भौतिक पूर्वाधार मन्त्री ज्वालालाई हटाउने प्रधानमन्त्रीको तयारी

डिसी नेपाल
१८ पुष २०८० ७:३०

काठमाडौं। प्रधानमन्त्री पुष्पमल दाहाल प्रचण्डले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई हटाउने तयारी गरेका छन्।

मन्त्री ज्वालाको असावधानीका कारण बालकुमारीमा दुई जना युवाले ज्यान गुमाउनु परेको निष्कर्षसहित प्रधानमन्त्री दाहालले मन्त्री ज्वालालाई हटाउने तयारी गरेका हुन्।

गत शुक्रबार ललितपुरको बालकुमारीमा घटना मन्त्री ज्वालाको असावधानीका कारण घटेको गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रहरी महानिरीक्षक बसन्त कुँवरले बताएका थिए।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री र प्रहरी प्रमुखले नै मन्त्री ज्वालाको असावधानीका कारण घटना घटेको बताएपछि प्रधामन्त्री दाहाल मन्त्री ज्वालालाई हटाउने निर्णयमा पुगेका हुन्।

प्रधानमन्त्री दाहालले मन्त्री ज्वालाका कारण घटना घटेको प्रारम्भि निष्कर्ष निकालिएको भन्दै पदबाट राजीनामा दिएर सहयोग गर्न आग्रह गरेका छन्। प्रधानमन्त्री दाहालले माधव नेपाललाई नै मन्त्री ज्वालालाई हटाउन लागेको जानकारी दिइसकेका छन्।

ज्वाला एकीकृत समाजवादीबाट मन्त्री बनेका हुन्।

आफूलाई हटाउने सुइँको पाएका मन्त्री ज्वालाले मंगलबार अध्यक्ष माधव नेपाललाई लिएर प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका थिए। मंगलबार विहान प्रधानमन्त्रीलाई भेटेका ज्वालाले गृहमन्त्रीले आफूमाथि दोष थुपारेको भन्दै गुनासो गरेका थिए।

उनले बालकुमारी घटनामा आफ्नो कुनै त्रुटी नभएको बरु सुरक्षा निकायका कारण घटना घटेको प्रधानमन्त्रीलाई स्पष्टिकरण दिएका थिए।
कोरिया भाषा परीक्षा विवादमा प्रदर्शन भइरहेको अवस्थमा मन्त्री झण्डावाल गाडी लिएर प्रदर्शनस्थल पुगेका थिए।

प्रदर्शन भइरहेको स्थानमा मन्त्री पुगेपछि प्रदर्शनकारीले मन्त्री ज्वालाको गाडीमा आगजनी गरेका थिए। प्रदर्शन चर्किएपछि प्रहरीको गोली लागेर दुई जना युवाको मृत्यु भएको थियो।

दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत पानी जहाज बनाउने कम्पनीका लागि आवेदन दिएका युवाहरुलाईे अन्य उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने सूचना ईपीएस शाखाले जारी गरेको थियो।

ईपीएस शाखाको सोही निर्णयविरुद्ध उच्च अदालत पाटनमा निवदेन दिएका १८ जना युवाहरुलाई मात्रै सहभागी गराउने अदालतको आदेश बमोजिम बाँकी अन्य परीक्षामा सामेल हुन नपाउने भएपछि युवाहरुले आन्दोलन थालेका थिए।

सोही दिन ईपीएस परीक्षामा सहभागी हुन नपाएर आन्दोलित बनेका युवाहरुको भीडमा मन्त्री ज्वालाको प्रवेशले नै परिस्थिति असहज भएको घटनाक्रमले पुष्टि गरेको छ।

अहिले सरकार चौतर्फी विवाद र आलोचित बनेको बालकुमारी घटनाको उपज मन्त्री ज्वाला रहेको तथ्य उजागर हुँदा पनि उनले राजीनामा दिएर नैतिकता प्रदर्शन गरेका छैनन्। बरु आफ्नो बचाउमा सफेद झुठ बोल्दै घटनास्थलमा नरहेको कुप्रचार गरिरहेका छन्।

यस घटनामा सुरक्षा व्यवस्था सहज बनाउन असमर्थ भएका मन्त्रीको सुरक्षागार्डका रुपमा रहेका पिएसओ र फिल्डमा खटिएका ललितपुरका डिएसपी निलम्बन गर्ने सरकारले निर्णय गरेको छ। तर मन्त्री ज्वालाबारे कुनै कदम चाल्न सकेको छैन।

ज्वालाको दल एकीकृत समाजवादीका अध्यक्ष रहेका माधव नेपालले उनको बचाउमा अभिव्यक्ति दिइरहेका छन्। उनले आन्दोलन बारे जानकारी नपाउँदा मन्त्री ज्वाला घटनास्थलमा पुगेको भन्दै बचाउमा उत्रिएका छन्।

तथापि मन्त्री ज्वालाले आक्रोशीत युवासँग बलजफ्तीपूर्ण सोही स्थानबाट निस्कने प्रयत्न गरिरहेको सार्वजनिक भिडियोमा देखिन्छ । तर अध्यक्ष नेपालले आफनो दलको मन्त्री प्रकाश ज्वालाको बचाउ गर्दै सूचनाको अभावमा त्यहाँ पुगेको बताएका छन्।

याे पनि पढ्नुस्

मन्त्री प्रकाश ज्वालाको उन्मादले निम्तिएको बालकुमारी घटना

हरुवा नेताहरु चोर बाटोबाट सांसद बन्न हुने, श्रमिकहरुले प्रतिस्पर्धा गर्न खोज्दा गोली हान्ने?

दुई युवाको रगतले लत्पतिएको अनुहारको निर्लज्जता कहिलेसम्म ?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *