सीता अर्यालका दुई गीत

सीता अर्याल
१३ माघ २०८० ७:११
292
Shares

सागरसरी

सागरसरी यो मन ठुलो भैदिए’नि हुन्थ्यो
दिल्को पीडा पखालेर लैदिए’नि हुन्थ्यो।

आशा गरी बस्दा बस्दै चोट दिने मान्छेहरू
मायाँ गर्छु-गर्छु भन्दै हराउने मान्छेहरू
त्यै सागरले तिनको मन धोइदिए’नि हुन्थ्यो
दिल्को पिडा पखालेर लैदिए’नि हुन्थ्यो।

पछ्यौरीमा दाग लागे देख्ला राजै दुनियाँले
मनको चोट चहर्याको के देख्ला र दुनियाँले
दुख-पीर बिलाएर गैदिए’नि हुन्थ्यो
दिल्को पिडा पखालेर लैदिए’नि हुन्थ्यो।

सागरसरी यो मन ठुलो भैदिए’नि हुन्थ्यो
दिल्को पिडा पखालेर लैदिए’नि हुन्थ्यो।

परबाट

परबाट जो आए’नि तिमी आयौजस्तो लाग्छ
उतै फर्की उभिएर हेरिरहूँजस्तो लाग्छ।

समयले नेटो काट्यो कुरी बस्दा तिमीलाई
काँसैसरी शिर फुल्यो पर्खी बस्दा तिमीलाई
क्षितिजपारि छौ कि भनि दौडी जाउँजस्तो लाग्छ
उतै फर्की उभिएर हेरिरहूँजस्तो लाग्छ।

कालो बादल आकाशमा दर्के झरी आँसु बन्यो
आशा रै’छ महौषधी मेरो बाँच्ने साथी बन्यो
सर्माएर अरू हाँस्दा तिमी हौ कि जस्तो लाग्छ
उतै फर्की उभिएर हेरिरहूँजस्तो लाग्छ।

परबाट जो आए’नि तिमी आयौजस्तो लाग्छ
उतै फर्की उभिएर हेरिरहूँजस्तो लाग्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *