संस्थागत क्षमता स्वमूल्यांकनमा हेटौंडा उपमहानगर पहिलो हुन सफल

डिसी नेपाल
२१ माघ २०८० १६:४७

हेटौंडा।  हेटौंडा उपमहानगरपालिका मकवानपुरका स्थानीय तहहरूमध्ये संस्थागत क्षमता स्वमूल्यांकनमा पहिलो हुन सफल भएको छ।

८८.५ अंकसहित शीर्ष स्थानमा रहेको हेटौंडाले विभिन्न १० वटा सूचकहरूमा राम्रो प्रदर्शन गर्‍यो। शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, बजेट तथा योजना तर्जुमा, आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन लगायतका क्षेत्रमा उच्च अंक प्राप्त गर्न सफल भएको हो।

गत वर्षको तुलनामा यस पटक उपमहानगरपालिकाको प्रदर्शनमा सुधार देखिएको छ। जिल्लाका अरू स्थानीय तहहरूमा पनि प्रगति देखिए पनि हेटौँडा शीर्ष स्थानमै कायम रह्यो।

जिल्लाका भीमफेदी गाउँपालिकाले ६४.७५ अंक, कैलाश गाउँपालिकाले ६१.५ अंक, ईन्द्रसरोवर गाउँपालिकाले ६१.७५ अंक र बाग्मती गाउँपालिकाले ५७.७ अंक प्राप्त गरेका छन्। बाँकी ४ स्थानीय तहले अझै सम्म बिवरण बुझाएका छैनन्।

संस्थागत क्षमता स्वमूल्यांकनले स्थानीय तहका सबल र कमजोर पक्षहरूको पहिचान गर्न मद्दत पुर्‍याउँछ। यसका आधारमा स्थानीय तहले आफ्नो क्षमता अभिवृद्धिका लागि योजना बनाउन सक्लान्।

स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा भने जिल्लाका १० पालिका मध्य ४ पालिकाले मात्र बिवरण बुझाएका छन्। हेटौंडा उपमहानगरपालिका, मकवानपुर गढीगाउँपालिका, इन्द्रसरोवर गाउँपालिका र बकैया गाउँपालिकाले मात्र बिवरण बुझाएकोमा सबैभन्दा अगाडी हेटौंडा उपमहानगरपालिका नै रहेको छ । ७१ अंकसहित शीर्ष स्थानमा रहेको हेटौँडाले विभिन्न ५ वटा सूचकहरूमा राम्रो प्रदर्शन गर्‍यो।

मकवानपुर गढीगाउँपालिकाले ७०.७,  बकैया गाउँपालिकाले ६८.५,  र इन्द्रसरोवर गाउँपालिकाले ४५।५ अङ्क प्राप्त गरेका छन् । प्रदेशभरको नतिजा हेर्दा देशभरकै अगाडी रहेको खैरहनी नगरपालिका ९९ अंकसहित शीर्ष स्थानमा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *