स्थापना दिवसका अवसरमा अग्रज नेताहरुलाई कांग्रेसको सम्मान

डिसी नेपाल
१२ माघ २०८० १७:५२
20
Shares

काठमाडौं । नेपाली कांग्रेसले ७८ औं स्थापना दिवसका अवसरमा प्रजातन्त्र प्राप्तिका लागि विभिन्न कालखण्डमा योगदान पुर्‍याउने अग्रज नेताहरुलाई सम्मान गरेको छ ।

शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रमकाबीच कांग्रेसले पार्टीको स्थापनाकालका सदस्य तथा प्रजातन्त्र प्राप्तिका लागि बिभिन्न कालखण्डमा योगदान पर्‍याउने योग प्रसाद उपाध्याय र नुतन थपलियालाई सम्मान गरेको हो । कार्यक्रममा कांग्रेस सभापति शेर बहादुर देउवाले प्रजातन्त्र प्राप्तिका लागि योगदान पर्‍याउनेहरुलाई सदैव स्मरण गर्नुपर्ने बताए । उनले प्रजातान्त्रीक योद्धाहरुका बारेमा सबै नेपालीहरुलाई जानकारी गराउनुपर्ने धारणा राखे ।

त्यस्तै कांग्रेस उपसभापति धनराज गुरुङले देश निर्माणका लागि अग्रजहरुले खेलेको भूमिकाको स्मरण गर्दै अहिले देश निर्माणका लागि योजनाका साथ अघि बढ्नुपर्ने बेला आएको बताए ।

त्यस्तै कांग्रेस महामन्त्री गगन कुमार थापाले भुइँमा बसेको मान्छेलाई माथि उठाउने र देशको हितमा काम गर्ने कांग्रेसको दायित्व भएको बताए । शनिबारबाट कांग्रेसले समुदायमा कांग्रेस अभियान सुरु गर्ने जानकारी दिँदै उनले सबै क्रियाशील सदस्यलाई वडामा हुने कार्यक्रममा निर्देशन दिए ।

भारतको कलकत्तामा नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ गतेलाई आधार मानेर कांग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ । स्थापना दिवस मनाए लगत्तै शनिबारबाट नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियान पनि सञ्चालन गर्दैछ । ‘समुदायमा जाऔं, जनताका कुरा सुनौं’ नारासहित गाउँ जाने र जनताका सुझाव र गुनासा सुन्ने गरी अभियान सञ्चालन गर्ने कांग्रेसले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *