प्यूठानमा कोरोनाविरुद्ध फाइजर खोप अभियान
स्वर्गद्वारी । प्यूठानमा कोरोना भाइरसविरुद्ध फाइजर खोप अभियान सञ्चालन गरिने भएको छ । कोभिड–१९ विरुद्धको फाइजर–बायोएनटेक खोप अभियान यही माघ २४ देखि २८ गतेसम्म सञ्चालन गरिने छ ।
उक्त खोप १२ वर्षमाथिका व्यक्तिलाई विभिन्न खोप केन्द्रबाट जिल्लाभर लगाइने जिल्ला स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख मधुसूदन खड्काले जानकारी दिए । खोपको पहिलो मात्रा नलगाएका, थप बुस्टर डोज लगाइसकेका बाहेकका व्यक्तिलाई लक्षित गरिएको उनले बताए । उनले भने, “जिल्लाका ४१ हजार ७० जनालाई खोप अभियानले समेट्ने छ ।”
स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा २०७७ माघ १५ गतेयता कोभिड–१९ विरुद्धको खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या दुई लाख सात हजार नौ सय ३०, दोस्रो मात्रा लगाएका एक लाख ९५ हजार एक सय ८७, पहिलो बुस्टर लगाएका एक लाख ६ हजार चार सय ४३ तथा थप बुस्टर लगाएका ३० हजार चार सय २० जना छन् ।
स्वास्थ्य कार्यालयले यस अभियानमा नागरिकस्तरमा अग्रभागमा खटिने शिक्षक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, दीर्घरोगी र वृद्धवृद्धालाई प्राथमिकतामा राखेको छ । अभियानभर खोप केन्द्र, तोकिएका विद्यालय, अभियानको अन्तिम दिन सबै स्वास्थ्य संस्थाबाट खोप दिइने गरी तयारी गरिएको स्वास्थ्य कार्यालयका खोप फोकल पर्सन कौशलराज वैद्यले जानकारी दिए ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment