बर्लिनमा नेपाली फिल्मको इतिहास, मीन भामको ‘साम्बाला’ बर्लिनको मुख्य प्रतिस्पर्धामा

डिसी नेपाल
९ माघ २०८० १०:०४
136
Shares

काठमाडौं। मीन भामको बहप्रतीक्षित फिल्म ‘साम्बाला’ले बर्लिन फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धामा छनौट हुने इतिहास रचेको छ।

सोमबार बर्लिन फेस्टिभलका आयोजकले मुख्य प्रतिस्पर्धामा रहेका २० इन्टरनेसनल फिल्मको सूचीमा मीनको ‘साम्बाला’ पनि रहेको जानकारी गराएसँगै नेपालले इतिहास बनाएको हो।

नेपाली फिल्म अहिलेसम्म भेनिसको दोस्रो मुख्य विधा होरिजेन्टलमा छानिएको इतिहास थियो भने बुसानमा पनि मुख्य विधा बाहेकका अवार्डमा प्रतिस्पर्धी रहेका थिए।
नेपाली फिचर फिल्म बर्लिनमा छनौट हुने इतिहास भने दीपक रौनियार निर्देशित ‘हाइवे’ले राखेको थियो। यो फिल्म ६२ औँ संस्करणमा आधिकारिक रुपमा छनौट भएको थियो। बर्लिनलाई युरोपको कान्स र भेनिसपछि तेस्रो ठूलो फिल्म फेस्टिभल मानिन्छ।

सोमबार बर्लिनको लाइनअप सार्वजनिक भएसँगै पत्रकार सम्मेलनमा गरेका मीन भामले फिल्म बनाउन करिब ८ वर्ष लागेको अनुभव सुनाएका थिए। कहिले पैसा त कहिले कोभिडका कारण समय लागेको बताउँदै उनले यो फिल्म बनाउने प्रक्रियामा आफ्नो जीवनमा पनि धेरथोर बदलिएको बताएका थिए।

‘कालो पोथी मैले दम्भमा बनाएको थिएँ । तर यो फिल्म चाहिँ आफ्नै जिज्ञाषा शान्त पार्न,’ मीनको भनाइ थियो, ‘यो फिल्म बनाउन मैले तिब्बतीयन भाषा सिकेँ। फिल्म बनाउँदा बनाउँदै आध्यात्मिक रुपमा पनि आफूमा धेरै परिवर्तन महसुस गरेँ।

’डोल्पाको ४ हजार मिटर माथिको उचाइमा खिचेको फिल्मको पूर्व तयारीका लागि लामो समय लागे पनि फ्लोरमा गइसकेपछि भने फिल्मको सुटिङ जम्मा २३ दिनमा सकिएको थियो । उनले अप्ठेरो भूगोलमा फिल्म बनाउने श्रेय कास्ट एन्ड क्रुलाई दिएका थिए।

मीनले अविनाश विक्रम शाहसँग मिलेर लेखेको कथा बहुपति प्रथाको पृष्ठभूमिमा बुनिएको छ। हराएको श्रीमान्को खोजीमा निस्किएकी श्रीमतीले आफ्नै देवर (पति)सँग गर्ने यात्रा र यात्राका क्रममा उनीहरु दुवैको जीवनमा आउने परिवर्तन फिल्मको मुख्य कथा रहेको मीनले बताएका छन्। थिन्ले लामो र सोनम थोप्देनले मुख्य भूमिकामा अभिनय गरेका छन्।

थिन्लेले यसअघि विपिन कार्कीसँग ‘नाका’मा अभिनय गरेकी थिइन् भने सोनमले पूजा शर्मासँग ‘सम्हालिन्छ कहिले मन’मा अभिनय गरेका थिए । ९ लाख ८० हजार युरो अर्थात् १४ करोड हाराहारी कुल लागत रहेको फिल्म बर्लिनमा फेब्रुअरीको १५ देखि २५ तारिखको बीचमा प्रिमियर हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *