साहित्य

कथा : अन्तर्वार्ता

खेमराज पोखरेल
२८ पुष २०८० ७:५३

ऊ पेसाले यौन पत्रकार हो। पत्रकार त्यसै पनि जोखिमवाला पेसा हो। त्यसमाथि यौन पत्रकार झन् गाह्रो। मान्छेले साँचो भन्दै भन्दैनन्। कल्पनाले पत्रकारिता चल्दैन।

०००००००

क्रिस्टिना अत्यन्त नाम चलेकी यौनकर्मी हुन्। अर्थात् उनी सहरकै एक नम्बर हुन्। उनी पैँसट्ठी वर्षको उमेरमा यौन पेसाबाट अवकास लिँदै छिन् भन्ने समाचार व्याप्त थियो। उसले काम गर्ने म्यागाजिनमा उनको अन्तर्वार्ता छाप्नु थियो।

उनी यति व्यस्त कि अन्तर्वार्ता दिन उनीसँग समय र इच्छा दुवै थिएन। उनकी पि.ए.लाई बल्लबल्ल मिलाएर अन्तर्वार्ताको समय मिलाइएको थियो। यो समय क्रिस्टिनाले अवकास लिएको ठिक भोलिपल्ट जुरेको थियो। उनी समयको एकदम ‘पङ्च्युअल’ भन्ने हल्ला थियो।

ऊ ठिक समयभन्दा पाँच मिनट पहिला नै उनको यौन अफिस पुगेको थियो। क्रिस्टिनाले उसलाई ‘किन पाँच मिनेट पहिला आएको? भनी प्रश्न गरिन्। उनले थपिन्ः
‘पत्रकार महोदय, यो पाँच मिनेटको ठूलो महत्व हुन्छ जीवनमा। यो पाँच मिनेटमा संसार प्रलय हुन सक्छ, ठूला ठूला परिवर्तनहरु हुन सक्छन्। यो पाँच मिनेट जीवनमा ख्याल ठट्टा होइन’

उसले क्रिस्टिनासँग एक घन्टाको समय किनेको थियो। साँझ परेको थियो। ठिक छ बजे उनीहरु एकअर्काका सामुन्ने काउचमा बसेका थिए। उनले भनिन्ः

‘ल पत्रकार महोदय, अब तपाईँको समय सुरू भयो, सुरू गर्नुहोस्, यो पैसा तिरेको समय हो औपचारिकतामा नजानुहोस्, सोझै विषयवस्तुमा प्रवेश गर्नुहोस्’ उनले आफ्नो ठूलो घडीमा एक घण्टामा बज्ने एलार्म लगाइन्।

उसले तत्काल प्रश्न सोध्योः

‘तपाईँले यौन पेसा अँगाल्नुको कारण के हो?’

‘पत्रकार महोदय, यो प्रश्न बगम्फुसे हो। यो एउटा पेसा हो, तपाईँको पत्रकारिता पेसा जस्तै। मैले तपाईँलाई नै सोधेँ कि तपाईँले किन पत्रकारिता पेसा अपनाएको हो? मेरो प्रश्नमा एउटा सटीक उत्तर तपाईँले दिनु हुनेछ, किनकि तपाईँ पत्रकार हो जुन उत्तर झुट र बनाइएका रोमाञ्चक उत्तर हुनेछ, किनकि तपाईँ पत्रकारहरु झुटलाई रोमाञ्चक बनाएर व्यापार गर्नुहुन्छ’ क्रिस्टिनाको यो उत्तरबाट ऊ तर्सिएको थियो। पैसा तिरेर लिएको समय उपयोग गर्नै पर्ने दबाबमा थियो ऊ। उसले पनि तत्काल प्रश्न गर्‍योंः
‘तपार्इँले लिनुभएको यौन पेसा पनि झुटो रोमाञ्चकता त हो नि, होइन र?’

‘तपाईँ पत्रकार हो नि। भ्रमको खेती गरिहाल्नु भयो। यौन पेसामा झुट हुँदै हुन्न, त्यहाँ ‘एक्सन’ हुनै पर्छ, एक्सन नभई पत्रकारितामा जस्तो हल्ला गरेर यो पेसा चल्दैन, र रोमाञ्चकताका लागि कुनै यौनकर्मीले यो पेसा गरेका हुन्नन् । के बैंकमा पैसा गन्ने कर्मचारीले बैंककै पैसा गन्दा आनन्द महसुस गर्छ र? तर त्यो आफ्नो पैसा भए कत्ति रोमाञ्चक हुन्छ भन्नुस् त?’

क्रिस्टिनाको जवाफबाट ऊ यो निष्कर्षमा पुग्दै थियो कि यो चानचुने स्वास्नीमान्छे होइन। उसले हठात् फेरि प्रश्न गर्‍योः ‘क्रिस्टिना, तपाईँसँग यी सबै उमेरका यौनगामी पुरुष किन लाम लाग्छन्? जब कि अरु यौन अड्डामा त खाली खाली हुन्छन्। यसको कारण के हो?’

‘हो पत्रकार महोदय, बल्ल तपाईँ कुराको बिन्दुमा आउनुभयो। मैले यो पेसा अठार वर्षकी हुँदा सुरू गरेकी थिएँ। अहिले पैँसट्ठी वर्ष भएर आफैँ रिटायर भएकी हुँ। अहिले पनि मेरा ग्राहकहरुको अनुरोध छ कि म यो पेसाबाट अझै केही वर्ष रिटायर नलिऊँ।

किन? किनकि यो सेवामूलक पेसा हो। ग्राहकको इच्छाअनुसार सेवा दिएपछि ग्राहक अन्त किन जाने? अन्त गइहाले पनि ऊ अर्कोपल्ट मैकहाँ आउँछ र मैलाई भन्छ ‘क्रिस्टिना अस्ति अन्त गएको बोर भएँ। ‘अनस्किल्ड’ रहिछे’। सेवा र पेसाको महत्व बुझेपछि कुनै पेसामा पनि ग्राहक अन्त जाँदै जान्न नि’

उसले क्रिस्टिनालाई ठाडै प्रश्न ग¥योः ‘तपाईँले यौन अड्डा खोलेर पुरूषहरुलाई बिगारि दिनु भयो। परिवार भाँडिदिनु भयो। यसबाट कैयौँ घरहरु बरबाद भएका छन्, तपाईँलाई ग्लानि हुन्न?’

‘पत्रकार महोदय, तपाई फेरि पत्रकारिताको झुटको खेती गर्न थाल्नुभयो। मेरो अड्डाले गर्दा धेरैको घर व्यवस्थित भएको छ। घरमा श्रीमतीसँग यौनमा असन्तुष्ट भएका पुरुषहरु नै मकहाँ आउने हुन्। किनकि श्रीमतीहरु यौन ज्ञानको अभावले श्रीमान्लाई सन्तुष्ट पार्न सक्तैनन्। श्रीमान् उत्तेजित हुन्छ, तर श्रीमती भन्छिन् ‘आज नाइँ’ र यो क्रम प्रायः दोहोरिन्छ सधैँजसो। किनकि श्रीमती ठान्छिन् कि यौन क्रियाकलाप सन्तान उत्पादन गर्ने मात्र हो अन्यथा यो घिन हो, पाप हो, लाज हो, अधर्म हो। यो मनोविज्ञानबाट गुज्रेका श्रीमतीहरुका श्रीमान्हरु आजित भएर वैकल्पिक बाटो खोज्दै मनजिक आइ पुग्छन्। हेर्नुहोस् मेरो अनुभवले के भन्छ भने यदि घरमा श्रीमतीले श्रीमान्लाई सन्तुष्ट पार्ने हो भने ऊ श्रीमतीको वृत्तबाट टाढा जानै सक्तैन। तर श्रीमती केराको थामजस्तो भएपछि त ऊ भाग्छ र मनजिक आइ पुग्छ। उसले यौनतुष्टि यहाँ गर्छ, पारिवारिक जिम्मेवारी उहाँ निभाउँछ। उसलाई कुनै रिस्क छैन म नजिक आउँदा। उसको परिवारलाई पनि कुनै रिस्क छैन। त्यसलाई म प्रशिक्षण पनि दिन्छु, मनोवैज्ञानिक प्रशिक्षण। म मेरा ग्राहकलाई भन्छुुः ‘श्रीमतीका उच्छ्वासहरुलाई बुझ, उसको मनोवैज्ञानिक उपाय अपनाऊ’ ऊ मनोरोगबाट समेत जोगिन्छ। जब कुनै लोग्नेमान्छेले आवश्यकताभन्दा बढी श्रीमतीलाई माया गरेको हुन्छ, त्यहाँ शङ्का गर्नुस् ऊ मेरो ग्राहक हो’

०००००००

‘हिजै मात्र मेरी श्रीमतीसँग भएको ठासठुस यसले थाहा पाए जस्तै गरी पटापट भनी बा’ उसले आफ्नै मनसँग सोध्यो। उसकी श्रीमतीको सधैँको व्रत, सधैँको बिरामी, सधैँको झर्कोफर्को अनि अघिपछि आइस्यो र गइस्यो भनेर आत्मीयता देखाएर अति सेक्सी छु भनेर देखाए पनि यौनको मामलामा अनावश्यक शिथिल।

एकपल्ट त कस्तो भने उसको र उसकी श्रीमतीका बिचमा कुरा पनि नभएको बिस दिन भइसकेको थियो र कारण यौन नै थियो। बाहिर देखाउन अनेकौँ कारणहरु थिए। श्रीमती उसलाई भन्थिन्ः ‘पैसा पुगेन, अझै चाहियो, जीवन कसरी चल्छ’ ऊ भन्थ्योः ‘फजुल खर्ची’। यो बाहिरी कारण मात्र थियो।

भित्री कारण यौन नै थियो। अहिलेसम्म एक पत्नीव्रतमा बसेको उसलाई वैकल्पिक बाटो खोज्न मन लाग्न थालेको थियो। तर उसको आफ्नो विवेकले उसलाई शान्त गराउँथ्यो। ऊ श्रीमतीमा मनोवैज्ञानिक कारण खोज्थ्यो। यौन साहित्यका पुस्तकले भन्थेः ‘पुरुषमा भन्दा महिलामा यौन क्षमता दोब्बर हुन्छ’

उसकी श्रीमती धार्मिक स्वभावकी छन्। प्रवचन सुन्न जान्छिन् र सिकेर आउँछिन्ः ‘यी सामाजिक सम्बन्धहरु मिथ्या हुन्, मर्दासँगै जाँदैनन्, यसबाट टाढा बस्नुपर्छ, भगवत् प्राप्त गनुपर्छ अनि मात्र यो दुःखी मानव चोलाबाट मुक्ति पाइन्छ’।

अनि उनी हप्तामा व्रतै व्रत। कति कति नाटीकुटी, चोखो, पवित्र आदि आदि। अनि उनी यौनकर्मलाई सोझै भन्थिन्ः ‘यौनकर्मको प्रयोजन सन्तान उत्पादन मात्र हो, सन्तान भइसके। अब परमार्थतिर लाग्नुपर्छ’। बाहिरबाट हेर्दा उनीहरुका सम्बन्ध चखेवा चखेवीको जस्तो थियो। भित्रभित्रै आगो सल्किएको थियो।

यसको छनक कसैले पाउने कुरै थिएन। तर श्रीमतीलाई एउटा ठूलो डर थियो कि उसले अर्की ल्याउने छ। यसबेला ऊ वैकल्पिक बाटो तय गर्न खोज्दै थियो। ठिक यसै बेला ऊ क्रिस्टिनासँग अन्तर्वार्ता लिन बसेको थियो।

‘ओ पत्रकार महोदय, कता हराएको? यो तपाईँले पैसा तिरेको समय हो। सदुपयोग गर्नुहोस्’

ऊ छाँगाबाट खसेजस्तो भएको थियो। उसको समय सकिने स्थितिमा थियो। त्यसैले छिटो छिटो प्रश्न ग¥योः ‘तपाईँको परिवार छैन?’

‘छ नि, एउटा छोरो छ, तर ऊ कुन सहरमा छ, के गर्छ मलाई थाहा छैन। ऊ पाइलट हो। उसको पनि व्यक्तिगत जीवन छ नि। मैले अनावश्यक किन चासो राख्नु र?’

‘अनि’

‘ए तपाईँले मेरो छोरोको बाउ को हो भन्नु भएको होला। छोरो मेरो ब्वाइफ्रेन्डको निसानी हो। मेरो एउटा ब्वाइफ्रेन्ड थियो। मान्छेलाई माया गर्नुपर्छ, घृणा गर्नु महापाप हो भनी उसैले सिकाएको हो। त्यसपछि हरेक मान्छेलाई माया गर्छु, मानवीयता एकदमै ठूलो कुरा हो। मान्छेका समस्याहरुले मलाई असाध्य चाँडो छुन्छ। म उसलाई अति नै माया गर्छु, अँ मेरो परिवार भनेकै मेरा ग्राहक हुन्, मैले मेरा बर्थ डेहरु ग्राहकसँगै मनाएकी छु । बिचरा ती कति मायाका गिफ्ट लिएर आउँछन्, के बयान गरुँ?’

क्रिस्टिनाको ठूलो घडीले उसले किनेको समय सकिएकाले करायोः ‘किरिरि‘…………… ’।

उनले भनिन् ‘तपाईँले किनेको समय सकियो। तर म तपाईँलाई टिप्स दिन्छु। किनकि म मेरा हरेक ग्राहकलाई समयपछि एउटा अविस्मरणीय ‘किस’ टिप्स दिन्थेँ। उसले त्यो टिप्स कहिल्यै भुल्न सक्तैन थियो। आज तपाईँ मेरो ग्राहक हो। यौनको ग्राहक त होइन तर यौनकर्मीको इतिहास, उच्छ्वास लेख्न मेरो ग्राहक बन्नुभएको छ। यसअघि पनि एउटा पत्रकार मेरो ग्राहक भएर आएको थियो। ऊ मसँग क्रियामा थियो। तर उसले त्यो क्रियामा कुनै दिलचस्पी देखाइ रहेको थिएन। ऊ ज्यादातर मेरो व्यक्तिगत कुरा मात्र सोध्थ्यो। मैले थाहा पाइ हालेँ कि ऊ पत्रकार हो, कि लेखक’
‘अनि मेरो टिप्स चाहिँ के हो नि?’

‘ए अँ साँच्चि, म त टिप्सको कुरा गरिरहेकी थिएँ तर अन्तै अलमलिएँ छु। म तपाईँलाई दुइवटा टिप्स दिन्छु। एउटा टिप्स तपाईँले पहिले सोधेको प्रश्नको उत्तर हो। अँ म कसरी यौनकर्मी भएँ? सबै पत्रकार र लेखकलाई यो प्रश्नको उत्तर नभइ हुन्न। मान्छेले पेशा आकस्मिक रुपमा अँगाल्नु पर्छ। अल अफ सडेन। र यो जीवनभरि यसैगरी चलिरहन्छ। रेगुलर वा इरेगुलर। वा बाइ चान्स। मेरो ब्वाइफ्रेन्डको एउटा मिल्ने साथी थियो जोन। मेरो खटपट सुरू भइसकेको थियो ब्वाइफ्रेन्डसँग। एक दिन जोन मेरो घरमा आयो र मसँग सम्बन्ध राखी हाल्ने प्रस्ताव राख्यो। म त अचम्म भएँ। जोनको पनि मेरो ब्वाइफ्रेन्डसँग खटपट भएको रहेछ। जोन मेरो ब्वाइफ्रेन्डकी गर्लफ्रेन्डसँग सहवास गरेर रिस फेर्न चाहँदो रहेछ। र मलाई पनि मेरो ब्वाइफ्रेन्डले धोका दिइसकेको हुनाले म पनि उसको बेस्ट फ्रेन्डसँग सहवास गरेर रिस फेर्न चाहन्थेँ।जोनले सहवासकै क्रममा भनेको थियोः ‘क्रिस्टिना म तिम्रो ब्वाइफ्रेन्ड हुइनँ, तिम्रो बेस्ट फ्रेन्ड पनि हुइनँ’

जोनले जाँदा जाँदै मेरा अगाडि केही रूपियाँ छाडेको थियो र ऊ भन्दै थियोः ‘म तिम्रो मिहिनेत खान्नँ। हिसाब बराबर’

त्यसपछि जोन बाक्लै आउन थाल्यो। मेरो गर्जो टर्न थाल्यो। पछि उसले उसको अर्को साथी पनि लिएर आयो।

‘यो तिम्रो पहिलो टिप्स’ क्रिस्टिनाले उसलाई भनेकी थिई ।

‘अनि दोस्रो टिप्स चाहिँ के हो?’ उसले क्रिस्टिनालाई सम्झाएको थियो।

‘ए अँ, दोस्रो टिप्स’

उनी आफू बसेको काउचबाट उठिन् र ऊ नजिक आइन् र भनिन्ः ‘पत्रकार महोदय तपाईँ पनि उठ्नुस् त’

ऊ पनि उठेको मात्र थियो कि क्रिस्टिानाले उसको टाउकामा च्याप्प समाइन् र उसको गालामा ‘किस’ गरिन्। यो थियो दोस्रो टिप्स।

ऊ बाहिर निस्क्यो। ऊ मनमनै भन्दै थियोः ‘अहा यो दोस्रो टिप्स’। र उसलाई लागि रहेको थियो ‘कठै बिचरी श्रीमती। उफ क्रिस्टिनाले पेसा छोडी हाली’
उसले क्रिस्टिनाको किसको लेख चाहिँ म्यागाजिनमा छाप्यो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *