सेलरोटीमा एक फन्का

शान्ता सुवेदी
२९ पुष २०८० ७:४३

ढिकीमा कुटेको चामलको पिठो
आमाले पकाएको सेलरोटी मिठो।
मादल बजाउँदै भैली गीत गाउने
सेलरोटी खाने नाच्ने रमाउने।

बालककालमा तिहारको बेलामा गाउँदै सेल रोटी खाँदै रमाउँदै गरेको सम्झनाले पनि मन रोमान्चित हुन्छ। सेल रोटी नेपालीको मौलिक खाना हो। अझ यो अंकगणितको सुन्ना जस्तो गोलाकार विशेष खाद्यको नेपाली समाजमा आफ्नै किसिमको महत्व छ। सकेसम्म आजका शब्दहरु सेलका वरिपरि फन्का मार्नेछन्।

सेल खाद्य पदार्थ मात्र होइन यो धार्मिक पूजाआजाको प्रसाद पनि हो। यसले धार्मिक ग्रन्थमा पनि सम्मान र महत्व पाएको छ। धेरै धार्मिक ग्रन्थहरुमा सेल रोटीको चर्चा पाइन्छ। हिन्दु महिलाहरुको प्रसिद्ध धार्मिक ग्रन्थ स्वस्थानी व्रतकथामा सेलरोटीको धेरै चर्चा छ।

सेल रोटीलाई प्रसादको एउटा अंश मानिएको छ। धेरै पूजाहरुमा सेलरोटीलाई प्रसादको रुपमा सामेल गर्ने चलन विद्यामान छ। कतिपय परिवारको सदस्य,आफन्त वा साथीभाइलाई घरबाट बिदा गरेर पठाउदा सेलरोटी खान दिने चलन छ। यसको कारण हो सेलरोटी खान दियो भने सेलरोटी फन्को मारेर एकछेउमा जोडिए जस्तै फन्को मारेर आइपुग्छन् भनेर सेल खुवाएर पठाउने चलन छ।

सेलरोटीको तिहार हो अथवा तिहारको सेलरोटी हो। तिहार नेपालीको वर्ष दिनमा आउने रमाइलो र ठूलो चाड भएकोले तिहार सेलरोटीमय हुनेछ। हामी लेखलाई पनि सेलरोटीमय बनाऔं। सेलरोटी लेखौं,सेलरोटी पढौं र सेलरोटी खाऔं। र सेलरोटीको गीत गाऔं। किनभने सेलरोटी नेपालीको प्रसाद हो। सेलरोटी नेपाली महिलाको कोशेली हो। सेलरोटी नेपाली महिलाको खाद्य सीप पनि हो।

आजभन्दा चालिस पचास वर्ष  अघि अझ त्यो भन्दा अधि हाम्रो पूर्वी पहाडमा सेलरोटी पकाउने विशेष दिन हुन्थ्यो। अहिले जस्तो जहिलेसुकै सेलरोटी पकाइन्नथ्यो। र जताततै सेलरोटी पाइन्नथ्यो।

बजार होटलहरुमा भने सेलरोटी बेच्न राखेका हुन्थे। गाउँघरमा भने बिबाह, ब्रतबन्ध, पूजाआजा, चाडपार्व आदिमा सेलरोटी पकाइन्थ्यो। सेलरोटी तिहारको विशेष परिकार हो भन्ने सबैलाई थाहा छ। त्यस्तै माघे सक्रान्तिमा पनि सेलरोटी पकाइन्थ्यो।

कुनै नयाँ दुलही मैतालुको रुपमा बिबाहित धरमा आउँदाको विशेष कोसेली सेलरोटी नै हुन्थ्यो। डालोभरि थुन्सेभरि सेलरोटीको कोसेली भरियालाई बोकाएर लिएर आएकी हुन्थिन्। पहाडमा अहिले जस्ता अन्य अनेक प्रकारका मिठाईहरु वा तयारी खाना पनि पाइँदैनथे।

त्यसैले सेल रोटीको कोसेलीमा एकछत्र राज थियो। कि सेलरोटी सम्मानित कोसेली थियो कि कुराउनी ( खुवा ) पनि सम्मनित कोसेली थियो। खासगरी यस्तो कोसेली क्षेत्रीबाहुन परिवारमा प्रचलित थियो।

मलाई राम्रो सम्झना छ म आफैं मैतालु भएर घर जाँदा एक थुन्से सेल रोटी, अनर्सा र अन्य चिजबिजको साथ कोसेली लिएर गएको थिएँ। परिवारका मान्यजन प्रियजन नातागोता आफन्तजन छर छिमेकी सबैले सेलरोटी स्वाद मानेर खाएको अहिले जस्तो लाग्छ।

म पनि मिठो सेल पकाउनेमा पर्दी रहेछु भन्ने घरमा गएपछि थाहा भयो। तिहारको बेला हो कि अन्य कुनै बेलामा हो घरमा सेलरोटी पकाउँदै थिएँ। श्रीमान्को साथमा एकजना गाउँले साथी पनि आएका थिए। उनले रोटी धेरै मिठो मानेर निकै थपेर खाए।

रोटी खाइसके पछि उनले भनेका थिए-यति मिठो रोटी जीवनमा खाएकै थिएन मेरो त जिब्रो नै फर्कियो।’ अहिले पनि मैले पकाएका सेलहरु परिवारजन तथा नातागोताहरुले मन पराउँदा म सिपालु नै भएको बारम्बार प्रमाणित भएको छ। मैले सेलरोटी पकाउने सीप आमाबाटै सिकेको हो। मैले आमाले पकाएका सेलरोटी मिठा भनेजस्तै मेरा छोरीहरुले पनि तेसै भन्छन्। तर उनीहरुले मेरो सीप सिकेनन्। थोरै मात्रै सिके।

गाउँ घरमा सेल पकाउन अहिले जस्तो सजिलो पनि थिएन। पहिलो त सेल पकाउने पिठो बनाउन सजिलो थिएन। धान ढिकीमा कुटेर चामल बनाउनु पर्ने। चामल पनि ढिकीमै कुटेर पिठो बनाउनु पर्ने। अहिले जस्तो मिलको सुविधा पनि थिएन न ग्र्यान्डरको सुविधा नै थियो पिठो बनाउन।

सेलरोटी पकाउने तेल बनाउन त झनै कठिन थियो पहाडमा। तोरी कुट्यो फुलो बनायो कराइमा ततायो बाँसको पेचामा हालेर काठको चेपुवामा राखेर ढुंगाले थिच्नुपर्ने। ढुंगा उचाल्न पनि निकै बल चाहिने। आगो पनि दाउरा बाल्नु पर्ने। धुवाँ भन्न नपाइने। त्यसैले त सेलको महत्व हुन्थ्यो।

कहाँ अहिले जस्तो ग्यासको सुविधा थियो र। तर कोलमा पेलेको शुद्ध तोरीको तेलमा कुनै रसायनिक मल नहालेका चामलको पिठोमा बनाएका रोटीको स्वाद नै बेग्लै। अझ शुद्ध घिउमा पकाएका रोटीको स्वाद त झनै बिशेष किसिमको हुन्थ्यो।

अहिले जस्तो जहिलेसुकै र जहाँसुकै सेलरोटी नपाइने हुनाले या त योजना बनाएर पकाएको हुनुपर्ने या त चाडबाड र कोसेलीपातको संयोग मिल्नुपर्ने। र लामो अन्तरालपछि खान मिल्ने भएकोले पनि यसको महत्व र स्वाद बढेको पनि हुनुपर्छ। जिब्राले, जिउले सेलरोटी खोजेको बोला व तलतल लागेको बेलामा यो खान पाएमा यसको स्वाद ने विशेष हुने हो।

सेलरोटी धानको चावलको अलावा फापरको पिठाको,कोदाको पिठाको गहुँ जौ आदिको पिठाको पनि बनाउन सकिन्छ। मैले त खाएको छैन तर मेरा श्रीमानले कट्टुसका पिठाको सेलरोटी खाएको र सारै स्वादिलो भएको सुनाउनु हुन्छ।

धेरै वर्ष पहिला साहिला काकाको घर खाम्लालङमा गएकोबेलामा खाएको अरे। काकाका परिवारको साथै छरछिमेक समेत लेखको पाताल जंगलमा गएर भुइँमा झरेका कटुस भेला गरेर घरमा ल्याएको रहेछ। कटुस पनि धेरै बाक्लो थियो रे भूूँइमा झरेका। धेरै भेला पारेको रहेछ।

घाममा सुकाएर पिठो बनाएर काकीले पकाउनु भएको रहेछ। यो चाहिँ मैले पहिलो पल्ट थाहा पाएको। तर खान पाएको भने छैन। आशा गरौं भविश्यमा कहीँ कतै जुर्न पनि सक्छ।

केही दशक यता सेलरोटी कोसेली मात्र भएको छैन चाडबाडको विशेष खाद्य मात्रै भएको छैन पुजाआजाको प्रसाद मात्रै भएको छैन सानोतिनो व्यवसाय र व्यापार पनि भएको छ। कतिले त सेलरोटी पकाएर बेचेर पनि जीविका चलाएका छन्।

कतिले सेलरोटी पकाउने काम गरेर जीविका चलाएका छन्। आज भोली शहर बजारमा सेलरोटी आफैं पकाएर खाने भन्दा पनि किनेर खाने क्रम बढेको छ। ज्यालामा पकाउने बोलाएर खानेक्रम पनि बढेको छ।

यसले गर्दा पनि सेलरोटी पकाउनेहरुले पनि यो काम गरेर दाम कमाएका छन्। यस्ता पकाउनेहरु व्यवसायिक पनि भएका छन्। उनीहरुलाई यो कामले व्यस्त पनि बनाएको छ र दाम पनि राम्रै झारेको छ।

नेपालका अन्तर्राष्ट्रिय स्तरमा स्थापित सेफ सन्तोष शाहले नेपालको सेल रोटीलाई अन्तर्राष्ट्रिय स्तरमा ब्राण्डिङ गर्न सकिने बताएका छन्।

यसको गुणस्तर र स्वादमा सुधार गरेर धानको चामलको अलावा अन्य पिठोको पनि सेल रोटी बनाएर नेपालको मौलिक परिकार सेलरोटीलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न सके राम्रो हो।

यसका लागि धेरै मेहनतको जरुरी छ। सन्तोष शाह जस्ता अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका सेफ अघि बढेमा यो कामले सफलता पाउन सक्छ भनेर अपेक्षा राख्न सकिन्छ।

सेलको स्वाद लिने पनि फरक पाइन्छ। कसैलाई पकाउँदा पकाउँदैका ताता सेल मनपर्छ भने कसैलाई सेलाएका। तीन चार दिनका बासी सेल मन पराउने पनि धेरै पाइन्छन्। कोही बासी सेललाई पुन तावामा तताएर खान मन पराउछन् भने कोही आगोको भुड्ग्रामा।

कतिपयलाई केही दिनका बासी रोटी तातो चियामा चोबेर लुलो बनाएर खान मनपर्छ भने कसैलाई चिसा अररा रोटी खान पनि मनपर्छ। सायद देही गुनाको फर्सी मिठो भनेको यही होला। जुन तरिकाले खाए पनि सेलरोटी नेपाली माझमा लोकप्रिय भएको परम्परादेखिको मौलिक परिकार हो।

सेलरोटी स्वास्थ्यको लागि कति लाभदायक छ त? यस सम्बन्धमा खाद्य बिज्ञ प्राडा गंगाप्रसाद खरेलका भनाइ राख्नु उचित लागेको छ। “तेलमा भुटेको तारेको जुनसुकै खाद्य पदार्थ स्वास्थ्यको लागि फाइदाजनक हुँदैनन्।

परम्परा बचाउन प्रसादको रुपमा पनि जोडिएकोले सेल नखान भन्न त सकिँदैन थोरै खाएको राम्रो। त्यसोत सेल रोटी हाम्रो नियमित र दैनिक खाद्य पदार्थ पर्दैन। यसकारणले पनि यो थोरै त खानेमा त परिगयो।

यो बेलाबखतमा खाइने खाद्य भए पनि खाएको बेलामा भने सकेसम्म थोरै खाएकै राम्रो। धेरै चिल्लो नखाएको राम्रो।” डाक्टर खरेलको यही भनाइ सँगै सेल रोटीको फन्का यहीँ मारौं।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *