गणतन्त्र ल्याउन जीवन अर्पण गरेका जनमुक्ति सेनाहरु जीवनयापनका लागि भौतारिँदै

रमा थापा
२५ माघ २०८० १०:३९

नेपाली परिवर्तनकारी आन्दोलनका मुख्य संवाहक अर्थात गणतन्त्रका जन्मदाता अझै भनौ श्रमजीवी वर्गको प्रिय जनमुक्ति सेना नेपालका योद्धाहरु आज के गर्दैछन् होला ?

मुलुक परिवर्तन गर्ने दश वर्षे जनयुद्धमा लामबद्ध भएका जनमुक्ति सेनाहरु आज कष्टप्रद जीवन व्यतित गर्न बाध्य छन्। उनीहरुले आफ्नो जीवन यापनका लागि स्वदेश र विदेशमा मजदुरी गरेर परिवार पाल्न विवश छन्।

माओवादी पटक पटक सरकारको नेतृत्व गरेपनि जनयुद्धमा अमूल्य योगदान गर्ने जनमुक्ति सेनाको पक्षमा सम्मानजनक तथा राहत मूलक कार्यक्रम ल्याउन सकिरहेको छैन। अहिले गणतन्त्रका सेनानीहरुलाई राज्यले उचित कदरको अभावमा रोजगारीका लागि परदेशमा भौतारिनुपर्ने अवस्था छ ।

उनीहरुको दैनिकी कस्तो अवस्थामा होला? अहिले उनीहरु के-के गर्दै होलान् ? राष्ट्रियसेना नेपाल र नेपालीजनताको हितको निम्ति सधैंभरी लड्ने प्रण गरेका छाती पाखुरा र तिघ्राको साइज नपाएका तर संसार जित्ने अदम्य शाहास बोकेका ती योद्धाहरुको बारेमा यतिबेला सबैको चासोको विषय हुन सक्छ।

अहिले आधिकारिक तथ्यांक नभए पनि पुर्व जनमुक्ति सेनाको एउटा् ठुलो समुह दैनिकी जीवन् चलाउनकै निम्ति वैदेशिक रोजगारीका क्रममा अधिकांश खाडी देखि युरोपेली मुलुक सम्म छरिएर रहेका छन्।

अर्को एउटा् समूह स्वदेशमै विभिन्न रोजगारमूलक काम गरेर जीवनयापन गरिरहेका छन् भने सानो समूह व्यापार व्यवयास क्षेत्रमा केन्द्रित र सकृय छन्। अर्को एउटा समुह अहिले पनि वेरोजगार छ।

विभिन्न अभाव र पीडामा जिउन विवस छन भने केही विभिन्न दल निकट रहेर निरन्तर क्रान्तिमा पनि सक्रिय छन्। क्रान्ति प्रतिक्रान्तिमा रुपान्तरण हुँदै गएपछि स्वाभाविकै क्रान्तिका आधार भूमि कमजोर बन्छन् ।

स्वभावतः प्रतिक्रान्तिको हालीमुहालि बढदै जान्छ। त्यो बेला क्रान्तिका लाल र निपुण नेताकार्यकर्ताहरु अन्यायमा पर्छन् भ्रष्ट दलाल अवसरवादी हरुले आफ्नो बर्चस्व कायम गर्छन् । आज नेपाली माओवादी आन्दोलन पनि यस्तै ठाउँमा आइपुगेको छ भन्दा अत्युक्ति नहोला।

एकथरी नेता कार्यकर्ताहरुले आफ्नो वर्ग नै परिवर्तन गरिसके आफूलाइ नवदलाल एवं पूँजीवादी वर्गमा लगिसके अर्कोतिर जनयुद्धका घाइतेयोद्धाहरु सबैभन्दा पीडित र पिडामा छन्।

पार्टी जति पटक सरकारमा सहभागी भए पनि उनीहरुको निशुल्क उपचार रोजगारमुखी कार्यक्रमका लागि श्रोत व्यवस्थापन गर्नुपर्नेमा कहिल्यै ध्यान दिएन। यो नै पूर्वजनमुक्ति सेनाका लागि सबैभन्दा बढी भावनात्मक चोट परेको पीडादायी अवस्था हो।

जनमुक्ति सेनालाई पैसा दिएर घर पठाउनुको साटो त्यही पैसाले अलगअलग ठाउँमा वस्ती बसाउने काम गरेको भए आज जनसेनाका बस्ती बस्ती हुने थिए। कम्युनिजम र समाजवादका नमुना बस्ती हुने थिए। वर्गीय, जातीय, क्षेत्रीय र लिंगीय विभेद बिनाको त्यो समाज आज नेपाली समाजले सिक्ने थियो सामूहिक खेतीपाती वैज्ञानिक शिक्षाको अभ्यास भैरहेको हुने थियो।

यी तमाम समस्याका बीचमा पनि पुर्व जनमुक्ति सेनाका योद्धा आज हरेक क्षेत्रमा हरेक हिसाबले सक्रिय छन्। उनीहरुको स्वाभिमान र आस्था अहिले पनि जीवितै छ।उनीहरुलाई युद्धबाट फर्किएपछि समाजमा अन्तर्घुलित हुन केही असहज त पक्कै भएकै हो ।

तथापि उनीहरु सेनामात्र नभएर राजनीतिकरुपमा पनि उत्तिकै सक्रय र सचेततासहित सैन्य क्षेत्रमा अनुशाशित थिए। त्यसैले हरेक कुरामा आफूलाई रुपान्तरण गर्नहरु सफल बने। र, अहिले कतिपय जनमुक्ति सेनाहरु राजनीतिको अग्रमोर्चामा रहेर काम गरिरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *