निसान टोपी झन्डा सँगै छ मेरो।
को मेट्न खोज्छ देशै हो दुष्ट त्यो लुटेरो।।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *