माघ १३ गतेदेखि समुदायमा कांग्रेस अभियान
चितवन। नेपाली कांग्रेस चितवनले यही माघ १३ गतेदेखि समुदायमा कांग्रेस अभियान सञ्चालन गर्ने भएको छ।
कांग्रेसको केन्द्रीय निर्णयानुसार चितवनमा ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्न लागिएको हो। माघ १३ देखि २६ गतेसम्म कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्न लागिएको कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए।
जिल्लामा तोकिएका केन्द्रीय प्रतिनिधि डा गोविन्दप्रसाद पोख्रेलको उपस्थितिमा जिल्ला कार्यसमितिको विस्तारित बैठक बसी ‘समुदायमा कांग्रेस’ अभियानको प्रारुप तयार गरिने खनालले बताए।
अभियानलाई सार्थकरूपमा सफल पार्न जिल्लास्थित पालिकाको प्रत्येक वडामा नेपाली कांग्रेसका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला पदाधिकारी र प्रत्यासी तथा जिल्लास्तरका वर्तमान एवं पूर्वनेतृत्वलाई वडा प्रतिनिधिका रूपमा खटाइने उहाँले जानकारी दिए।
यस अभियानअन्तर्गत चितवनका सात पालिकाका ९८ वटै वडामा खुला छलफल तथा बहस कार्यक्रम राखी नागरिकको गुनासो सुन्ने र सुझाव संकलन गरिने छ। अभियानकै क्रममा विकास निर्माण आयोजना, विद्यालय, स्वास्थ्यचौकी, वडा कार्यालयलगायत जनसरोकारका कामकारबाहीको अवलोकन गरिनेछ।
कांग्रेसलाई जनतासँग जोड्ने एवं पार्टी र जनप्रतिनिधिबीचमा समन्वय र सहजीकरणका लागि पार्टीका वडा सभापतिलगायत तीन जना निर्वाचित वडाध्यक्ष वा अध्यक्षको उम्मेदवारलगायत तीन र पार्टीका शुभेच्छुक दुई गरी आठ जनाको संयन्त्र निर्माण गरिने खनालले बताउनुभयो । यस अभियानबाट प्राप्त सुझावका आधारमा पार्टीको आगामी रणनीति र कार्ययोजनासमेत तय गरिने छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment