‘गणतन्त्रपछिका वर्षमा योजनाबद्ध रूपमा राष्ट्रियता कमजोर’

डिसी नेपाल
१४ माघ २०८० ८:०२

काठमाडौं। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रपछिका वर्षमा योजनाबद्ध रूपमा नेपालमा राष्ट्रियतालाई कमजोर बनाइएको आरोप लगाएका छन्। अध्यक्ष लिङ्देनले शनिबार काठमाडौंमा राप्रपानिकट प्राज्ञिक परिषद्को कार्यक्रममा यस्तो दाबी गरेका हुन्।

उनले भने, ‘गणतन्त्रपछिका १५ वर्षमा योजनाबद्ध रूपमा नेपालमा राष्ट्रियतालाई कमजोर बनाइएको छ। अब देशलाई नयाँ बाटोमा लैजानुको विकल्प छैन।’ उनले माओवादीदेखि राजासम्म सबै रहने व्यवस्था आवश्यक रहेको बताए।

राप्रपाको धर्मनिरपेक्षता, गणतन्त्र, संघीयता खारेजीको माग मुलुकलाई पछाउने विषय नभएको भन्दै उनले हिजो र आजका राम्रा कुरालाई लिएर नयाँ ढंगले अघि बढ्नुपर्ने उल्लेख गरे।

अध्यक्ष लिङ्देनले सत्ता टिकाउनका लागि विदेशीसामु लम्पसार पर्ने, दूतावासहरूलाई करोडौँ खर्च दिने लगायतका कामले गणतन्त्र नेपालको राष्ट्रियतालाई कमजोर पार्ने काममा प्रयोग भएको जिकिर गरे।

उनले आफ्ना मागहरूलाई पूरा गर्नका लागि राप्रपाले छिट्टै आन्दोलन गर्ने र आफूहरूको आन्दोलन शान्तिपूर्ण हुने स्पष्ट पारे। पहिलो सन्तान जन्माउन अमेरिका पुग्नुभएकी आफ्नै पार्टीकी नेता रेखा थापाप्रति अध्यक्ष लिङ्देनले व्यंग्य र वास्तविकता मिश्रित कटाक्ष पनि गरे।

अहिलेको राजनीतिक व्यवस्थाले नेपाल बस्नलायक देश नरहेको सन्देश नयाँ पुस्तामा गइरहेको बताउँदै रेखाको उदाहरण दिएका थिए। कार्यक्रममा अध्यक्ष लिङ्देनले एकजना पूर्व-गृहमन्त्रीले बुहारी लिएर अमेरिका गएको प्रसंग निकाल्दै नाति नेपालमा नजन्मियोस् भनेर उनले सुत्केरी गराउन बुहारी नेपालबाट अमेरिका लगेको सुनाए।

अध्यक्ष लिङ्देनले भने, ‘एकजना पूर्व-गृहमन्त्रीको कुरा मात्र होइन, एकजना चर्चित कलाकारले बेबी प्लान भनेर पोष्ट गर्नुभयो, प्लेन उडेको देखाएर अमेरिका भन्नुभयो। नानी जन्माउन अमेरिका। जीवनमा एउटा महिलाले पहिलोचोटि प्राप्त गर्ने सन्तान यो धर्तीमा जन्माउन चाहँदैन। ऊ नेपाली नहोस्, नेपाली नहुनुमा आफ्नो सन्तानको भविष्य देख्छ भने देश र राष्ट्रियताको अवस्था कहाँ छ?’

निषेधको राजनीतिले नेपाल कमजोर : मिश्र

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले निषेधको राजनीतिले नेपाल कमजोर बनेको भन्दै राजासहितको नवीन समझदारीका लागि २०४७ सालको संविधानलाई आधार बनाउन सुझाव दिएका छन्। उहाँले त्यो बाटोमा नगई सुख नहुने जिकिरसमेत गरे।

राप्रपानिकट प्राज्ञिक परिषद्को कार्यक्रममा वरिष्ठ उपाध्यक्ष मिश्रले २०४७ सालको संविधानमा टेकेर २०७२ को संविधानमा समेत राम्रा पक्ष समेटिएको नवीन समझदारी देशले खोजेको बताए। उनले त्यसो नगरे नेपाल थप ओह्रालो लाग्ने दाबी पनि गरे।

वरिष्ठ उपाध्यक्ष मिश्रले भने, ‘आज देशका कुनै पनि संस्थाहरूले राष्ट्रियताको पक्षमा बोल्ने जनशक्ति निर्माण गरेनन्। सबैतिर झोलेहरूको बोलवाला भयो। निषेधको राजनीति असफल भइसकेको छ,’ उनले अगाडि भने, ‘अब २०४७ सालको संविधानमा टेकेर नवीन समझदारीमा जानुपर्छ। किनकि २०४७ को संविधान झोलेहरूले बनाएको होइन, त्यो उत्कृष्ट र संसारले मानेको संविधान थियो। हामी नवीन समझदारीमा गएनौँ भने गएको १५ वर्षमा जसरी राष्ट्रियता कमजोर भयो, हामीपछिको पुस्ता कोही पनि नेपालमा बस्न नचाहने भइसक्ने छ।’

वरिष्ठ उपाध्यक्ष मिश्रले अहिलेको पुस्तालाई राष्ट्रियताबारे लघुताभाषी बनाउन खोजिएको भन्दै चासो व्यक्त गरे।

मिश्रले भने, ‘राष्ट्रियता भनेको नेपालको माटो हो। धर्म हो। संस्कृति हो । नेपालको राष्ट्रियता, धर्म र संस्कृतिमा क्षयीकरण आएको छ। नेपालको राष्ट्रियता, धर्म र संस्कृतिमा यो स्तरको आक्रमण भएको कहिल्यै भएको देखेको छैन।’ नेपाल भारत र चीन जस्ता विशाल चट्टानको बीचमा रहेको तरुल भएको भन्दै उनले उत्तेजक राष्ट्रवादबाट नभई सौम्य राष्ट्रवादबाट उनीहरूसँग डिल गर्नुपर्ने बताए।

दक्षिणी छिमेकीसँग अझ संवेदनशील भएर प्रस्तुत हुनुपर्ने उनको भनाइ थियो। उनले भने, ‘हामी ती विशाल चट्टानहरूमा लगेर टाउको ठोक्कायौँ भने आफ्नै टाउको फुट्छ। यस्तो गर्नुभएन। हामी सौम्यवादका उनीहरूसँग संवाद गर्न आवश्यक छ।’ अहिलेको नेतृत्व यसरी डिल गर्न सक्छ ? भन्दै उनले प्रश्न गरे।

राष्ट्रवादीलाई होच्याउने र हीनताबोध गर्ने प्रवृत्ति बढ्यो : अभिनेत्री कोइराला

अभिनेत्री तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाकी नातिनी मनीषा कोइरालाले नेपालमा राष्ट्रवादीहरूलाई होच्याउने र हीनताबोध गर्ने प्रवृत्तिप्रति बढ्दै गएको बताएकी छन्।

राप्रपानिकट नेपाल प्राज्ञिक परिषद्ले शनिबार काठमाडौंमा आयोजना गरेको राष्ट्रियतासम्बन्धी कार्यक्रममा अभिनेत्री कोइरालाले नेपालमा राष्ट्रियताको बारेमा गलत भाष्य बनाइएको भन्दै चिन्ता व्यक्त गरेकी हुन्।

अभिनेत्री कोइरालाले भनिन्, ‘राष्ट्रियताभन्दा ठूलो कुरा अरू केही हुन्न। मैले भारतमा धेरै वर्ष बिताएँ, त्यहाँ एउटा नेतादेखि सामान्य नागरिकसम्म ‘प्राउड इण्डियन’ हुन्छन्। अमेरिकामा अहिले ट्रम्पले राष्ट्रवाद तर हामीकहाँ चाहिँ के भाष्य दिएको छ भने राष्ट्रियता भनेको त ब्याकवार्ड थिङ्किङ हो, हामीले त ग्लोबाइजेसन सोच्ने हो। अरे वा, यहाँ हाम्रो घर भत्केको छ, परिवार छिन्नभिन्न भइरहेका छौं, अनि ग्लोबलाइजेसनको कुरा गर्ने? पहिले हामीले आफ्नो परिवारलाई हेर्ने हो। हाम्रो घर भनेको नेपाल हो र परिवार भनेको नेपाली हौं।’

नेपाल पछिल्लो समय सांस्कृतिक, धार्मिक र मौलिक पहिचानको समृद्धिबाट विस्तारै कमजोर बन्दै गएको उनको भनाइ थियो। अभिनेत्री कोइरालाले अहिलेको राजनीतिक व्यवस्था कायमै रहे नेपाल असफल राष्ट्रतर्फ अघि बढ्ने चिन्ता व्यक्त गरिन्।

पुर्खाले दुःखकष्ट र त्याग गरेर बचाएको देश अहिले धेरै कमजोर र पराधीन बन्दै गइरहेको भन्दै उनले अर्को पुस्तालाई आपसमा मतभेद राखेर टुटेको नेपाल दिने खतरा रहेको जिकिर गरिन्।

आमासहित कार्यक्रममा उपस्थित भएकी मनीषाले नेपाल आमालाई सोचेर अबको बाटो तय गर्न आग्रह गरिन्। उनले आफू राजनीतिक कार्यक्रममा नजाने भन्दै राष्ट्रियताको विषय भएकोले यो कार्यक्रममा उपस्थित भएको समेत भनाइ राखेकी थिइन्।

हिमालय टाइम्स दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *