व्यायाममा जिमखानाको महत्व

कपिल लोहनी
२१ पुष २०८० ७:२८

पृथ्वीमा जीवजन्तुको उत्पत्ति भएदेखि नै एक ठाउँबाट अर्को ठाउँमा जाने यातायातको साधन भनेको शरीरका विभिन्न अंग र हात खुट्टा नै थिए।

मानवजातिले पनि सुरुमा अन्य जनावरहरूले जस्तै चार हातखुट्टाको मद्दतले हिँड्ने र दौडने गरेको भएता पनि पछि दुईवटा खुट्टाको सहारामा उभिएर हिँड्न सिकेका हुन्। यसरी दशौँ हजार वर्षसम्म मानिसहरू एक ठाउँबाट अर्को समथर वा उकालो-ओरालो ठाउँमा हिँडेरै यात्रा गर्ने गर्दथे।

पछि बिस्तारै घोडा, उँट, हात्ती जस्ता जनावरको ढाडमा बसेर वा कुकुर जस्ता बलिया तथा इमान्दार पशुले तानेर लग्ने पाङ्ग्रारहित डिब्बामा यात्रा गर्न सिके मानिसले। त्यस्तै विपन्न र निरिह मानिसकै काँधमा वा ताम्दानीमा बसेर यात्रा गर्ने सामन्ती चलन पनि व्यापक हुँदै गयो।

विश्वका विभिन्न ठाउँका मानिसहरूले आआफ्ना तवरले आविष्कार गरेका गोला पाङ्ग्राको प्रयोग गर्न थालेपछि भने मानव वा जनावरले तान्ने पाङ्ग्रासहितका यातायातका साधनहरूको प्रयोग गरेर मानिसले नजिक र टाढाका स्थानहरूको यात्रा गर्न थाले भने उत्पादन र व्यापारमा पनि वृद्धि हुँदै गयो।

त्यसपछि भव्य बग्गी, टाङ्गा, साइकल, रेल, मोटरगाडी, मोटरसाइकल, पानी जहाज र हवाइजहाजसम्मको यातायातका साधनमार्फत मानिसहरू सानाठूला यात्रा गर्न थाले।

यातायातका कुनै पनि साधन नहुँदा मानिसहरूले हिँडेरै सबै काम गर्नु पर्ने भएकोले उनीहरू दुख-कष्ट व्यहोर्नु परे पनि वास्तवमा तन्दुरुस्त रहन्थे।

आजसम्म पनि हाम्रा बिकट गाउँघरमा मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा हिँडेरै यात्रा गर्दछन्। त्यसैले अधिकांश मानिसहरू स्वस्थ, सलक्क परेका र छरिता देखिन्छन्। उनीहरूको खुराकी हाम्रो भन्दा बढी भए तापनि सजिलैसँग पचाउन सक्दछन्।

बढ्दो शहरीकरण र विकासको कारण भने हिजोआज शहरी जनताहरूमा हिँडडुल वा शारीरिक क्रियाकलाप निकै नै घटेको छ। त्यस्तै पहिलेको दाँजोमा खाद्यान्न तथा जंक फुडको उपलब्धता र उपयोग पनि तिव्र रूपले बढेकोले मानिसहरू निकै मोटा र भद्दा हुँदै गएका छन्।

शिशु अवस्थादेखि नै मोवाइल र कम्प्युटर र भिडियो गेमको लत लागेकाले आजकलका बच्चा, युवा वा अन्य उमेरका मानिसमा पनि व्यायामको मात्रा न्युन नै भएकोले र कुफत खानपान र निष्कृयताले गर्दा पनि स्वास्थ्यमा ज्यादै नकारात्मक असर पर्न थालेको छ।

प्रत्येक वडामा कम्तिमा एउटा सार्वजनिक जीमखानाको निर्माण गर्न सके र त्यहाँ तालीम प्राप्त प्रशिक्षकको पनि व्यवस्था हुन सके जीम संस्कृति वा अर्को अर्थमा व्यायाम संस्कृतिको विकास हुँदै जाने थियो भने व्यायाम प्रशिक्षण कला जानेकाले रोजगारी पाउनुका साथै युवाहरूमा नशालु पदार्थको दुर्व्यसनतिर ढल्कने क्रम पनि घट्ने थियो।

चरम प्रदूषण र धुलोधुवाँको कारण घर बाहिर धेरै हिँडडुल पनि गर्न नहुने भएको छ भने, बढ्दो भिडभाड र यातायातका साधनको बढ्दो संख्याले गर्दा सुरक्षित हिँडाई पनि सम्भव छैन।

पहिलेका स्कुले नानीहरू घर बाहिर धेरै खेल्ने भएकाले बाबुआमाले घर आएपछि निकै गाली गर्ने गर्दथे भने आजकलका बच्चाहरू घरको कुरै छोडौँ, कोठाबाट समेत बाहिर ननिस्कने भएकाले बाआमाले बाहिर खेल्न र हावा खान जा, कति गुम्सिएर बसेको भनेर घरबाट भकुर्नु पर्ने अवस्था आएको छ।

हामी साना छँदासम्म पनि काठमाडौं वा नेपालका अन्य गाउँशहरमा बिहान बेलुकी हिँड्न निस्कँदा ज्यादै रमाइलो हुने गर्दथ्यो। खुला आकाश, सफा वातावरण, कलकल पानी बग्ने खोला तथा कुलाहरू र हरिया खेतबारीहरू, चारैतिर हरियाली, चराचुरुङगीको चिरबिर, सीमित मानिस तथा सीमित यातायातका साधनको ओहोरदोहोर, दिउँसो चोरफटाहाहरू नहुने जमाना तथा स्वच्छ र मिष्ठान्न चिया-नास्ता सस्तोमा पाइने पसलहरू। एकाध घण्टा हिँडेर घर फर्कँदा कत्ति मजा आउँथ्यो र मन समेत हलुंलो र खुशी हुन्थ्यो।

नजिकका ठाउँहरूमा हिँडेरै यात्रा गरिन्थ्यो भने केही टाढाका ठाउँमा साइकल चढेर जाँदाको अर्कै आनन्द। बिदाका दिनमा साइकल भाँडामा लिएर साथीहरूको समूह बनाएर अलिक टाढासम्म यात्रा गर्दाको आनन्दै अर्कै।

वास्तवमा हामी सानै उमेरदेखि घुमफिर, हिँडाई, फुटबल, ब्याडमिन्टन जस्ता बाहिरी खेलकुद, शारीरिक सुगठन, कराते-जुडो-कुस्ती जस्ता मार्सल आर्ट र संगीत, कला, रङ्गमञ्च र पुस्तकालयको नै आनन्द लिन्थ्यौँ। विज्ञान तथा प्रविधिको विकास आजको जस्तो नभएर पनि होला।

तर आज आएर यी सबै कुरा दन्त्य कथा सरी भइसके। अहिलेका नयाँ पिँढी (जी जेनेरेशन यानी जेन जी) ले त हाम्रा कुरालाई नपत्याउने मात्र होइन, बुझ्दै बुझ्दैनन्। उनीहरूको अधिकांश समय भिडियो गेम, मोवाइलमा च्याट तथा सामाजिक सञ्जालको आनन्द र जंक फुडमा रमाउँदामा नै बित्ने गर्दछ। दिनमा मात्र होइन, निद्रा बिगारेर रात रातभर पनि।

तर पछि पछि उमेर ढल्किँदै गएपछि र केही समृद्धि पनि बढेपछि भने हामीमध्ये धेरैले अक्सर हिँडडुल नगर्ने, खानपानमा बेवास्ता गर्ने, घरमा पकाएका भन्दा बढी रेष्टुरेन्टका खानामा जोड दिने, रसायनिक पदार्थ मिसिएका खाद्यान्न र फलफूल खान बाध्य हुनु पर्ने, घर वरिपरिका जमिनमा घरैघर बनेकाले खुला स्थानको अभाव र कोलाहलको स्थितिले गर्दा घरभित्र नै सीमित हुनु पर्ने, बेरोजगारी तथा महँगीका कारण आम्दानी भन्दा बढी खर्च गर्न बाध्य हुने, आर्थिक तथा सामाजिक कारणले गर्दा परिवारका सदस्यहरू एकै ठाउँमा बस्ने वातावरण नहुने, विदेशिनु पर्ने, नचाहिँदा तनावपूर्ण वातावरणमा बस्नु पर्ने आदि कारणले गर्दा शारीरिक तथा मानसिक रोगहरूको शिकार हुनु पर्ने वाध्यता बढेको छ।

यी सब कारणहरूले गर्दा अस्पताल र चिकित्सकहरूको क्लिनिक धाउनु पर्ने मानिसहरूको संख्या समाजमा निकै बढ्दै गएको छ। दैनिक रूपमा धरै प्रकारका औषधी सेवन गर्नु पर्ने मानिसहरू धेरै छन् हिजोआज।

माथि उल्लेखित कुराहरू र अन्य धेरै कुराहरूले गर्दा आजकल मानिसहरूमा शारीरिक र मानसिक तन्दुरुस्तीको निम्ति पनि व्यायाम गर्नुपर्ने रहेछ भन्ने कुराको हेक्का हुन थालेको छ। मानव शरीरमा गडबडी आउन थाले पनि खानपान र व्यायाम मार्फत यसलाई पुनः स्वस्थ राख्न सकिन्छ।

कैयन् मानिसहरू असल खानपानमा विशेष ध्यान दिएर घरैमा व्यायाम गरेर पनि आफ्नो शरीरको वजनलाई ठीक स्थितिमा राख्न सफल हुन्छन् भने कतिपय मानिसहरू साँझबिहान घर बाहिरका सडक, पार्क आदि ठाउँमा हिँड्न जान्छन्।

पार्कमा हिँड्नु र व्यायाम गर्नु निकै फाइदाजनक हुन्छ तर हामी कहाँ पार्कहरूको निकै कमी छ र भएका पनि सफा र सुविधाजनक छैनन्। आजकल बल्ल नगरपालिकाहरू पार्क निर्माण कार्यमा जुटेका छन्, तर उनीहरू पनि यथेष्ट जमिनको अभावमा ससाना पार्क निर्माण गर्न नै बाध्य छन्।

३ दशक अघिसम्म नेपालमा कूल ३०-४० हजार मोटरगाडी भएकोमा आज ४५ लाख मोटरगाडी र अन्य सवारी साधनहरू सडकमा दिनहुँ गुड्दछन्। ती मध्ये आधाभन्दा बढी मोटरसाइकल छन्।

यी सबै सडकमा आउन थाले पछि एकातिर धुवाँधुलो र कोलाहलपूर्ण ध्वनीको प्रदूषणले मानिसलाई झनै बिरामी तुल्याउँछ भने अर्को तर्फ तीब्र गतिमा चलाइने मोटरगाडी र मोटरसाइकलको ठक्करले अंग भंग भएका वा ज्यानै गुमाएका बटुवा पनि निकै छन् र यो क्रम दिनानुदिन बढ्दो छ।

उरन्ठ्यौला युवाहरूको लापर्वाहीपूर्ण सवारी हँकाईबाट नै अधिक सडक दुर्घटना हुने गरेको छ भने मादक पदार्थको सेवनसँग पनि दुर्घटना निकै जोडिएको छ। यो अवस्थामा घर बाहिर सडकमा व्यायामको निम्ति हिँड्नु निकै जोखिमपूर्ण हुन आएको छ। वास्तवमा राजधानीलगायत हाम्रा अधिकांश सडकमा पैदलयात्रीको निम्ति हिँड्न उचित र चौडा पेटी पनि छैनन्।

विगत ३-४ दशक यता काठमाडौं तथा अन्य ठूला शहरहरूमा व्यायाम कै लागि विशेष प्रकारका जीमखानाहरू स्थापना गरिएका छन्। विशेष सुविधाका कारण कुनै महँगा छन् भने कुनै ठीकै खालका।

ठूला तारे होटलहरूमा जीमखाना र पौडी पोखरीको सुविधा पाउन ठूलै धनराशी खर्च गर्नु पर्दछ, जुन सबै नेपालीको निम्ति सम्भव छैन। आम नेपालीको निम्ति भने हाम्रो सरकारले पौडी पोखरी वा जीमखाना निर्माण गरेर उपलब्ध गराउन सकेको छैन।

विकसित मुलुकको कुरा छोडौँ, हिजोआज हामी जस्ता धेरै विकाशशील राष्ट्रहरूमा पनि सामुदायीक व्यायामस्थलहरूको व्यवस्था हुन थालेको छ। तर नेपालमा अभैm पनि त्यस्तो व्यवस्था भएको पाइँदैन।

जे होस् हामीले फजुल खर्च गर्ने र अस्वस्थकर खाना खाने गरेको थोरै पैसा मात्र बचाउन सकेमा सोही रकमको सदुपयोगले हामी विभिन्न शहरहरूमा खुलेका नीजि जीमखाना यानी व्यायामशालाको सदस्यता लिएर दैनिक व्यायाम गर्न सक्दछौँ आजकल।

मैले पनि जीमखाना जान थालेको ४ दशक भइसक्यो। वजन घट्नु वा बढ्नु भन्दा पनि व्यायामशालामा नियमित रूपमा गएर व्यायाम गर्ने व्यक्ति स्वस्थ नै रहन्छ।

कैयन् मानिसहरूमा जीमखाना वा व्यायामशाला भनेको फलाम उचाल्ने ठाउँ भन्ने एउटा गलत सोचाइ छ। युवाहरू वाहेक अर्धवैँशे तथा बुढाबुढीले जीमखानामा व्यायाम गर्दा ढाड सड्किने, कमजोरीले बेहोस हुने वा हृदयाघात नै हुने भन्ने गलत सोच पनि धेरैमा छ।

मेरा केही अग्रज र साथीभाइलाई व्यायामबाट फर्केर घर जान लाग्दा भेट भएको वखत केहीले यो उमेरमा जीम गर्नु हुँदैन, हिँड्ने मात्र गरे पुग्छ भन्ने गर्दछन् भने केहीले हाँसेर उडाउँछन्।

हालैको एक अध्ययनले उमेर बढ्दै गएपछि शरीरको मांसपेशीमा कमी हुने र हड्डीहरू पनि कमजोर हुँदै जाने कुरा तथा घुँडा तथा अन्य स्थानका हड्डी खिइएर शरीरलाई थाम्न कठीन हुने कुरा बताएको छ।

यस्तो स्थितिमा जीमखानामा गएर व्यायाम गर्नाले केही हदसम्म मांसपेशीलाई बढाउन मद्दत पुग्नुका साथै शरीरका हातखुट्टा पनि मजबुत हुँदै जाने हुँदा मानिसको शरीरको अंगविन्यास (पोस्चर) सुदृढ हुनुका साथै धेरै उमेरसम्म मानिस कलिलै र तन्दुरुस्त रहने गर्दछन्।

वास्तवमा केही व्यक्तिहरू व्यायामशालाहरूमा व्यायाम गर्दा गर्दै बेहोश भएका वा हृदयाघात भएको घटनाहरू पनि पटक पटक सुन्नमा आएको छ।

यसो हुनुका प्रमुख कारणमा व्यायाम गर्नु भन्दा अगाडि व्यायामको निम्ति शरीरलाई तयारी वा अर्को शब्दमा वार्म अप नगर्नु, अघिल्लो दिन अधिक मदिरा तथा धुम्रपान गरेर वा ढिलो सुतेर व्यायाम गर्न जानु, प्रशिक्षक वा जीमखानाका गुरुको निर्देशनको पालना नगर्नु, व्यायामको समयमा यथेष्ट जल सेवन गरेर शरीरलाई स्फूर्त बनाउन मद्दत नगर्नु वा आफूले गर्न सक्ने भन्दा बढी व्यायाम गर्न वा वजन उठाउन खोज्नु हुन्।

आधुनिक जीमखानामा संगीतमय वातावरणमा कार्डियो यानी मुटु तथा स्वासप्रश्वासलाई फाइदा गर्ने व्यायाम, शरीरको वजन घटाउन वा बढाउन मद्दत गर्ने व्यायाम, पेट, कम्मर, खुट्टा, छाती, ढाड, काँध आदि सबै अंगलाई स्वस्थ राख्ने व्यायामहरू गर्न सिकाइन्छन्।

यो सब व्यायामको निम्ति जीमखानाहरूमा ट्रेडमिल मेसिन, क्रस ट्रेनर, साइकल, शरीरका विभिन्न अंगको व्यायाम गर्ने उपकरणहरू, व्यायामको निम्ति गरिने भारोत्तोलनका लागि आवश्यक फलामे वजनहरू तथा सचित्र वर्णीत चार्ट आदि उपलब्ध हुन्छन्। योग, जुम्बा, एरोविक्स तथा मानसिक तनाव कम गर्ने उपायको निम्ति विशेष स्थान तथा कक्षको पनि बन्दोबस्त गरिएको हुन्छ।

माथि उल्लेखित सबै थरीका व्यायामहरूलाई सुरक्षित तवरले सम्पादन गर्न प्रत्येक जीममा कुशल प्रशिक्षक यानी पुरुष तथा महिला गुरूहरूको पनि व्यवस्था गरिएको हुन्छ। त्यस्तै व्यक्तिगत ट्रेनर र डाइटिशीयनको पनि व्यवस्था गरिएको हुन्छ।

कैयन् व्यायामशालाहरूमा पौडी पोखरी पनि हुन्छन्। व्यायाम पश्चात नियमित स्नान गर्नु अघि वाष्फ (स्टिम) र उष्ण हावा (सौना) स्नान गर्ने सुविधा पनि सबैजसा व्यायामशालाहरूमा हुन्छन्।

आफूलाई पायक पर्ने समय यानी बिहान, दिउँसो वा बेलुकी जुनै बेलामा पनि एकाध घण्टा जीमखानामा गएर व्यायाम गर्दा सडकको धुलो, धुवाँ र कहाली लाग्दो वातावरण र होहल्लाबाट मुक्ति पाइने तथा अनेक क्षेत्रसँग सम्वद्ध तथा विभिन्न उमेर समूहका मानिसहरूसँग घुलमिल गर्न पाउँदा मानसिक तनावमा पनि निकै हदसम्म कमी आउने भएकोले जीमखानामा गएर व्यायाम गर्ने मानिसहरूको संख्या बढ्दो छ।

स्थानीय सरकारहरूले आफ्ना इलाकामा पार्क तथा विभिन्न खालका खेलकुदका स्थलहरू निर्माण गर्ने क्रम बढ्दै गएको छ। पार्कहरूमा पनि हिजोआज जीमसँग सम्बन्धित उपकरणहरू जडान गर्ने काम हुँदै आएको छ।

त्यस्तै प्रत्येक वडामा कम्तिमा एउटा सार्वजनिक जीमखानाको निर्माण गर्न सके र त्यहाँ तालीम प्राप्त प्रशिक्षकको पनि व्यवस्था हुन सके जीम संस्कृति वा अर्को अर्थमा व्यायाम संस्कृतिको विकास हुँदै जाने थियो भने व्यायाम प्रशिक्षण कला जानेकाले रोजगारी पाउनुका साथै युवाहरूमा नशालु पदार्थको दुर्व्यसनतिर ढल्कने क्रम पनि घट्ने थियो।

हामी जुनैसुकै उमेर समूहका भए तापनि आजै गएर जीमखानामा भर्ना होऔँ र शरीरलाई स्वस्थ र स्पूmर्त बनाऔं। तर जीमखाना रोज्दा भने माथि उल्लेखित सुविधा सम्पन्न र सफाइमा ध्यान दिने जीमखाना नै रोज्नु पर्दछ।

(लेखक विकास अर्थशास्त्री र एकल व्यक्तित्व समाज, नेपालका अध्यक्ष हुन्)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *