बागमती प्रदेशमा धान उत्पादनमा गिरावट

डिसी नेपाल
२६ माघ २०८० १२:५५

हेटौंडा। बागमती प्रदेशका १३ जिल्लामा यस वर्ष धान उत्पादनमा गिरावट आएको छ। कृषि विकास निर्देशनालय बागमती प्रदेशको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा गत आर्थिक वर्षको तुलनामा प्रदेशभरको धान उत्पादनमा ४.०२ प्रतिशतले गिरावट आएको हो।

यस वर्ष प्रदेशभर १ लाख ४ हजार ८४९.७० हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा ४ लाख ३५ हजार ४२.६९ मेट्रिक टन मात्र उत्पादन भएको छ। गत आर्थिक वर्षमा भने १ लाख १५ हजार ९५ हेक्टर क्षेत्रफलमा धान खेती हुँदा ४ लाख ६७ हजार ७०५.५१ मेट्रिक टन उत्पादन भएको थियो। यसरी हेर्दा गत वर्षको तुलनामा यस वर्ष प्रदेशभरको धान उत्पादनमा ठूलो गिरावट आएको देखिन्छ।

धान उत्पादनमा सबैभन्दा धेरै ह्रास चितवन र मकवानपुर जिल्लामा आएको छ। बागमती प्रदेशको कुल धान उत्पादनमा चितवनको २५ प्रतिशत र मकवानपुरको १५ प्रतिशत योगदान रहेकाले यी दुई जिल्लामा उत्पादन घट्दा समग्र प्रदेशमा प्रभाव परेको हो।

चितवनमा यस वर्ष गत वर्षको तुलनामा १९.३४ प्रतिशतले र मकवानपुरमा १२.३७ प्रतिशतले धान उत्पादनमा कमी आएको छ। धान उत्पादनमा गिरावटका लागि निर्देशनालयले धानबालीमा लाग्ने विभिन्न रोगहरू र अनुकूल वातावरण नहुनुलाई जिम्मेवार ठहर्‍याएको छ।

विशेषगरी कालोपोके रोग र धान पसाउने समयमा धेरै वर्षा हुँदा पनि उत्पादनमा असर परेको छ। यद्यपि, बागमती प्रदेशकै केही जिल्लामा भने यस वर्ष गत वर्षको तुलनामा धान उत्पादनमा सामान्य वृद्धि भएको छ।

सिन्धुपाल्चोकमा यस वर्ष १.५१ प्रतिशतले बढी धान उत्पादन भएको तथ्यांकले देखाउँछ। तर, प्रदेशको कुल धान उत्पादनमा सिन्धुपाल्चोकको योगदान नगन्य मात्र रहेकाले समग्रमा गिरावट आउन सकेको देखिन्छ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *