एआई फर्म्याटमा मनोजको तिमी जे बन उदाहरण बन

डिसी नेपाल
२८ माघ २०८० १०:४४

काठमाडौं। बालबालिकालाई असल नागरिक बन्न प्रेरणा दिने सन्देश बोकेको गीत ‘तिमी जे बन उदाहरण बन’ बोलको गीत सार्वजनिक भएको छ। नजिकिँदै गरेको सरस्वती पूजाको अवसर पारेर सार्वजनिक गरिएको गीतमा प्रमोद खरेल र डा. त्रिशाला गुरुङको स्वर, मनोज खड्काको शब्द र कल्याण सिंहको संगीत छ।

गीतको भिडियोको सम्पूर्ण काम आर्टिफिसियल इन्टेलिजेन्स(एआई) प्रविधिमा निर्माण गरिएको छ। भिडियो नेपाल र अमेरिकाबाट एकै साथ रिलिज गरिएको छ। नेपाली सांगीतिक क्षेत्रमा सम्भवत पहिलोपटक निर्देशक नव ढुंगेलको कल्पनामा एआई एनिमेसनको प्रयोग गरेर यो गीतको भिडियो निर्माण गरिएको हो

गीतले विद्यार्थीहरुलाई राम्रा बानी व्यवहार अपनाउन प्रोत्साहित गरेको छ। गीतले आफ्ना सन्तान प्राध्यापक, डाक्टर, इञ्जिनियर, पाईलट जस्ता निश्चित पेशामा लागेको देख्न रुचाउने परम्परागत सोच भन्दामाथि उठेर जे जस्तो काम, पेशा वा व्यवसायमा लागे पनि आफ्नो कार्यमा उत्कृष्ट हुने कोसिस गर्दै असल मान्छे बन्न प्रेरित गरेको छ।

गीतकार खड्काले गायनमा गीतको समग्र भाव अनुसारकै गायकगायिका रोजिएको बताए। ‘गीतमा प्रमोद र डा. त्रिशालाको संयुक्त स्वरले बाबुआमा मिलेर आफ्नो सन्तानलाई सुमार्गमा लाग्न प्रेरणा दिएको अनुभूती गराउन खोजिएको छ’, उनले भने।

अमेरिकन गायक तथा संगीतकार जोन माएर र भारतीय कम्पोजर ए.आर. रहमानको संगितबाट प्रभावित संगीतकार सिंहले गीतमा फरक किसिमको संगीत दिएका छन्। उनले संगीत दिएका फिल्महरु प्रेम गीत २, भिसा गर्ल, मुखौटा, हसियालगायत हुन्।

गीतमा दिक्षित पौडेलको एरेन्ज, दिनेश श्रेष्ठ(डी.स्टुडियो)को रेकर्ड छ। गीतको भिडियोमा राजु बस्नेतको सम्पादन छ। उनलाई इमेज जेनेरेटमा सदिक्षा कट्टेलले साथ दिएकी छन्। गीतको कभरपेज डिजाइन ग्राफिक डिजाइनर तथा भिडियो निर्देशक अनिल स्थापितले तयार पारेका हुन्।

भोजपुरको पौवादुम्मा गाउपालिका (साविकको सानोदुम्मा गाविस) मा जन्मिएर हाल अमेरिकी सरकारी सेवाको महत्वपूर्ण जिम्मेवारीमा रहेका गीतकार खड्काले आफ्नै यूटुब च्यानल ‘सङ्गराइटरमनोज’बाट गीत बजारमा ल्याएका हुन्।

विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्रमा रहि नेपाललगायत विभिन्न देशहरुमा कार्य अनुभव बटुलेका खड्का हाल अमेरिकाको राजधानी वासिङटन डी.सी.मा बस्दै आएका छन्।

उनी पेशागत कार्यको अतिरिक्त बचेको समय साहित्य सिर्जना र सामाजिक सेवाका साथै नेपाली भाषा र संस्कृति जगेर्नाको लागि लागि परेका छन्। गीतकार खड्का अमेरिकाको भर्जिर्नियामा नेपाली मूलका बालवालिकाहरुका लागि स्वयंसेवी तरिकाले सञ्चालन गरिएको नवदुर्गा नेपाली स्कूलका सञ्चालकसमेत हुन्।

गीतलाई शुभकामना दिँदै साहित्यकार, लेखक, समिक्षक तथा मदन पुरस्कार विजेता कृष्ण धराबासीले रध्र, कुची र कल्पनाले सुन्दर चित्र बनेजस्तै यो गीत शव्द, संगीत र स्वरको संगमले उत्कृष्ठ बनेको बताए ।

धराबासीले गीत रिलिज कार्यक्रममा आउनुअघि गीतलाई धेरै पटक सुनेको बताए। ‘यो गीतका हरेक हरफले एउटा निष्ठा र नैतिकताको अडान लिन्छ । बिर्सिसकेको संघर्ष र आदर्शको उठान गर्छ । यो भजन जस्तो पनि सुनिन्छ, बाल गीत जस्तो पनि लाग्छ। सबै भन्दा आनन्द आँखा चिम्म गरेर सुन्नुमा छ’, उनले भने ।

अमेरिकास्थित नेपाली दुताबासका डेपुटी चिफ अफ मिसन कुमारराज खरेल गीतले संसारका जुनसुकै कुनामा बस्ने नेपालीभाषी अभिभावकहरुले आफ्ना सन्तानलाई नेपाली सांस्कृतिक विरासतमा हुर्कन र आदर्श व्यक्ति बन्न प्रेरित गर्ने दाबी गरे।

गीतको बीचबीचमा कोरसको रुपमा प्रयोग भएको ‘श्रीं ह्रीं सरस्वत्यै नम: मन्त्रले बालबालिकाको हुर्काइ र समग्र व्यक्तित्व विकासको लागि आध्यात्मिक तथा सांस्कृतिक चेतनाको महत्वलाई झक्झकाई रहने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *