प्रधानसेनापति खुला म्याराथन प्रतियोगिता फाल्गुन १९ गते हुने (भिडियो)

डिसी नेपाल
१५ माघ २०८० १५:०७

काठमाडौं। नेपाली सेनाको आयोजनामा प्रधानसेनापति खुला म्याराथन प्रतियोगिता २०८० आगामी फाल्गुन १९ गते आयोजना हुने भएको छ ।

नेपाली सेनाले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै २६१ औं सेना दिवसको अवसरमा नर्वौ संस्करणको प्रधानसेनापति खुल्ला म्याराथन तथा रन फर फन आयोजना गरिएको जनाएको हो ।

नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा नेपाली सेनाले आयोजना गर्ने प्रतियोगितामा पाँच स्पर्धामा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । ४२.१९५ किलोमिटरको म्याराथन, २१ किलोमिटरको हाफ म्याराथन, १० किलोमिटर दौड र पाँच किलोमिटर वाकाथनमा प्रमुख अतिथी र आमन्त्रित उच्चपदस्थ व्यक्तिहरुले सहभागीता जनाउने छन् ।

त्यस्तै ५ किलोमिटर दौडमा उपत्यकाभित्र कक्षा ७ देखि ९ सम्म अध्ययनरत विद्यार्थीहरुले प्रतिस्पर्धा गर्ने सेनाले जनाएको छ । ४२.१९५ किलोमिटर म्याराथनमा पुरुषको मात्र सहभागिता हुनेछ । यसविजेताले तीन लाख रुपैयाँ नगदसहित एकथान मोटरसाइकल पुरस्कार जित्नेछन् ।

दोस्रो हुनेले दुई लाख र एकथान मोटरसाइकल पुरस्कार पाउनेछन् । तेस्रो हुनेले एक लाख र चौथो हुनेले ५० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् । त्यस्तै, हाफ म्याराथनमा भने विजेता महिला र पुरुष दुवैले ७५ लाख रुपैयाँ नगद पुरस्कार जित्नेछन् ।

पत्रकार सम्मेलनमा सैनिक शारिरिक तालिम तथा खेलकुद केन्द्रका महासेनानी प्रमोद कुमार थापाले यसपटक फुल र हाफ म्याराथनमा चिप्सको प्रयोग गरिने जानकारी दिए।

सेनाका अनुसार १० किलोमिटर दौडमा महिला र पुरुष सैनिक अधिकृत र सहचारीहरूहरूको सहभागिता हुनेछ । अन्य विधाका दौडका विजेताले १० हजार, उपविजेताले सात हजार र तेस्रो हुनेले पाँच हजार रुपैयाँ पुरस्कार जित्ने सेनाले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *